मान्छेले चाहेका कुरा सबै प्राप्त हुन सक्लान्? मान्छेको सोचेजस्तो जिन्दगी हुनसक्ला? अरूको जीवन हेरेर आफ्नो जीवन पनि त्यस्तै होस् भन्ने चाह राख्दैमा होला र? यी यक्ष प्रश्न मनमा सलबलाएका छन्। सुन्दर भविष्यको चाहमा त्यो भन्दा सुन्दर सपना पनि देखिन्छ तर सबै सपना पूरा हुन्न। धेरैजसो सपना बिपनामा पानीको फोका बिलाएजस्तै बिलाउँछन्।
मान्छेको जीवनका दुई मोड सुख र दुःख रहेछन्। यीमध्ये मान्छेले रोज्ने र खोज्ने भनेको सुख हो। तर कहाँ सोचेजस्तो हुन्छ र?
सपना र बिपनाबिचको भेद सबैलाई थाहा छ। बिपना वास्तविकता हो। खुसी बिपनाले ल्याउँछ। सपनाको खुसी त केवल क्षणभंगुरमै सकिन्छ। निदबाट ब्युँझिनासाथ त्यस्तो खुसी तुहिन्छ। त्यतिबेला ‘ला सपना पो!’ भन्नुको विकल्प हुँदैन। सपनाको सुख बिपनामा खासै काम लाग्दैन। सपनाको नाफाको कुनै अर्थ रहन्न बिपनामा। त्यसैले त सपना र यथार्थ फरक छ। जीवनलाई यथार्थको कसीमा राखेर हेर्नुपर्छ।
दुनिया अलिक स्वार्थी छ। हाम्रा बाजेको पालामा जस्तो मानवीय संवेदना कहाँ पाउनु अहिले। त्यो भावना कहाँ छ र अहिलेको समयमा ? तपाईं एउटा सोच्नुहुन्छ, अपेक्षा एउटा राख्नुहुन्छ, तर दुनिया स्वार्थको पराकाष्ठामा डुबेर बसेको हुन्छ। उसले तपाईंबाट स्वार्थ चाह राख्छ। तपाईंलाई मेरा कुरा बकबास लाग्न सक्छ।
तपाईं मलाई आँखा तर्न पनि सक्नुहुन्छ। अथवा मेरो कुरामा विमति राख्न पाउनुहुन्छ। आखिर सत्य सत्य नै हो। तपाईं मलाई सानले घुर्नुस्, केही अर्थ राख्दैन मलाई। मसँग रिसाएर नबोल्नुस् अथवा घृणाभाव राख्नुस् मप्रति। मलाई खासै फरक पर्दैन। म तथ्यमा बोल्छु। सत्यमा रहन्छु। तपाईं मलाई भाउ खाएको पनि भन्न सक्नुहुन्छ। घमण्डी छ, दोष लगाउन पाउनुहुन्छ। तर, म जे छु, त्यस्तै रहन मन पराउँछु।
सपना होइन, यो त हकिकत हो। तपाईंको प्रगतिमा डाह गर्छ दुनिया। रिस गर्छ। मन नदुखाउनुस्, यही हो सत्य। तपाईंसामु मिठो बोलिदेला भेटेको बेला। रामैै्र बेहोरा देखाउला। तर हेक्का रहोस्, तपाईंको पछाडि तपाईंको प्रगतिमा खुसी होइन, आरिस गर्छ आजको मान्छे।
वास्तवमै यो समय बढो कठिन छ। भौतिक सुखसुविधा र वैभव छ तर यी सब यान्त्रिक सुख हुन् जस्तो लाग्छ। मानिस सब चिज भएर पनि दुःखी छ आज। जीवनप्रतिको सोचले पनि मान्छे दुःखी छ। सहज छैन आजको मान्छेको जीवन। अभावमा संघर्ष गर्दै जिउने पनि खुसी छन्। भौतिक सुखसुविधा र मोजमस्तीमा दैनिकी सकाउनेहरू पनि दुःखी छन्। काम, क्रोध, भय र लोभलालचले मान्छेलाई झन् झन् दुःखको खाडलमा हाल्दै छ। यो समय पीडा हो। वर्तमान मान्छेको जीवनको एक नमिठो लाग्ने वास्तविकता हो यो। म ठोकुवा गरेर भन्नसक्छु। यसैले आजको मान्छे सुर्तामा जीवन सकाउँछ।
समय पनि सफेद छैन, दागी छ। यसो विचार गर्छु। मरीमरी दुःखकष्ट गरेर श्रम गर्नेहरूलाई दुई छाक मिठो मसिनोसम्म खान मुस्किल छ। अर्कोतिर धनी भनिएकाहरू सबैखाले सुख सुविस्ता उपभोग गर्न पाइरहेका छन्। यस्तै भइरहेछ यहाँ। यो सपना होइन। मैले आजको समयको यथार्थ कुरा राखेको हुँ। अरूलाई प्रगति गर्न हौस्याउँदैन आजको मान्छे। अरूको प्रगतिमा रमाउन जान्दैन आजको मान्छे। सहयोग त परको कुरा भयो। डाहा गर्छ बरु। अरू असफल होऊन् भन्ने चाह राख्छ। खुट्टा तान्ने प्रवृत्ति छ यहाँ।
तर, संघर्ष गर्न छोड्नुहुन्न। कर्ममा डट्न लागिरहनुपर्छ। कर्मशील भएर जिउनुपर्छ। मनमा धैर्य, काममा लगनशीलता, यो सूत्र जरुरी छ। जीवनमा बोधगम्य भाव भएन भने, समयलाई चिनिएन भने जीवनको अर्थ र सार्थकता रहन्न। प्रगति र उन्नति सपना मात्र भयो भने बिपना दुःखमय हुन्छ। आफूलाई चिनौं। अरूसँग दाँजेर दुःखी हुनु पनि व्यर्थ छ। तपाईं तपाईं नै हो। म म नै हुँ। किन अरूसँग तुलना गर्ने? जीवनलाई सहज र सरल रूपमा लिने गरौं। हैसियत बिचारौं। तब दुःखी हुन्न जीवन। अनावश्यक लोभ, लालच, महत्त्वाकांक्षा लगायतका लम्बे फेहरिस्तहरूको सपना देखेर बिपना दुःखी हुने हो। ती सबैतिर ध्यान नदिए केही हुन्न।
उद्देश्य रोजौं पूरा हुने। गन्तव्य पहिल्यायौं पुग्न सकिने। तर, सपना देख्नकै लागि निदाउन छोडौं। अर्थहीन सपनाको पछि नलागौं। प्रदूषित मन नबनाऔं। मन मस्तिष्कका पदचापहरू सन्मार्गमा लगाऔं। जीवन सुखी हुनेछ। खनौं बिपनामा गन्तव्यमा पुग्ने खुड्किलाहरू। मूल्यहीन भएर होइन, मान्छे भएर बाँच्नुपर्छ। सकेसम्म सपना नदेखौं– पूरा नहुने। देखे पनि सपनासँग नडराउँ। बिपनामा परिणत गर्न हरसम्भव प्रयास गरौं। जीवन सुखी हुनेछ। थुप्रै सम्भावनाहरू तपाईंसामु उभिएका छन्। पकड्नुस्, कुन मन पर्छ। मिहिनेत र श्रममा पसिना छरेर त्यो सम्भव छ। यसो गर्दा आफ्नो क्षमताको आत्मबोध गर्न पटक्कै भुल्नुहुँदैन है।
जीवनप्रति बेपर्वाह नहुनुस्। जतन गर्नुस् जीवनलाई। बाँच्नको सार्थकता बुझ्नुस्। जीवन जति जिउन सकिन्छ, जिउने हो आनन्दले। आँसुमा पनि खुसी खोज्न सिक्नुस्। दुःखमा पनि रमेर जिउन सिक्नुस्। किन लिनुहुन्छ पिर? किन ठान्नुहुन्छ असहज? पिरलाई खुसीमा बदल्ने तपाईंले हो। असहज परिस्थितिलाई सहज बनाउने पनि तपाईंले हो। दुःख र अभावका पहराहरू त छिचोल्दै अघि बढ्ने पनि तपाईं हो।
वास्तवमा जन्मनुको अर्थ भौतिक रूपमा जीवन प्राप्त हुनु हो। तर त्यो जीवन कसरी बाँचेको छ भन्ने कुराले अर्थ राख्छ। तपाईंलाई थाहा छ ओशो के भन्छन्– ‘जन्म त पाइन्छ। तर जीवनलाई भने खोज्नुपर्छ। जीवनको खोजी गर्नु एउटा कला हो।’
त्यसैले जीवनलाई सार्थकतामा खोज्नुपर्छ। जीवनलाई उज्यालोको खोजीमा लगाउनुपर्छ। छिचोल्नुपर्छ कर्मको पहाड। मन मस्तिष्कमा राख्नुपर्छ सकारात्मक भाव। असफलतामा प्रयासको निरन्तरता हुनुपर्छ, न कि भाग्यलाई दोष। तपाईंको जीवन तुलना मसँग होइन, न कि अरूसँग पनि। तपाईं र म फरक हो। यति बुझेर कर्तव्यपथमा अगाडि बढ्न सके जीवन सफल र सार्थक हुन्छ। अनावश्यक दुःख आउँदैन। मन कमजोर हुँदैन। आत्मबल बलियो हुन्छ। रिस, द्वेश, क्रोध र लोभलाई पर सारौं। रचनात्मक र क्रियाशीलतामा जीवनलाई जोडौं। मदर टेरेसाले भनेझैं ‘जीवनलाई संघर्षका रूपमा स्विकारौं’। संघर्षसँग जुधेर जीवन जिउनुको मज्जै बेग्लै छ।
धैर्य र कुशलता हरेकको जीवनलाई सुखको मार्गमा डो¥याउने तत्त्व हुन्। यी तपाईं हामी सबैमा अनिवार्य हुनुपर्ने गुण हुन्। आफूले आफैंलाई चिन्ने प्रयास गरौं। भोगाइको अर्को नाम हो– जीवन। कहिलेसम्म भोग्नुपर्ने हो, न तपाईंलाई थाहा छ, न मलाई नै। निरन्तर कर्मलाई साथी बनाउँदा जीवन सुखको नजिक पुग्छ। जीवनमा समृद्धिको लहर छाउँछ। प्रतीक्षा धैर्य गरेर निरन्तर कर्मको मार्गमा लागिरहनुपर्छ। जहाँ चुनौती, त्यहाँ प्रचुर सम्भावना। सामना गरौं चुनौतीहरूको।
सपना देखेर रनभुल्लमा पर्नु, डराउनु या उत्साहित हुनु जरुरी छैन। धेरै जसो सपनामा देखेका कुरा बिपनामा पूरा नहुन सक्छन्। यति बुझ्नुस् सपना सपना नै हो, विपनामा परिणत हुन सक्दैन। त्यसैले जीवन पाएपछि तपाईं हामीले जिउने कला सिक्नुपर्छ। जीवन सहज जिउन वातावरण र परिवेश निर्माण पनि तपाईं हामी आफैंले गर्नुपर्छ। अरूले गरिदिने होइन।
सपनामा जिन्दगीको उडान गजब र आनन्ददायी ढंगले भरेको छु भनेर बिपनामा कर्म गर्नुभएन भने के होला जीवन? सपनाको प्रयोग सिकाइमा गर्न सकियो भने चाहिँ जीवनमा लाभप्रद होला। तर सपनाको भर बिपनामा कुनै अर्थ छैन। त्यही भएर मेरो जोड जीवनको भविष्यप्रति सचेत र सजग रहनुपर्छ भन्नेमा छ। याद राख्नुस्, समाजले बलेकै आगो ताप्छ। आफ्नो यथार्थ धरातल कहाँनेर छ, सचेत हुनुपर्छ।
पूरा गर्न वा हुन सक्ने सपनाले जीवनमा स्पर्श गरिरहून्। तिनले अपलक हेरिरहून्। जीवनका वास्तविकता निकट सपनाले घेरून्। मजै होला। नत्र अरू सपना सपना मात्रै हुन्। समयमै पूरा गर्नुपर्छ जे जे गर्नुछ। नत्र पछुतोबाहेक केही हात पर्दैन जीवनमा। स्वार्थ राखेर काम पूरा नगरौं। आफ्नो काममा अरूको दुरुपयोग पनि नगरौं। खुसी कसरी मिल्छ, त्यसरी नै काम गरौं। म जे छु, त्यही सत्य हो, यति बुझौं। तपाईं रुचिको काम सुरुचिपूर्वक गर्नुस्, खुसी मिल्नेछ। नत्र त बेकारको हुन्छ जिन्दगी। फुर्सदिलो नबसौं, सैतानले तनाव दिन्छ। व्यस्ततामा छ जिन्दगीको मज्जा। भोलिको चिन्ता नगरौं। चिन्ता होइन, चिन्तनमा छ जीवनको सार्थकता। जीवनदृष्टिचेत सही हुनुपर्छ, सन्मार्गको बाटो आफैं खुल्छ।
संघर्षको अर्थ बुझेर झुत्ति खेलियो भने दुःखको सागरमा डुब्नुपर्दैन। मस्तिष्कमा विकास भएको चेतनाको सही प्रयोगले जीवन सुखमय हुन्छ। सकारात्मक भएर मस्तिष्कले जीवनलाई निर्देशित गरौं। सकारात्मक विचार, सकारात्मक सोच र सकारात्मक दृष्टिचेतले आफूलाई चिनौं र सन्मार्ग पहिल्याऔं। अवसर खोजौं र त्यसलाई समातौं। त्यसपछि जीवनमा सुखैसुख प्राप्त हुनेछ। त्यसै भनेका होइनन् प्राचीन दार्शनिकहरूले– ‘स्वयं आफैंलाई चिन’ भनेर। अन्त्यमा यति भनेँ– जीवनको यथार्थ सोचेजस्तो हुन्न।
प्रकाशित: २० मंसिर २०८२ ०९:१५ शनिबार





