नेपाल स्रष्टा समाजको १९औं वार्षिक साधारणसभाकाे अवसरमा मुक्तककार गोपीकृष्ण थापाको ‘स्पन्दित मन’ मुक्तकसङ्ग्रह लोकार्पण भएकाे छ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, विशिष्ट अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, समाजका संरक्षक पवन आलोक, सल्लाहकारहरू - वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, प्राडा लक्ष्मणप्रसाद गौतम, पूर्वअध्यक्ष विधान आचार्य लगायतले कृतिकाे संयुक्त रूपमा लाेकार्पण गरेका थिए।
साधारणसभाकाे अवसरमा भएकाे लोकार्पण कार्यक्रममा साहित्यिक पत्रकारहरू नगेन्द्रराज शर्मा, रोचक घिमिरे लगायत समाजका संरक्षक, सल्लाहकारहरूले शुभकामना मन्तव्य दिएका थिए।
नेपाल प्रज्ञाप्रतिष्ठानमा भएकाे कार्यक्रममा मुक्तककार थापाले लेखकीय मन्तव्य प्रस्तुत गरेका थिए।
लाेकार्पित कृतिबारे डा. शान्तिमाया गिरीले समीक्षात्मक टिप्पणी गरेकी थिइन्। मुक्तककार थापाले जीवन भोगाइका सुखदुःख मुक्तकको माध्यमबाट सुन्दर रूपमा प्रस्तुत गरेको डा. गिरीले बताइन्। उनले सचित्र मुक्तकले कृतिको ओज थपेको पनि बताइन्।
त्यस्तै साहित्यकार विधान आचार्यले मुक्तक लेख्न सहज नभए पनि मुक्तकार थापाले सुन्दर मुक्तक लेख्न सफल भएको भन्दै बधाई दिएका थिए।
मधु पाठक चलाएकाे कार्यक्रममा समाजका सचिव प्रकाश घायलले साङ्गठनिक प्रतिवदेन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष तारा सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतमले समाजले आफ्नै छुट्टै पहिचान बनाउन सकेको बताए।
रञ्जना निरौलाले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रममा नाट्यकर्मी अशेष मल्लले नेपाल स्रष्टा समाजले नेपाली साहित्यमा उल्लेख्य काम गरेकाे बताए। उनले संस्थालाई शुभकामना दिंदै एआई युगमा एआईकाे चुनौती सामना गर्दै सबै स्रष्टाले गुणात्मक काम गर्दै जानुपर्ने पनि बताए।
प्रकाशित: ३० आश्विन २०८२ ११:५१ बिहीबार





