सिर्जनशीलताका विकास गर्दै साहित्यलाई गाउँगाउँसम्म पुर्याउने उद्देश्यले ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले ‘किसानसँग सिर्जना संवाद’ सञ्चालन गर्ने भएको छ।
कृषक र कृषिकर्मसँग मात्र सम्बन्धित रचनाको वाचन तथा विमर्शसहितको कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।
गाउँगाउँमा पठन संस्कृतिको विकासका लागि आफूहरूले यस प्रकारको कार्यक्रमको सुरुआत गरेको संस्थाका अध्यक्ष केशु विरही बताउँछन्।
उनी भन्छन्, ‘पछिल्लो समय नेपाली साहित्य शहर केन्द्रित जस्तो बन्न पुगेको जस्तो लाग्छ। साहित्यका पाठक बजारमा भन्दा गाउँमा बढी छन् भन्ने हाम्रो धारणा छ। त्यही भएर हामी साहित्यलाई गाउँगाउँसम्म पुरयाउन चाहन्छौं, सिर्जनशीलताको विकास गर्दै हरेक समुदायमा साहित्यका पाठक बढाउन चाहन्छौं। यो हाम्रो पहिलो प्रयास हो। यसलाई हामी निरन्तरता दिने छौं। यो कार्यक्रम सफल भएपछि हामी अन्य समुदाय लक्षित कार्यक्रम पनि सञ्चालन गर्ने छौं।’
थोरै तर गुणात्मक कार्यक्रम मात्र गर्ने घोषणा रहेको संस्थाले पुस ४ गते रङ्गेली नगरपालिका - १, बबियाविर्ता, मोरङमा सञ्चालन हुने यस कार्यक्रममा कृषिकर्मसँग संलग्न रहेका रचना मात्र वाचन गर्ने संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ बताउँछन्।
उक्त दिन कृषि र साहित्यको अन्तरसम्बन्ध विषयमा र वाचन गरिएका रचनाकाे समीक्षकहरूको टिप्पणीसमेत रहने सहआयोजक संस्था रङ्गेली साहित्य कला समाजका सचिव चिरञ्जीवी काफ्ले बताउँछन्।
उनी भन्छन्, ‘कृषिकर्म तथा कृषकसँग सम्बन्धित कार्यक्रम भएकाले हामीले यसलाई एकदम साधारण तथा गाउँघरसुहाउँदो बनाउने प्रयास गरेका छौं। खादा माला त हामीले यसअघिकै कार्यक्रमदेखि नै बन्द गरिसकेका छौं।
उक्त कार्यक्रममा त हामी जमिनमै बसेर कार्यक्रम गर्ने, कुर्सीको प्रयोग नगर्ने योजना छ। भरसक उक्त दिनको कार्यक्रममा हामी कृषकले नै उब्जाएको खाजा खाने योजनामा छौं।’
नेपाली साहित्यमा नयाँ तर केही राम्रो गरौं भन्ने उद्देश्यका साथ संस्थापना भएको यस संस्थाले भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका कार्यलाई सार्थक रूपमा अगाडि बढाउँदै आएको छ।
बौद्धिक तथा सिर्जनात्मक कार्य शुल्क दिएर मात्र लगाउने घोषणा गरेको यस संस्थाले अग्रजलाई सम्मान तथा नयाँ पुस्तामा अभिप्रेरणा, साहित्यमा थिति बसाउने प्रयास, संस्थालाई साझा चौतारीका रूपमा विकास, क्षमताका र योगदानका आधारमा व्यक्तिको मूल्याङ्कन, कला- साहित्यग्रामको अवधारणामा काम गर्ने तथा साहित्यको बजारीकरण तथा अन्तर्राष्ट्रियकरण आदिको प्रतिबद्धता जाएर गरेको छ। मङ्सिर १३ गते बेलबारी बहुमुखी क्याम्पसमा एक औपचारिक कार्यक्रम गरेर संस्थाले यस्ता प्रतिबद्धता जाएर गरेको हो।
संस्थाले गर्ने यस कार्यक्रमलाई लिएर धेरैतिरबाट सकारात्मक प्रतिक्रिया आएका छन्। बजारका केही सुविधा सम्पन्न हलमा मात्र सीमित भएको साहित्यलाई गाउँगाउँमा पुर्याउने र किसानलाई नै जागरूक गराउने प्रयास आफैँमा स्वागतयोग्य भएको वरिष्ठ साहित्यकार हर्कमान तामाङ बताउँछन्।
त्यस्तै प्राडा भीम खतिवडा, डा. छवि वैरागी घिमिरे र वरिष्ठ साहित्यकार केशव आचार्यले यस कार्यक्रमलाई एउटा सार्थक कार्यको सुरुआतको भएको बताएका छन्।
प्रकाशित: २५ मंसिर २०८२ १०:५० बिहीबार





