३ पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

बेलायतमा पनि ‘झ्याम्म झ्याम्म’

गायन

२०४१ सालमा रेडियो नेपालको राष्ट्रिय प्रसारणमा रेकर्ड गरिएको माथिको बोलको देउडागीत आजसम्म सान्दर्भिक छ। त्यसबेला गाउँदा रेडियो प्रशासनलाई गीतको भाव र अर्थ स्पष्ट रूपमा बुझाउनुपर्थ्याे। व्यवस्था र तत्कालीन राजाविरुद्ध आँच आउने कुनै शब्द छन् कि भनेर उनीहरू सतर्क हुन्थे। संगीत संयोजन वरिष्ठ संगीतकार गोपाल परियारले गरेका थिए, रेकर्ड प्राविधिक पुरुषोत्तमराज पोख्रेलले गरेका थिए। गीतलाई त्यसबेला धेरैले बुझेका थिएनन्, सायद वर्तमानमा पनि आमश्रोताले बुझ्दैनन् होला। गीतको भावार्थ गहिरो छ।

बझाङको जयपृथ्वीनगरपालिका अन्तर्गत रहेको काप्रीकोट गाउँको कोलचौण भन्ने ठाउँको रिठोलाई बेलायती सावनसँग तुलना गरिएको छ। गायक गायिकालाई वैशाखका न्याउली चरीसँग तुलना गरेर श्रोताजनले हरबखत गीत गाउनु भन्ने आशय व्यक्त गरिएको पाइन्छ यो गीतमा।

बेलायतको राजधानी लन्डनमा साउन १८ गते आइतबार नेपाल पत्रकार महासंघ बेलायत शाखाले आफ्नो १४ औं स्थापना दिवस मनाउँदा गीतले पनि बेलायती भूमिमा उपस्थिति जनायो। कहाँको विकसित मुलुक बेलायत र आकर्षक मञ्च, कहाँको सुदूरपश्चिम र कर्णाली प्रदेशको दुर्गम बस्तीको मौलिक भाका देउडा। तुलना गर्नै नमिल्ने विषय। संगीतको अन्तर्राष्ट्रिय भाषा हुन्छ भन्ने मान्यताले सर्जकहरूलाई उत्साह दिँदो रहेछ। लन्डनमा पनि यस्तै भयो। पत्रकारिता र गीतसङ्गीतको साइनो नजिक नभए तापनि पत्रकारको कलमबाट गायकगायिकाको स्तरवृद्धि भएकाविगतमा प्रशस्त उदाहरण छन्।

बेलायतमा बस्दै आएका हजारौं नेपाली मन छन्। व्यस्तताका बाबजुद पत्रकार महासंघको कार्यक्रममा उल्लेख्य सहभागिता थियो। बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र नेपाल पत्रकार महासंघकी केन्द्रीय सभापति निर्मला शर्माले प्रमुख अथितिका तर्फबाट नेपाली पत्रकारले ब्यहोर्नुपरेका कठिनाइबारे सङ्क्षिप्त मन्तव्य राख्नुभयो।

‘कुनै समस्या परे सिधै आफूसँग सम्पर्क गर्नुहोला। नेपालको माटोको रक्षा गर्दै कलम चलाउनु आजको आवश्यकता हो,’ अभिभावकीय ढाडस दिलाए बेलायतका लागि नेपाली राजदूत घिमिरेले। पूर्वी रमणीय जिल्ला तेह्रथुम पुर्ख्याैली घर भएकी बेलायतशाखाकी सभापति विमलासेनेले माइती देशको माटोको माया भुल्न नसकिने बताइन्।

बेलायत नेपालको पुरानो घनिष्ट मित्रराष्ट्र हो। ब्रिटिस गोरखा सैनिकमा काम गर्ने राष्ट्रसेवकदेखि सामाजिक, प्रशासनिक र वर्तमानमा बेलायतमा राजनीतिक क्षेत्रमा समेत नेपालीहरूको दरिलो उपस्थिति रहेको छ। बेलायत सरकारले नेपालीलाई इमानदार नागरिकका रूपमा मर्यादा कायम गर्दो रहेछ।

गीतसङ्गीत भनेपछि कसलाई मन पर्दैन र? आयोजकले पङ्क्तिकारलाई मञ्चमा बोलाउन नपाउँदै ‘झ्याम्म झ्याम्म’ गायक भनेर सम्मानका शब्द आपसमा बाँडे। मलाई पनि पहिलो पटक युरोपियन भूमि बेलायतमा  आफ्नो देशको प्राचीन गीत पस्कनु थियो। खुसी हुँदै काली कर्णालीको माटो सम्झँदै देउडा गीत पस्केँ, आफूलाई भाग्यमानी कलाकार सम्झेँ।

हिउँ पौतीमालिका पड्डो पाटन पुरिँदैन,

साई दुरै म पनि दुरै मायादुरिँदैन,झ्याम्म झ्याम्म।

बाजुरामा रहेको प्रसिद्ध शक्तिपीठ बडीमालिकामा अहिले जात्रालाग्ने बेला पनि हो। भक्तालुहरू खाली खुट्टा शिखरमा रहेकी शक्तिमाताको मन्दिर पुगेर भक्तिभावले पूजा गर्छन्।

यसैगरी बझाङमा रहेको शुर्मादेवीको मन्दिर र तलकोटको मालिकामा लाग्ने भव्य मेला पनि यही समयमा लाग्छ। शुर्मादेवी र बडीमालिका भगवती दिदीबहिनीका रूपमा श्रावण शुक्ल पूर्णिमा तिथिका दिनमा श्रद्धापूर्वक पूजा गरिन्छ। जसरी यही समय रसुवाको गोसाईंकुण्डमा भक्तजनको घुइँचो लाग्ने गर्छ।

माथिको गीतले बडिमालिका, खप्तड, शुर्मादेवी आसपास रहेका घाँसे मैदान र समथल भूभाग पाटनको चर्चा गरेको पाइन्छ। ती भूस्वर्ग पुग्न जति कठिन छ, तिम्रो र मेरो भेट हुन पनि त्यति नै गाह्रो छ। तर मायाममता दुरिलो रहनेछ। जसरी बेलायत, अमेरिका लगायतका मुलुकमा रहेका नेपालीलाई आफ्नो जन्मभूमिको यादआइरहन्छ।

गीतमा शक्ति हुन्छ। अझ झर्रो खालका गीतले श्रोताहरूको मन आकर्षित गर्छ। यस्ता गीत जीवन्त पनि हुने गर्छन्। ‘झ्याम्म झ्याम्म’ बोलको गीत गाइरहँदा उपस्थित सबैले सामूहिक रूपमा स्वर मिलाए। जानीनजानी डेढ स्टेपमा गोडा उचाली घुमीघुमी नाचिरहे। एक किसिमले कार्यक्रममा उपस्थित सबैले कालीकर्णाली भूमिलाई सम्मान दर्साए। वरिष्ट पत्रकार सुमन खरेल, गायिकासितु खरेल, अध्यक्ष विमला सेने, महासचिव खेमराज रानाभाटले धित मरुन्जेल देउडा नाचेको हेर्नलायक थियो।

लघुकथाकार प्रार्थना खनालले उपस्थित संस्कृतिकर्मीलाई गीतको शैली अनुसार घुम्न सिकाइरहेकी थिइन्। सुदूर पश्चिमका मानिसहरूको उपस्थिति नभए पनि दैलेखका दिलबहादुर जिसीले देउडा खेल राम्रैसँग खेले। कामको व्यस्तताले सबैलाई हतारो भएको देखिन्थ्यो। एकातिर सामाजिक कार्यमा ऐक्यबद्धता देखाउनु, अर्कातिर उदरपूर्तिका लागि काममा खटिनु बेलायत, अमेरिका, मलेसिया, खाडी क्षेत्र, कोरिया आदि मुलुकमा रहेर काम गर्ने हजारौं नेपालीको बाध्यता हो। तर नेपाली संस्कृति भनेपछि टाढा टाढाबाट पनि कार्यक्रम सफल पार्न आइपुग्छन्। एनआरएन बेलायतका राजेन्द्र पुडासैनी। डा. शिव तिवारी स्विडेनबाट घण्टौं सवारी साधनमा व्यतीत गरेर कार्यक्रममा रमाएका देखिन्थे। स्विडेनबाट आएका तिवारीले भन्दै थिए– देउडा गीत सुन्नका लागि नै लामो दुरीको यात्रा गरेर आएको हुँ।

‘झ्याम्म झ्याम्म’ राजनीतिसँग जोडिएको गीत पनि हो। २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनताका लोकतन्त्रका पक्षमा यो गीत गाउँदा हजारौं व्यक्तिले मन पराएर स्वरमा साथ दिएको इतिहास सम्झनलायक छ। वरिष्ठ पत्रकार गुणराज लुइँटेलले कान्तिपुर पत्रिकामार्फत ‘झ्याम्म झ्याम्म’को शैली र गीतको सौन्दर्य पक्षलाई उजागर गरेका थिए। कतिपयले मन नपराएर जनस्तरबाट बन्देज लगाउनुपर्छ भन्ने आवाज पनि निकालेको सुनियो। तर गीतको स्तर र भावना जीवित छ। जसरी जनगायक जेबी टुहुरेको ‘आमादिदी बहिनी हो’, रामेश–रायन, रामकृष्ण दुवालको ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ गीत क्रान्तिका हरेक मोडमा सार्थक बने, त्यसैगरी ‘झ्याम्म झ्याम्म’ गीतले केवल सुदूरपश्चिम र कर्णालीप्रदेशको गीतको मात्रै सामुदायिक रूपमा प्रतिनिधित्व गरेको छैन, सिङ्गो नेपाली संस्कृतिको पनिउपस्थिति देखाएको छ।

सायद मन पराएर होला, धेरै कलाकारले यो गीतलाई आआफ्नो शैलीले गाएका छन्। पछिल्लो अवस्थामा गायिका शृङ्खला जोशीले पनि शास्त्रीय सङ्गीतको जलप लगाएर गाउँदा अझ मिठास सुनियो। यो गीत सुनिरहँदा वरिष्ट पत्रकार सुमन खरेलले शृङ्खलालाई निकै सम्झे। काठमाडौंमा रहँदा ‘सुमनसँग’ भन्ने कान्तिपुर टिभीको कार्यक्रममा लिएको साङ्गीतिक अन्तर्वार्ता रोचक थियो।

यसै वर्षदेखि नेपाल पत्रकार महासंघ, बेलायत शाखाले पत्रकार पुरस्कारको पनि स्थापना गरेको छ। विगत ५० वर्षदेखि बिबिसीमा रहेर पत्रकारिता गरिरहेका खगेन्द्र नेपालीलाई दुई सय ५१ पाउन्ड राशिको पुरस्कार प्रदान गरियो, तर उनीआएनन्। उनलाई भेट गर्ने मेरो धोको अधुरै रह्यो।

राज्यको चौथो अङ्गपत्रकार जगत्को २०१५ सालदेखिको गौरवमय इतिहास छ। देशका ठुला आन्दोलन सफल पार्न महत्त्वपूर्ण भूमिका खेलेकाले कलमजीवी पत्रकारदेखि राष्ट्रका इमानदार नेता, समाजसेवी नजिक हुने गरेका छन् तर भ्रष्टाचारी, दुराचारीहरू पत्रकार देखेर टाढा नै बस्न रुचाउँछन्। २०४५ सालमा स्वरसम्राट नारायणगोपालले स्वर्णिम सन्ध्यामा प्रस्तुति दिँदाउनको गायकीपनको खुलेर प्रशंसा गर्दै छापा पत्रिका र नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेर ठुलो गुन लगाएको थियो। त्यसैले पनि कला जगत्का लागि पत्रकार आत्मीय मित्र बनेका छन्। यही कुरा महासंघको कार्यक्रममा पङ्क्तिकारलाई  मञ्चदिलाएबाट र सम्मान गरेबाट अझ प्रस्टियो।  

डेढी कदम उचालेर, हातमा हात मिलाएर गीतको भाक्या (लय) अनुसार घुमीघुमी गीतको सवालजवाफ गर्दै खेलिने खेलको नाम हो ड्यौणा। जुन गीत डेढ कदम उच्चारण गरेर गाइन्छ। देब्रेबाट दाहिनेतर्फ घुमिन्छ, पहिले देब्रे गोडा अनिदाहिने गोडा बढाएर सहजै गीत गाउँदै घुमिन्छ। देवस्तुतिमा पनि आधारित भएकाले वर्तमानमा ड्यौणा गीतलाई देउडा भनिँदै आएको पाउँछौ। पुराना संस्कृतिकर्मीहरू यी गीतलाई वनगीत पनि भन्थे। गीत बन्न दुई पाउ चाहिन्छन्। एउटामा चौध र अर्कोमा चौध अक्षर गरी जम्मा अट्ठाइस अक्षरको गीत नै देउडा गीतहो। यीगीत मर्यादित संस्कृतिभित्र पर्छन्।

समय बदलिएसँगै वर्तमानमा केही आधुनिक शब्द प्रयोग पनि भएको पाइन्छ। देउडा साहित्य बोकेको डोटी, बझाङ, जुम्ला लगायत जिल्लामा बोलिने भाषामा आधारित भएकाले सबै थरी जनमानसले बुझ्न कठिन भएको गुनासो सुनिन्छ। नबुझिनु नै देउडा गीतको विशेषता हो भन्छु म त। यतिले मात्र यो संस्कृतिको व्याख्या पूरा हुँदैन। देउडा संस्कृतिको उन्नयनका लागि वर्तमानमा धेरै संघसंस्था लागिपरेका छन्, कैयौं सर्जक गायनमा तल्लीन देखिन्छन्। बेलायती भूमिमा देउडा गीतले मञ्च पाएको भने पहिलो पटक रहेछ। गीत प्रस्तुत गर्दा उपस्थित समुदायलाई यिनै विषयमा केन्द्रित गराएँ।

देउडा गीत कालीकर्णालीका आमनागरिकका लागि जीवन दर्शन बनेको छ। सुखदुःखको अभिन्न साथी पनि हो यो संस्कृति। २०४२ सालदेखि २०५७ सालसम्म काली कर्णालीको संस्कृति संरक्षणका लागि बीस थरी गीतिक्यासेट प्रकाशित गरेँ। सबैथरी गरी झन्डै एक हजार मौलिक भाका रेकर्ड गरेँ। अहिले पनि संस्कृति उत्थानका लागि लागिपरेको छु। तैपनि यो संस्कृतिको मोह रत्तिभर पनिकम भएको छैन। केही गरौं, अरूलाई पनि यसैमा समाहित गरौं भन्ने लाग्छ।

बेलायत, अमेरिका पुग्नु मेरा लागि असम्भव विषय थियो तर सम्भव बनायो यही संस्कृतिले। यो मुलुकमा बसुन्जेल यहाँ बसोबास गर्ने सबै नेपालीलाई देउडामा नचाउने विचार छ। आधुनिक शैलीले पराकाष्ठामा पुगेको बेलायतमा महिनैपिच्छे मेलापर्वहरू आउँदैनन्। त्यसकालागि नेपाल जानुपर्छ। प्राचीन सभ्यता र संस्कृतिका लागि त अझ कालीकर्णालीको  माटो कुल्चनुपर्छ। वास्तवमा नेपाली सभ्यता र संस्कृतिको मुहान कालीकर्णालीको रनवनमा भेटिन्छ।  

प्रकाशित: १४ भाद्र २०८२ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App