जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो।
महाशिवरात्रिका अवसरमा आइतबार बेलुकीको यो दृश्य सोमबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन। मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन।
आइतबार बेलुकी सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजा आज बिहान ६ बजे अघि सकिएको थियो। महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा शुक्रबारदेखि नै सुरु भएको भक्तजनको चहलपहल आज बिहानसम्म पनि कायम रहेको छ। राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म पनि भक्तजन लाइनमा बसेको कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन्।
विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर चार प्रहर पूजा समापन गरिन्थ्यो। यो वर्ष भने धेरै भक्तजन राति पनि लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उनले बताइन्। महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन्।
प्रकाशित: ४ फाल्गुन २०८२ ०९:२४ सोमबार





