१) मेरो कविता बरू...
मेरो कविता बरु
कविता नभैदिएर
एक फाइल औषधि भैदियोस्
जो चाहिएको छ रातभर छटपटिएर
सहिनसक्नु कोही मरिचलाई
जसको कोही छैन र असमर्थ छ रातिहुँदी
खोला तरी टाढाको औषधि पसल जानलाई
र यस्तैबेला पैसा नि रैनछ घरमा
जो पीडादायी रात कटाउने सुरमा छ
केवल मनको देउरालीमा उसले पुजेको
देउदेवताको भरमा।
०००००००००
मेरो कविता बरु
कविता नभैदिएर
एक सपना भैदियोस्
जसलाई देखेकी छे एक कुमारी केटीले
जसको मासिक स्राव रोकिएको छ
र यही थाहा पाएर उसको प्रेमी गाउँबाटै गायब छ
हामफाल्नलाई
यही बेला घरछेउको खोलो नि सुकेको छ
र भिरको टुप्पो पुग्ने बाटो नि यही बेला अन्धकार रात छ
यही बेला आफ्नो गरीब बाउआमाको टिठलाग्दो अनुहार
झलझली आँखामा आइरहेको छ
यो अजङ्गको आपत्मा
मेरो कविता बरु उसको त्यो बिपना मेटेर
एक दु:स्वप्न भएको होस्
र जब ऊ बिहान जुरुक्क उठ्नेछे
उसको मनपरेको फ्रकमा
रगतको रङ लागेको होस्।
०००००००००००
मेरो कविता बरु
कविता नभैदिएर
केही अंकहरूको समूह भैदियोस्
जो मिलेछ दुरुस्तै एउटा गरिबको चिट्ठामा
मरुभूमिको देशमा
र जसको तानिएको छ घरखेत ऋणले मधेशमा।
०००००००००००
मेरो कविता बरु
मेरो कविता नभैदिएर
एउटा कवितै भैदियोस्
जो लेखेछ अरे एउटा स्कुले बालकले
र पठाएछ अरे काठमाडौंलाई एउटा चलेको पत्रिकामा
ऊ स्कुल जाँदै र गोठाला गर्दै
सम्झँदो रहेछ अरे हरपल
छापियो कि छापिएन होला भनेर
र धाउँदो रहेछ सदरमुकाम हप्तैपिच्छे
पत्रिका आउने दिन पर्खेर।
२) नक्कली दूरबिन
मेरो गाउँको शिरमा भएको
रुपाकोटडाँडाको टुपीबाट
समानताको दूरबिन तेर्स्याएर
यसो काठमाडौंतिर हेरेँ
अहो! छर्लङ्ग छ काठमाडौं!!
देखियो सिंहदरबार
देखियो संसद् भवन
देखियो रानीपोखरी
देखिए ठूलाठूला भवनहरू
चौडा सडक र लस्कर गाडीहरू
सप्पैसप्पै देखिए।
०००००००००
पासपोर्ट बनाउन भनेर
काठमाडौं आएको मौकामा
आफ्नो गाउँ हेर्ने इच्छा भो
र झिकेँ उही दूरबिन
फर्काएँ आफ्नो गाउँतिर
आच्या...!! अचम्मै भो!!
फेरि देखियो उही सिंहदरबार
फेरि देखियो उही संसद् भवन
देखियो रानीपोखरी
फेरि देखिए त्यैत्यै
चौडा सडक र लस्कर गाडीहरू
देखिएन मेरो पहाड
देखिएन मेरो गाउँघर
देखिएन समस्या र दु:खको
कुनै रुपाकोट डाँडा
धत्!
कस्तो नक्कली दूरबिन!!
३) शक्तिशाली छोरी
तिम्रो सौन्दर्यको यहाँ
खुबै तारिफ हुनेछ
ह्विस्की, रमहरूमा तिम्रो रूपको
विज्ञापन बजाइन खोजिनेछ
तिम्रो सुन्दरताको मात्रै वर्णन गरेर
लेखिन खोजिनेछन् काव्यहरू
तिमीलाई केवल
एक शृङ्गार बनाइ राखेर
पोत्न खोजिने छन्
रङ्गमञ्चका भित्ताहरू
आउन सक्नेछ
कोही तिम्रो रूपको
बखानै बखान गरेर
तिम्रो प्रेमी हुँ भनेर
र, रुवाउन सक्नेछ तिमीलाई
सारा जिन्दगी भरलाई।
००००००००
तिमीले हेर्नु पर्नेछ यहाँ
सिसाको झ्यालखानामा कैद
सुन्दर सुनौला माछाहरू
बोन्साई गरेर कद मठारिएका
सुन्दरसुन्दर वृक्षहरू
तिमीलाई पनि त्यसै गरी
फूल जून या माछा
केके भनिनेछ/मानिनेछ
र तिम्रो रूप र सौन्दर्यमा
तारिफै तारिफको पुल बाँधी राखेर
तिमीलाई त्यसैमा अल्झाइ राखेर
तिमी फगत एक रूप
फगत एक यौवन
र कोमल प्रेमिका मात्रै हौ भनेर
बुझाउने प्रयत्न हुनेछ।
००००००००
त्यसैले प्रिय छोरी!
तिमी जब जन्मिनेछौ
तिम्री आमा र म तिमीलाई
सुन्दर भन्दा पनि
शक्ति भनेर अर्थ्याउनेछौँ
ज्ञान, विज्ञान र प्रतिभा
तिम्रो शक्ति हुनेछ
तिमी शक्तिशाली बन्नु छोरी
तिमी शक्तिशाली हुनु।
(कवि सुरेश राईकाे ‘सम्झनाकाे फाेटाेकपी ’ कवितासंग्रहमा संगृहीत।)
प्रकाशित: ५ पुस २०८२ ०८:४५ शनिबार





