राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरले खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता-२०८३ तथा स्रष्टा सम्मान गरेको छ।
चेतना संरक्षण प्रतिष्ठान, नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्य, कला र समाज रुपान्तरणका विषयमा विशेष चर्चा गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले साहित्यले समाजका विकृति- विसङ्गति, माया-प्रेम, मिलन-विछोड, नीति निर्माण, सुशासन, युगको माग तथा समसामयिक विषयवस्तु समेट्ने उल्लेख गर्दै साहित्य समाजसँगै राष्ट्र रूपान्तरणको महत्त्वपूर्ण माध्यम भएको बताइन्।
त्यस्तै आयोजक संस्थाका अध्यक्ष जीवन काफ्लेले सहकारी आफैँमा समाजको अभिन्न अङ्ग भएकाले यसको भूमिका वचत तथा ऋण प्रवाहमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व वहनको क्षेत्रमा समेत मुखरित हुनुपर्ने ठम्याइका साथ सहकारीले सामाजिक रूपान्तरणको प्रमुख पाटो कला, साहित्य र संस्कृति सँगसँगै लैजाने गरेको बताए।

कविता प्रतियोगितामा जाजरकोटका सदाशय गौतमको कविता 'नयाँ युग रच्ने हामी नेपाली' प्रथम, विराटनगरकी नानुमैया दाहालको कविता 'म विर्खे कामी हुँ' द्वितीय र काठमाडौंका सुशील पौडेलको कविता 'मातृभूमिको आह्वान' तृतीय भएका थिए।
त्यस्तै झापाका निकेश डाँगीको कविता 'भान्सा युद्ध' ले सान्त्वना स्थान प्राप्त गरेका छन्।
देशका विभिन्न क्षेत्रबाट साहित्यकार तथा स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त प्रतियोगिताको निर्णायक समितिमा प्राज्ञ विवश पोखरेल, हरि कट्टेल र तीला लेकाली रहेका थिए।
कार्यक्रममा नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप कोशी प्रदेशका सिद्धहस्त साहित्यकारहरू प्राडा टंक न्यौपाने, बद्री विशाल पोखरेल र वसुन्धरा झालाई सम्मान अर्पिएको थियो।
प्रकाशित: २४ जेष्ठ २०८३ ०७:५० आइतबार





-600x400.jpg)