एकान्त-एकलास-शून्यतामा
सधैँ सोच्ने गर्छु म
केके लेखूँ?
कुनकुन विषयहरूमा पो लेखूँ?
मिलन-बिछोड, सम्पन्नता-विपन्नता
खै, कुनकुन यहाँ केके मा पो लेखूँ?
राजा-महाराजा या निरीह दीनदुःखी
गरिब जनताहरूमाथि लेखूँ?
मेरो आफ्नै या अरू कोही कसैका बारेमा
हरकुरा लेखूँ?
विशाल यो धर्ती निलो यो आकाशमाथि लेखूँ
बाँझो जमिन या उजाड बलौटे मरुभूमि
या सुक्खा नदीमाथि पो लेखूँ?
जातजाति, धर्म-सम्प्रदाय, रीतिरिवाजमाथि पो लेखूँ
या लिच्छविकालीन, मल्लकालीन प्राचीन
नेपाली हाम्रै आफ्नै सभ्यतामाथि लेखूँ?
सोच्छु-स्वतन्त्रतापूर्वक
म जो जे चाहन्छु त्यो मात्रै लेखूँ
या मेरा प्रशंसकहरूले जे-जस्तो
चाहन्छन् - त्यस्तैत्यस्तै त्यहीत्यही लेखूँ?
मेरो कलम अनि मसी पनि सामान्य-साधारण...
तब त लाग्छ सुखदुःख, आँसुहाँसो यथार्थ
समय सान्दर्भिक कुराहरू नै लेखूँ!
गाईलाई गाई ढुक्कै गधालाई गधै लेखूँ,
सत्यलाई सत्य सधैँ म झूटलाई झूटै लेखूँ,
न्यायलाई न्याय, अन्यायलाई अन्याय अनि
सदाचारीलाई सदाचारी,
भ्रष्टाचारीलाई सधैँ भ्रष्टाचारी नै लेखूँ,
रातलाई अँधेरो,
बिहान दिनलाई उज्यालो लेखूँ!
प्रकाशित: १८ आश्विन २०८३ ०७:०६ आइतबार





