१) मुक्तक
मलाई वैरीको नजर मन पर्दैन
कसैको मृत्युको खबर मन पर्दैन
यी दुवैभन्दा बढी त मलाई अचेल
निर्धाप्रतिको राज्यको कर मन पर्दैन।
२) मुक्तक
खाली खुट्टा स्कुल जान्थ्यौँ
वर ऐँसेलु खाजा खान्थ्यौँ
सादा थियो त्यो बालापन
कुटाइ खानु बरदान ठान्थ्यौँ।
३) मुक्तक
उसका बाले सित्तै बालाई हलो जोत्न लाको था´छ
मेरै आमा उसका घरमा चुल्हो पोत्न गाको था´छ
बैगुनीले गुन नदेखून परसेवा धर्म ठान्छौँ
हाम्रै ढाडको लिस्नुबाट उनी माथि पुगे था`छ।
४) मुक्तक
भोकानाङ्गा साथी थिए राम्रै लाग्थ्यो मलाई
आमाभन्दा जाती थिए राम्रै लाग्थ्यो मलाई
यौटा अम्बा पाए पनि टोकीटोकी बाँड्ने
उनकै हात माथि थिए राम्रै लाग्थ्यो मलाई।
५) मुक्तक
सेठका भारी बोक्न पाए गौरव लाग्थ्यो मलाई
बासी मकै टोक्न पाए गौरव लाग्थ्यो मलाई
भगवानझैँ लाग्ने मलाई काम दिने मान्छे
कर्मले लाज छोप्न पाए गौरव लाग्थ्यो मलाई।
प्रकाशित: १० श्रावण २०८३ ०८:३२ आइतबार



-600x400.jpg)

