लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आइरहेका वसन्त पराजुलीले आफूलाई साहित्यकारका रूपमा पनि चिनाएका छन्। साहित्यका विधाहरूमध्ये पराजुलीको रुचि आख्यानका क्षेत्रमा रहेको छ।
बखान (२०८२) उनको प्रकाशित उपन्यास हो। यसअघि उनका कुमाता (२०७६) र मोम्चो (२०७८) गरी दुईवटा कथासंग्रह प्रकाशित छन्। कथासंग्रहहरू सामाजिक यथार्थवादमा आधारित छन् भने प्रस्तुत उपन्यास ऐतिहासिक यथार्थमा आधारित छ। यसमा नेपालको प्रजातान्त्रिक आन्दोलनका एक योद्धा बखानसिंह गुरुङलाई नायक बनाई उनको व्यक्तित्वका बहुविध पक्षबारे जानकारी दिइएको छ। यसका साथै चितवनको बस्ती विकास, गुरुङ र थारू जातिको संस्कृति, चितवनको भौगोलिक तथा प्राकृतिक अवस्था, २०१८ सालको राजनीतिक घटनाजस्ता विविध सन्दर्भलाई विषयवस्तुका रूपमा ग्रहण गरिएको छ। संरचना र भाषाशैलीगत सरलताका कारण उपन्यास सबै तहका पाठकका लागि सरल, बोधगम्य र रोचक बनेको छ।
यो जीवनीमूलक उपन्यास हो। तनहुँको पुलीमराङमा जन्मेर चितवन बसाइँ आएपछि आफ्नो पूरा जीवन देश, समाज र प्रजातन्त्रका लागि समर्पण गर्ने बखानसिंह गुरुङलाई मुख्य पात्र बनाई सिर्जना गरिएको यस उपन्यासमा धेरै विषयक्षेत्र समेटिएका छन्।
बखान शीर्षकले प्रथमतः बखानसिंह गुरुङलाई बुझाएको छ भने द्वितीयतः २००७ सालदेखि करिब २०४० सालसम्मको चितवनको भौगोलिक, प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक आदि पक्षको चित्रणलाई जनाएको छ। यसरी उपन्यासमा पात्र बखानसिंहको जीवनकथाका साथै बखानसिंहसँग जोडिएका विविध पक्षको पनि बखान गरिएको छ।
बखानसिंह गुरुङ प्रजातान्त्रिक आन्दोलनमा लागेका कारण सर्वस्व हरणमा परेका र धेरै वर्ष निर्वासित जीवन बिताएका प्रजातन्त्रसेनानी हुन्। उनी दुई छोरा धर्मध्वज र लालध्वजलाई नेपाली कांग्रेसले सञ्चालन गरेको क्रान्तिमा गुमाएका सहिदपिता पनि हुन्।
जीवनका उत्तरार्धमा पञ्चायतमा प्रवेश गरी मन्त्रीसमेत बनेका भए पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनको अत्यन्त महत्त्वपूर्ण योगदान रहेको छ। जागिर, सुख, धन, जमिन र छोराहरूसमेत गुमाएर प्रजातन्त्रका लागि निरन्तर संघर्ष गरेका महान् पात्र उनै बखानसिंह गुरुङलाई नायक बनाई लेखिएको यस उपन्यासमा उनले प्रजातान्त्रिक आन्दोलनमा खेलेको अहम् भूमिकाका अतिरिक्त चितवनको बस्ती विकास र सहकारी स्थापनामा पुर्याएको योगदानको पनि बखान गरिएको छ।

यस उपन्यासमा बखानसिंहको जीवनका आरोह–अवरोहका साथै तत्कालीन समयको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक अवस्थाको समेत चित्रण गरिएको छ। उपन्यासको परिवेश मुख्यतः चितवनमा केन्द्रित भएकाले यसले आञ्चलिक स्वरूप प्राप्त गरेको छ। सांस्कृतिक पक्षको चित्रण गर्ने क्रममा थारू र गुरुङ संस्कृतिलाई निकै महत्त्व दिइएको यस उपन्यासमा नेवार र अन्य जातिको संस्कृतिलाई पनि स्थान दिइएको छ।
पुस्तकलाई औपन्यासिक रूप दिनका लागि केही काल्पनिक कुराहरू थपिएका भए पनि यसमा उल्लेख भएका पात्र र घटना सत्यतथ्यमा आधारित छन्। स्थूल रूपमा हेर्दा इतिहास, समाज र संस्कृति देखिए पनि सूक्ष्म रूपमा हेर्दा यसभित्र बखानसिंह गुरुङ सेनाको जागिर छोडेर क्रान्तिमा लागेका, सर्वस्व हरणमा परेका तथा निर्वासित जीवन बिताएका, चितवनको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका, पहिलो सहकारी स्थापना गरेकाजस्ता बखानसिंहसँग सम्बन्धित विभिन्न घटनाहरूको विस्तृत रूपमा उल्लेख गरिएको देखिन्छ।
बखानसिंहको जीवनी र व्यक्तित्वका साथै उपन्यासमा उनका दुई छोराले प्रजातन्त्रका लागि गरेको बलिदानी, थारू एवं गुरुङ संस्कृति र अन्य जातिको संस्कृति, राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेको घटना, २०१८ सालमा नेपाली कांग्रेस चितवनले गरेको विद्रोह, दलमाथि प्रतिबन्ध लगाइएपछिको राजनीतिक वातावरण, २०२५ सालपछिको केही खुकुलो अवस्था, जनमतसंग्रहपछिको बखानसिंह र नेपाली कांग्रेसका कतिपय नेतामा आएको विचलनका साथै तत्कालीन नेपालको सामाजिक, आर्थिक, प्रशासनिक आदि पक्षको पनि यथार्थ चित्र उतारिएको छ।
समग्रमा हेर्दा उपन्यासमा प्रजातन्त्रसेनानी बखानसिंह गुरुङका केन्द्रीयतामा २००७ वरपरदेखि करिब २०४० सालसम्मको वास्तविक चित्र प्रस्तुत गरिएको छ। यसमा अझ सो अवधिको चितवनलाई दुरुस्त रूपमा देखाइएको छ। एक -दुईवटा तथ्यगत र सामान्य रूपमा भाषिक त्रुटि रहेका भए पनि समग्रमा हेर्दा उपन्यास विषयका दृष्टिले गहन, भाषिक दृष्टिले सरल र रोचक एवं शैलीका दृष्टिले प्रवाहमय रहेको छ।
प्रकाशित: २८ चैत्र २०८२ ०६:२३ शनिबार





