२० पुस २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

सम्पन्न भयाे ऐतिहासिक नृसिंह जात्रा

मल्ल राजा सिद्धिनरसिंहको पालादेखि यहाँ हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ। हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा भएको हो।

कुनै दैवी प्रकोप नहोस् र विश्वमै शान्ति कायम रहोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ। ललितपुरका छ कूलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर यो जात्रा सञ्चालन गर्ने प्रचलन छ।

यसपालि गाबहालका मधुर शर्मा राजोपाध्यायको परिवारले जात्रा सञ्चालन गरेको हो। विष्णुको नृसिंह अवतारले दानव हिरण्यकशिपुलाई वध गरेको सम्झनामा बाजागाजा र भजनटोलीसहित ललितपुर शहर परिक्रमा गराइन्छ।

नृसिंहतिर फर्केर हातमा धूप लिएर प्रणाम गर्दै प्रल्हादको जस्तो उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने चलन छ। नृसिंहको दायाँबायाँ लक्ष्मी र सरस्वती बस्ने चलन छ भने यो यात्रामा छ जोडी कन्याको पनि सहभागिता रहन्छ। जात्रामा पालोवालाको पुरोहित, जुवाइँ अथवा भाञ्जा नृसिंह बनेर ललितपुरको प्राचीन नगरीको सायाः अर्थात् सापारु रुटमा परिक्रमा गराउने प्रचलन छ।

जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिंह देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बङ्गलामुखी, कोबहाल, मङ्गलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टङ्गाल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी जस्ता विभिन्न ठाउँमा यात्रा गर्ने चलन छ।

जात्राको परिक्रमा हुने विभिन्न स्थानमा नृसिंह लगायत देवताहरूको ठाउँठाउँमा विसर्जन गरी पूजापाठ गर्नुका साथै बालबालिकालाई ढोगाउने चलन छ। ललितपुरमा कात्तिक नाच र उपालकं सायाः का गरी दुई नृसिंहका रूप छन्।

कार्तिक नाचका नृसिंहको उग्र रूप र उपालकं सायाः लाई शान्त स्वभावका रूपमा लिइन्छ। नेपाल सम्वत् ७५१ अर्थात् विक्रम संवत् १६८८ देखि यो जात्रा चलेको जनाइन्छ। 

प्रकाशित: ३० श्रावण २०८२ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App