वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूको ‘मुटु र रक्तनली रोगः जानकारी र रोकथाम’ कृति लाेकार्पण भएको छ।
काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालमा आयोजित कार्यक्रममा ९४ वर्षीया ज्येष्ठ नागरिक आङडोली शेर्पा र डा. लिम्बूले कृतिकाे लोकार्पण गरेका हुन्। डा. लिम्बूको यसअघि "अस्तित्व, पहिचान सन्दर्भमा" कृति प्रकाशित छ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटु र रक्तनली रोग विशेषज्ञका रूपमा पच्चिस वर्ष सेवा अनुभव लिएका डा. लिम्बूले सर्वसाधारणले बुझ्ने भाषामा मुटु र रक्तनलीसम्बन्ध विषयगत चर्चा गरेका छन्। ‘विभिन्न स्वास्थ्य संस्थामा रहँदा भेट भएका बिमारीहरू र उहाँका आफन्तहरूसँग भएका संवाद र जिज्ञासा नै यो पुस्तक लेखनको लागि प्रेरणाको स्रोत हो,’ डा. लिम्बूले भने।
मुटु रोगको इतिहास र वर्तमान अवस्था केलाउँदै विश्वभरि प्रत्येक वर्ष एक करोड ९० लाख मान्छेको मृत्यु मुटु र रक्तनली रोगबाट हुने गरेको छ। यो सम्पूर्ण मानव मृत्युको झन्डै एक तिहाइ हो।
‘नेपालजस्तो विकासोन्मुख मुलुकमा एकातिर उच्च रक्तचाप, मधुमेहजस्ता मुटु र रक्तनली रोगका कारक तत्त्वहरूको जोखिमसँगै कोरोनरी मुटुरोगको जोखिम र मृत्युदर बढिरहेको छ,’ डा. लिम्बू भने, ‘अर्कोतिर विकसित मुलुकहरूमा प्राय: निराकरण भइसकेको बाथ ज्वरो र बाथ मुटुरोगको रोकथाम र मृत्यदरमा सुधार हुन सकेको छैन।’
पुस्तकमा १५ लेखमार्फत मुटुरोगबाट बच्न तथा निराकरणका निम्ति सावधानी अपनाउनुपर्ने विषय सरल भाषामा उल्लेख गरिएको छ। मुटु र रक्तनली स्वास्थ्यका लागि दैनिक कति पाइला हिंड्ने, उच्च रक्तचाप र कोलेस्टोरोलबारे कुन उमेरबाट सजग रहने, उक्त रक्तचापका बिमारीले आफ्नो रक्तचापको निगरानी कसरी गर्ने जस्तो विषय छन्। मुटु तथा रक्तसंचार प्रणाली रोग जोखिमको अनुमानित गणना, छाती नदुखे पनि हार्ट एट्याक हुन सक्ने जस्तो जानकारी समेटिएका छन्।
मुटु र रक्तनली रोगसम्बन्धी जानकारी, यसका लक्षण, यसबारे गरिने परिक्षण, कोरोनरी मुटुरोग, उच्च रक्तचाप, बाथ ज्वरो र बाथ मुटुरोग, हार्ट फेलियर, मुटुको चालमा हुने समस्या र हार्ट ब्लकबारे जानकारी छन्।
यसैगरी जन्मजात मुटुरोग, मुटु र रक्तनली रोगको रोकथाम, वायु प्रदूषण र मुटुरोग, रक्तनली रोगहरू, नियमित व्यायामको महत्त्व, मुटुरोग र स्वास्थ्य खाना, मुटु र रक्तनली रोगमा एआईको प्रयोगसमेत दिइएका छन्।
प्रकाशित: १२ असार २०८३ १२:५० शुक्रबार




-600x400.jpg)