६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

प्रिमियर शोमा ‘हर्ष’ ले पायो उत्कृष्ट प्रतिक्रिया

मंसिर १२ गते भोलि शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’ को बुधबार ललितपुरस्थित लविम मलमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो। प्रिमियर शोमा यो सिनेमा स्वर्गीय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता, निर्देशक, लेखक, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

भारतको मुम्बईका बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली सिनेमाको प्रमियिर शोमा पुगेकी थिइन्। उनले एकता पौडेलको डेव्यु निर्देशकीय सिनेमा ‘हर्ष’ एकदमै राम्रो बनेको बताइन्।

सिनेमाको सुरुवातमा नै आफूले स्वर्गीय निर्देशक शिव रेग्मीको तस्वीर देखेपछि आफू भावुक भएको बताउँछिन्। ‘हर्ष’ एकदमै सन्देशमुलक सिनेमा हो। यस्ता घटनाहरू हाम्रो घर परिवार र समाजमा घटेका मैले देखेकी छु। त्यसैले एकपटक यो सिनेमा सबैले हेर्नु होला।

स्वर्गीय निर्देशक शिव रेग्मी पत्नी ज्ञानु रेग्मीले पनि ‘हर्ष’ राम्रो बनेको भन्दै भान्जी एकतालाई सफलताको शुभकामना दिइन्। १२ वर्षपछि खोला पनि फर्किन्छ भन्छन् हाम्रो परिवारमा पनि हाल त्यस्तै भएको छ। १२ वर्षपछि भान्जी एकता पौडेलले सिनेमा निर्माण तथा निर्देशन गर्ने आँट गरेकी छन्। एकदमै खुशी लागेको छ।

‘निर्देशक शिव रेग्मी वा मेरो श्रीमानले भन्नुहुन्थ्यो नेपाली सिनेमा काम गर्ने मान्छे आउँदा कहिल्यै नरिसाउनु। नेपाली सिनेमा उद्योग मेरो घर हाे। त्यहाँ काम गर्ने कलाकारहरू मेरो सन्तान हुन्। त्यसैले उनीहरूलाई सधैं माया गर्नु भनेको अझै सम्झना छ। आज बिहीबार स्वर्गीय निर्देशक शिव रेग्मीको वार्षिकी पनि हो,’ उनले भनिन्।

अभिनेता समेत रहेका व्यवसायी संजोग कोइरालाले पनि हर्ष एउटा फरक अनुभव दिने पारिवारिक सिनेमा बनेको भन्दै सबैलाई हेर्न आग्रह गरेका हुन्। अभिनेत्री वर्षा राउतले पनि प्रिमियर शोमा सिनेमा राम्रो बनेको प्रतिक्रिया पाउँदा हर्षित बनेको बताइन्।

सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछाने पनि प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुशी देखिन्थे। आफूले पहिलो पटक फरक खालको सिनेमा गरेकाले कस्तो होला भन्ने थियो। सबैले मन पराइदिनुभयो। खुशी लागेको छ। अब दर्शकले पनि मन पराउनु हुनेछ भन्ने विश्वास छ।

डेव्यु निर्देशक एकता पौडेलले आफूले बच्चादेखि सिनेमा निर्माण तथा निर्देशन गर्ने सपना साकार हुँदा निकै खुशी लागेको बताइन्। ‘आज प्रिमियर शोमा सिनेमा हेर्नुभएका पाहुनाहरूले मामाको झल्को दिन सफल भएको बताए। त्यसले पनि आगामी दिनमा अझै राम्रा सिनेमा निर्माण गर्नुपर्ने चुनौती समेत देखिएको छ। सिनेमाकर्मी तथा पत्रकारहरूले जस्तै दर्शकले पनि हर्ष मन पराउनुहुन्छ भन्ने अपेक्षामा छु हेरूँ के हुन्छ,’ निर्देशक पौडेलले भनिन्।

सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ।

आलोक शुक्लाको छायांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो। प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन्।

प्रकाशित: ११ मंसिर २०८२ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App