१ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

कर्मठ याेद्धा पृथ्वीनारायण

इतिहास

गोरखाका राजा अर्थात् पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले आफ्नो शासनकालमा नुवाकोटमा आक्रमण गरी त्यसलाई आफ्नो अधिकारमा ल्याउन खोजे। तर योजनाबद्ध रूपमा काम नभएकाले त्यस युद्धमा गोरखालीहरूको हार भयो। त्यस घटनाबाट खिन्न भएका नरभूपाल शाह विक्षिप्तजस्ता हुन पुगे। १७७९ पुस २९ गते जन्मेका पृथ्वीनारायण शाहले गोरखालीहरूले पूर्वतिर बढ्न गरेको यस कोसिसबारे सानैदेखि नै सुन्दै आएका थिए।

 पश्चिमतिरबाट आफ्नो राज्यको रक्षा गर्नु र पूर्वतिर राज्य बढाउँदै जानु द्रव्य शाहको समयदेखि गोरखालीहरूको नीतिजस्तै भएको थियो। स्वयं पृथ्वीनारायण शाहले पनि नुवाकोटमा आक्रमण गर्न जानुभन्दा अगाडि चेपेघाटमा राजा रिपुमर्दन शाहसँग गरेको सन्धि यस प्रसंगमा स्मरणीय छ। पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भएको थियो। टुक्रँदै गई आफ्नो अस्तित्वको अज्ञानले गर्दा विलिन हुन लागिसकेको नेपाल राष्ट्रलाई पुनः विदेशीहरूसँग टक्कर लिन सक्ने राष्ट्रका रूपमा परिणत गर्ने युगपुरुषका रूपमा चिनाउन यस विवाहको ठुलो महत्त्व छ।

पृथ्वीनारायण शाह आफ्नी विवाहिता पत्नीलाई आफ्नो राज्य गोरखामा ल्याउन मकवानपुर पुगेका थिए। पृथ्वीनारायणका जेठान दिग्बन्धन सेन अलि मात्तिएका थिए। मकवानपुर राज्यमा तराईको प्रदेश पनि भएकाले त्यहाँबाट हुने आयले गर्दा मकवानपुरे सेनहरू मात्तिएका थिए। यही सुरमा पृथ्वीनारायणलाई सानो तथा निर्धन राज्य गोरखाको युवराज सम्झी दिग्बन्धन सेनले हेप्न खोज्दा स्वाभिमानी पृथ्वीनारायणलाई त्यो सह्य हुँदैन र उनी दुलही नलिई रित्तै हात गोरखा फर्के। यसका साथै उनको हृदयमा क्रोधाग्नि बन्न थाल्छ र यी मकवानपुरेहरूलाई कसरी सिध्याउने भन्ने कल्पनामा उनी लाग्छन्। त्यहाँबाट आफ्नो राज्य गोरखा फर्कंदा बाटोमा पर्न आएको चन्द्रागिरिबाट नेपाल खाल्डोका तीन सहर काठमाडौं, पाटन र भक्तपुरको झलक देख्न पाएका पृथ्वीनारायण शाह ती राज्यको समृद्धिबाट प्रभावित भई यिनलाई जिती आफ्नो राज्यमा मिलाउने कल्पनामा रङमङिन्छन्।

१७९९ पुस २५ गते बाबु नरभूपाल शाहको मृत्यु भएपछि पृथ्वीनारायण शाह गोरखाको राजगद्दीमा बस्छन्। यसपछि आफ्ना बाबुको इच्छा तथा आफ्नो पनि योजनाभित्र परेको नुवाकोटमा पृथ्वीनारायणले आक्रमण गरे। तर योजनाबद्ध रूपमा काम नभएकाले यस युद्धमा पराजय भयो र जसरी नरभूपाल शाहको समयमा गोरखालीहरूले नुवाकोटबाट फर्किनुपर्‍यो, त्यसैगरी यसबेला पनि हार खाएर  फर्किन गोरखालीहरू बाध्य भए।

नुवाकोटको पहिलो युद्धमा पराजयको अनुभव गरेपछि पृथ्वीनारायण शाह यस विषयमा गहिरिएर सोच्न बाध्य भए। यसपछि उनी काशीतिर लागे र त्यहाँ भारतको तात्कालिक परिस्थितिको अध्ययनका साथै केही शस्त्र संग्रह गरी उनी गोरखा फर्के। त्यसपछि योजनाबद्ध रूपमा नुवाकोटमा आक्रमण भयो र १८०१ असोज १५ मा नुवाकोटमा गोरखालीहरूको प्रवेश भयो। यसरी १८०१ असोजमा नेपाल एकीकरणको श्रीगणेश भयो।

नुवाकोटको विजयपछि नेपालखाल्डोबाट कुती तथा केरुङ भई चल्ने भोटसँगका प्रमुख दुई वाणिज्यमार्गमध्ये एउटा केरुङपट्टिको व्यापार पृथ्वीनारायणको हातमा पर्‍यो। भोटतिरको व्यापार केही चलेपछि गोरखाराज्यको समृद्धि पनि केही बढ्यो तथा गोरखालीहरू अलि बढी शक्तिशाली हुँदै गए। नुवाकोट विजय भएको २–३ वर्षभित्रमा पृथ्वीनारायण शाह नेपाल खाल्डोभित्रका विभिन्न ठाउँमा आफ्नो अधिकार जमाउन सफल भए तर चाँडै नै ती ठाउँबाट गोरखालीहरू धपाइए पनि।

यताबाट गोरखालीहरूलाई पहाडी प्रदेशलाई आफ्नो कब्जामा नल्याई मैदानी भागमा आक्रमण गर्दा फाइदा नहुने अनुभव हुन्छ। यसपछि नेपालखाल्डोका चारैतिरका थुम्काहरूमा आफ्नो अधिकार जमाउने काममा पृथ्वीनारायण शाह लागे। यसैको फलस्वरूप १८११ साउन २१ गते नालदुम कब्जा गरे। यसपछि कुतीपट्टिको वाणिज्यमार्ग पनि पृथ्वीनारायण शाहको हातमा पर्‍यो।

नेपालखाल्डोका चारैतिरका थुम्काहरूमा आफ्नो कब्जा जमाउने यस नीतिमा पूर्ण रूपमा सफल भएपछि नेपालखाल्डोका भित्री भागका अग्ला ठाउँहरूमा आफ्नो अधिकार जमाउनेतिर पृथ्वीनारायण शाहको ध्यान गयो। यसै १८१४ जेठ १९ गते पाटन राज्यअन्तर्गत रहेको कीर्तिपुरमा आक्रमण हुन्छ। अग्लो ठाउँमा रहेको कीर्तिपुर गुम्यो भने हामीलाई पनि खतरा हुन्छ भनेर नेपालखाल्डोका तीनवटै मल्ल राजाका सेनासँग पृथ्वीनारायणका सेनाको केही लागेन र यस युद्धमा पराजित भई गोरखालीहरू पछि हटे। पृथ्वीनारायण शाहको सुरुदेखिका अनुभवी सहयोगी कालु पाँडेको यसै युद्धमा मारिए। कालु पाँडेको मृत्यु भई कीर्तिपुरमा नराम्रोसँग हार भएकाले गोरखालीहरूको विजय यात्रा केही काल रोकियो।

कीर्तिपुरमा भएको हारबाट अनुभव प्राप्त गरी क्रमशः शक्तिसञ्चय गर्दै गोरखालीहरू अघि बढ्दै रहे। यसरी १८१९ सालसम्ममा नेपालखाल्डोको तीन मल्ल राजाहरूका धेरै क्षेत्र आफ्नो कब्जामा ल्याउन गोरखालीहरू सफल भए।

पृथ्वीनारायणको आफ्ना जेठान दिग्बन्धन सेनसँग सुरुमै खटपट भएको कुरा माथि परिसकेको छ। यसो भए तापनि पृथ्वीनारायणका ससुरा हेमकर्ण सेन बाँचुन्जेल यसले उति उग्ररूप लिन पाउँदैन। १८१६ मा हेमकर्ण सेनको मृत्यु भएपछि दिग्बन्धन सेन मकवानपुरका राजा भए। पृथ्वीनारायण शाहले पछिपछि नेपालखाल्डोलाई घेर्ने नीति अवलम्बन गर्दै जाँदा बाहिरबाट यहाँ आवश्यक चिज आउनै नदिने नीति लिए।

नेपालखाल्डोको दक्षिणतिर पृथ्वीनारायण शाहको विरोधी शासन (मकवानपुर) रहिरहेकाले केही मात्रामा भए पनि यहाँबाट आवश्यक चिज भित्रिइरहेको थियो। यही दृष्टिकोणबाट नेपालखाल्डोको नाकाबन्दी अझ कस्ने विचारले पृथ्वीनारायणले मकवानपुरमा आक्रमण गरे। विलासले गर्दा जर्जर भइसकेका मकवानपुरेहरू गोरखालीहरूका अगाडि अड्न सकेनन र एक झमटमा भनेजस्तो मकवानपुर गोरखामा मिल्न गयो। यसरी १८१९ भदौ ९ गते मकवानपुर गोरखाको कब्जामा आयो।

मकवानपुरका सेन राजाहरूको भारतका नवाबहरूसँग पहिलेदेखि नै विशेष सम्बन्ध थियो। त्यसैले मकवानपुरमा पृथ्वीनारायणको कब्जा भएपछि केही मकवानपुरेहरू बंगालका नवाब मिरकासिमकहाँ फिराद गर्न पुगे। मिरकासिम अंग्रेजका विरोधी थिए भने अंग्रेजहरूको प्रवेश हुन नसक्ने दुर्गम पहाडी क्षेत्रमा अधिकार जमाउने सुरमा उनी थिए। यसकारण मकवानपुरेहरूको निमन्त्रणाले उत्सुक भएका मिरकासिमको सेनापति गुरगिन खां ठुलो सैन्य दल लिएर नेपाली भूभागमा आक्रमण गर्न आए तर पृथ्वीनारायणको सेनाका अगाडि पहाडी क्षेत्रमा अनभ्यस्ता मिरकासिमका सेनाको केही लाग्दैन र करिब पाँच सय नाल हतियार र २ वटा तोपलगायत आफ्ना धेरै सामग्रीहरू छोडेर हिँड्न उनीहरू बाध्य भए। यस लडाइँको फलस्वरूप पृथ्वीनारायणको सेना बन्दुकले बढी सुसज्जित हुन पुग्छ भने नेपाली जाति त्यति निर्बलियो होइन भन्ने कुरा पनि संसारका अगाडि प्रत्यक्ष हुन पुग्छ। तिनै हतियारबाट नेपाली सेनामा पहिलो पटक ६ वटा कम्पनी खडा भएका थिए। यसपछि गोरखालीहरूको बल निकै बढ्यो। नेपालखाल्डो वरिपरिका प्रदेशहरू जित्दै, आफ्नो नाकाबन्दीको नीति लागु गर्दै पृथ्वीनारायण शाह अगाडि बढिरहे। पृथ्वीनारायण शाहको विजयले ती स्थानका बासिन्दाहरूले अझ होलो र सजिलो अनुभव गर्ने हुनाले उनको विजयले क्रमशः स्थायी रूप लिँदै गयो।

१८२२ चैत ३ गते कीर्तिपुर विजय भएपछि पृथ्वीनारायणको नेपालखाल्डोभित्रकै महत्त्वपूर्ण अग्लो ठाउँमा कब्जा भएकाले गोरखालीहरूको बल अझ बढ्यो। गोरखालीहरूले आफूलाई प्रतिदिन च्याप्दै ल्याएकाले जयप्रकाश मल्ल अंग्रेजहरूलाई यहाँ ल्याउन पाए त गोरखालीहरूको मेख मथ्र्यो कि भन्ने धुनमा थिए।

यता अंग्रेजहरू पनि पृथ्वीनारायणको सेनाद्वारा मिरकासिमको पराजय भएपछि पृथ्वीनारायणको शक्तिद्वारा सशंकित भएका थिए र यस शक्तिलाई कलिलै अवस्थामा निमोठ्न उनीहरू उत्सुक थिए। यसैले पृथ्वीनारायण शाहलाई गिराउनु जयप्रकाश आदि मल्ल राजा र अंग्रेज दुवैथरीको अभिष्ट भएकाले अंग्रेजहरू नेपालभित्र आए। पहिले त अंग्रेजहरू तराईमा खुरुखुरु अगाडि बढ्छन् तर पहाड उक्लन लागेपछि सिन्धुलीमाढीभन्दा अगाडि पौवागढीमा पृथ्वीनारायणका सेनाद्वारा अकस्मात् आक्रमण हुँदा अंग्रेजी सेना सम्हालिन सकेनन् र हातहतियार छोडी कुलेलम ठोके। १८२४ सालमा भएको यस युद्धपछि पृथ्वीनारायणको प्रतिष्ठा अझ बढ्यो। यसपछि नेपालखाल्डोका राजा जयप्रकाश र अरू मल्ल राजाहरू अझै हतासिए।

पृथ्वीनारायण शाहको नाकाबन्दी कसिँदै गयो नेपालखाल्डोका तीनै सहरमा। तर अझ पनि किल्लाका रूपमा रहेको काठमाडौं सहर हात पार्न पृथ्वीनारायण शाह सफल हुन सकेनन्। आखिरमा १८२५ असोज १३ गते पृथ्वीनारायण काठमाडौं नगरमा प्रवेश गर्न सफल भए। त्यस दिन इन्द्रजात्राको उत्सव चलिरहेको थियो। त्यसैले सहरका ढोकाहरूमा सुरक्षाको त्यति राम्रो प्रबन्ध थिएन। केही समय युद्ध लडी जयप्रकाश मल्ल तलेजुमा बारुद छरी आफ्ना केही सैनिकसाथ पाटनतिर भागे। विजयी गोरखाली सेनाको नगरमा प्रवेश भयो। पृथ्वीनारायणको आज्ञाले कुमारीको यात्रा यथावत चलिरह्यो। खालि राजगद्दीमा जयप्रकाशको ठाउँमा पृथ्वीनारायण बसे। अन्तर यति नै हुन्छ। तलेजुमा छरिएको बारुद पड्किँदा सेनापति तुलाराम पाँडे घाइते भए र उनको मृत्यु भयो।

यसरी १८०१ असोज १५ गते नुवाकोटमा प्रवेश गर्न सफल भएका पृथ्वीनारायण शाह २४ वर्षसम्मको निरन्तर परिश्रमपछि धेरै धनजनको खति सहेर नुवाकोटभन्दा ७ कोस पर पूर्वदक्षिणमा रहको काठमाडौं सहर हस्तगत गर्न सफल भए।

जयप्रकाश मल्ल पाटन पुगेपछि त्यहाँका राजा तेजनरसिंह मल्ल हडबडाए। दुवै राजा १८२५ असोज २० गते भक्तपुरका राजा रणजित मल्लको शरणमा गए। रणजित मल्ल शरणको मरण गर्दैनन् र काठमाडौं जितेपछि नजिकै रहेको पाटन पनि आफ्नो हातमा पार्ने उद्योगमा पृथ्वीनारायण लागे।

राजा तेजनरसिंह मल्ल भागेर भादगाउँमा पुगिसकेका थिए। शासन गर्ने ६ थरी प्रधानहरू पृथ्वीनारायणको शरणमा जानु ठिक ठान्छन् र काठमाडौं जितेको ११ दिनपछि १८२५ असोज २४ गते बिनायुद्ध नै पाटन पृथ्वीनारायणको अधिकारमा आयो। पृथ्वीनारायण शाह यसरी पूर्वतिर बढ्न क्रमशः सफल हुँदै गए पनि पश्चिमबाट लमजुङको नेतृत्वमा चौबिस राज्यहरूबाट बराबर गोरखामा आक्रमण भई नै रह्यो र कहिलेकाहीं त गोरखा राज्य थाम्न नै धौ धौ पर्‍यो। ‘सिमाना जोडिएको राज्य शत्रुराज्य हुन्छ, शत्रुराज्यको सिमाना जोडिएको राज्यचाहिँ मित्रराज्य हुन्छ’ भन्ने कौटिल्यको सिद्धान्तअनुसार पृथ्वीनारायण पनि चौबिसेभन्दा पर रहेका बाइसेहरूलाई आफ्नो मित्र बनाउन पुगे। उनको यो नीति सफल पनि भयो। यस नीतिको सफल कार्यान्वयनका लागि पृथ्वीनारायण जाजरकोटसँग मित्रता बाँध्छन् भने सल्यानी राजा कृष्ण शाहका छोरा राजकुमार रणभीम शाहसँग आफ्नी छोरी राजकुमारी विलासवतीको विवाह १८२३ सालमा गरिदिए।

जाजरकोट तथा सल्यानसँगको यस सम्बन्धले पृथ्वीनारायणको समयमा चौबिसेहरूलाई गोरखातिर बढ्न रोक्ने काममा मात्र होइन, पृथ्वीनारायण पछि श्री ५ रणबहादुर शाहको राज्यकालमा राजकुमार बहादुर शाहको नायकत्वमा पश्चिम विजयको ठुलो अभियान सुरु भयो।

यसरी काठमाडौं र पाटनको विजयलगत्तै पृथ्वीनारायण शाहले भक्तपुरमा आक्रमण गरेनन्। यसो नगर्नाका विभिन्न कारणमध्ये भक्तपुरका राजा रणजित मल्ल पृथ्वीनारायणका मितबा हुनु पनि एउटा थियो। रणजित मल्लका छोरा वीरनरसिंहसँग पृथ्वीनारायण शाहले मित लगाएका थिए। यसै सम्बन्धका माध्यमबाट पृथ्वीनारायण शाह आफ्ना मितबालाई पटाउने दाउमा लागे तर पृथ्वीनारायण शाहको यो नीति सफल भएन। त्यसपछि पृथ्वीनारायण शाह भक्तपुरमा आक्रमण गर्न बाध्य भए। तीन दिनको घमासान युद्धपछि १८२६ मंसिर १ गते भक्तपुरमा पृथ्वीनारायणले विजय प्राप्त गरे।

नेपालखाल्डोका तीन सहरमा सबभन्दा बढी धनजनको क्षति भक्तपुरमा प्रवेश गर्दा नै भयो। त्यस युद्धमा कान्तिपुरबाट भागेर आएका जयप्रकाश मल्ल गोरखाली सैन्यको गोलीले घाइते भए। उनको उपचार गरियो। तर उनी नबाँच्ने ठहरिएपछि आफ्नो इच्छाअनुसार पृथ्वीनारायणको आज्ञाले पशुपति आर्यघाट पु¥याइयो। १८२६ मंसिर ७ गते जयप्रकाश मल्लको आर्यघाटमा मृत्यु भयो।

पृथ्वीनारायणको आज्ञाले जयप्रकाशको प्रतिवर्ष सरकारी कोषबाट श्राद्ध गराउने काम सुरु भयो। यस कामबाट पृथ्वीनारायणको उदारता झल्किछ। बाह्र हजार घर भएको गोरखाका राजा पृथ्वीनारायण शाहले आफूभन्दा शक्तिशाली तथा ठूला विभिन्न राज्यलाई जित्न सक्नुमा उनको सैनिक शक्ति मात्र कारण थिएन भन्ने स्पष्ट छ।

यस्तै काम गरेर पृथ्वीनारायण शाहले दुनियाको मन जितेका थिए। पृथ्वीनारायण शाहले कुनै ठाउँमा पनि विजय प्राप्त गर्नासाथ त्यहाँका देवदेवता, मान्यताहरूको रक्षा गरी तथा स्थानीय व्यक्तिहरूलाई कुनै कष्ट नदिई दुनियालाई अनुकूल पारेका थिए। उनको विजय स्थायी हुनुमा यो एउटा प्रबल कारणको रूपमा रहेको छ।

आफ्ना मितबा रणजित मल्ललाई पृथ्वीनारायण शाहले आफ्नो इच्छा सोद्धा रणजित मल्ल काशीवासको इच्छा प्रकट गरेकाले र उनी काशीवास पठाइन्छन्। १८२६ माघे सङ्क्रान्तिका दिन काशी हिँडेका रणजित मल्ल भारत पुगेपछि केही काल पृथ्वीनारायण शाहको विरुद्धमा चली आफ्नो इच्छा नपुग्दै १८२८ जेठ १३ गते काशीमै मृत्यु भयो।

पाटनका राजा तेजनरसिंह मल्ल चाहिँ झ्यालखानामा राखिए र त्यहीं नै उनको मृत्यु भयो। त्यसपछि पृथ्वीनारायण शाह आफ्नो राज्यभन्दा पश्चिमपट्टि रहेका लमजुङ आदि राज्य विजय गर्ने काममा लागे। सुरुमा उनलाई यस काममा सफलता प्राप्त हुन्छ। तर चाँडै नै चौबिसेहरूको संगठित सैन्यबलका अगाडि गोरखालीहरूको केही लाग्दैन।

सिन्धुपाल्चोकको साँगाचोकको लडाइँमा वीरगति पाएका शिवरामसिंह बस्न्यातका माहिला छोरा केहरसिंह बस्न्यातले यस युद्धमा वीरगति पाउँछन् भने कीर्तिपुरको युद्धमा वीरगति पाएका कालु पाँडेका जेठा छोरा वंशराज पाँडे चाहिँ शत्रुसैन्यको हातमा बन्दी बन्न बाध्य भए। यसरी नराम्रोसँग हार खाएर गोरखाली सैन्य गोरखा फर्कन बाध्य भए। पश्चिम विजय गर्न जाँदा भएको कटु अनुभवबाट शिक्षा पाएका पृथ्वीनारायण शाह यसपछि पूर्वको अभियानमा लागे। पृथ्वीनारायण शाहका कुशल सेनानायकद्वारा हाँकिएको फौज चाँडै नै पूर्वका चौदण्डी र विजयपुर दुई सेनराज्य हस्तगत गर्न सफल भयो। यसरी नेपालको सिमाना सुखिम (सिक्किम) सँग जोडिन पुग्यो।

यसको केही समयपछि पश्चिमपट्टि फेरि राज्यविस्तार गर्ने विचार लिएर पृथ्वीनारायण शाह नुवाकोट पुगे। नुवाकोटमै पृथ्वीनारायण शाहको पश्चिमविजयको योजना बन्यो। पृथ्वीनारायणका मामाले गरुड भनिएको लमजुङ आदि पश्चिमी राज्य जितेर आफ्नो राज्यमा मिलाउने पृथ्वीनारायणको इच्छा पूरा हुन सकेन।

त्यतिखेर नै पृथ्वीनारायण शाह कडा रोगबाट थलिए। आफ्नो अन्त्य अवस्था नजिकै आएको अनुभव पृथ्वीनारायणलाई भयो तर उनी धैर्यशाली भएकाले त्यति आत्तिँएनन् र आफ्ना भारदारहरूलाई बोलाएर उपदेश दिए। त्यस उपदेशमा उनी आफ्नो जीवनमा घटेका महत्त्वपूर्ण घटनाका साथै आफूलाई के गरुँला भन्ने लागेको थियो भन्ने कुरा बताए। यस नेपाल राष्ट्रले आफ्नो अस्तित्व राख्ने हो भने कुन नीतिको अवलम्बन गर्नुपर्छ भन्ने कुरामा विस्तृत प्रकाश पारेका थिए। १८३१ माघ १ गते ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा पृथ्वीनारायण शाहको मृत्यु भयो।

‘नेपाल दुई ढुंगाबिचको तरुल’ भनेर पृथ्वीनारायण शाहको दिव्य उपदेशले नेपालले सधैं चीनजस्तो उत्तरी शक्ति र दक्षिणको भारत राज्यसँग सन्तुलित र व्यावहारिक सम्बन्ध कायम गर्नुपर्छ भन्ने उपदेश दिएको छ। आज पनि हामी चीन र भारतबिच समदुरीको कूटनीतिक धार समाइरहेका छौं।

कौटिल्यको साम, दाम, दण्ड र भेदको नीतिलाई कुशलतापूर्वक पृथ्वीनारायण शाहद्वारा पहल गरिएको थियो भने समयचक्रअनुसार ती सबै नीतिको संयुक्त प्रयास पनि एकैचोटि राज्यमाथि गरिएको पनि पाइन्छ। जस्तो मल्ल राज्यहरू तथा चौबिसे राज्यहरूमध्ये कतिसँग त्यस्तो प्रयास भएको थियो। पृथ्वीनारायण शाहद्वारा पूर्वका राज्यहरूमाथि विजय प्राप्त गर्ने क्रममा पश्चिमका चौबिसे र बाइसे राज्यहरूसँग शान्ति–सम्झौता, सन्धि, आर्थिक प्रलोभन आदि नीतिहरू अवलम्बन गरिएको थियो। अर्कातिर मल्ल राज्यहरूलाई जित्ने उद्देश्यले दक्षिणबाट अंग्रेज शासक र उत्तरतिरबाट तिब्बती शक्तिले कुनै बाधा विरोध वा हस्तक्षेत्र नगरोस् भनेर उनीहरूलाई सम्झौताद्वारा तटस्थ गरिएको थियो।

त्यस्तै काठमाडौं हान्दा पश्चिमका शक्तिशाली राज्यहरू लमजुङ र तनहुँलाई पनि निष्कृय पारिएको थियो। त्यसैगरी उपत्यकाका तीन मल्ल राज्यहरूलाई विजय गर्ने नीतिअनुसार तीनै राज्यहरूलाई साम, दाम, दण्ड र भेदद्वारा परस्पर विरोधी र कमजोर बनाई उनीहरूलाई क्रमशः परास्त गरिएको थियो।

त्यस बखतको गोर्खा राज्य एक नवोदित सानो र कमजोर राज्य देखिन्थ्यो। जनशक्ति र आर्थिक शक्तिका दृष्टिले गोर्खा राज्य झनै कमजोर देखिन्थ्यो। त्यस्तो बेला पनि पृथ्वीनारायण शाहबाट बाइसे–चौबिसे राज्यहरूमाथि विजय प्राप्त गरी एक शक्तिशाली एकीकृत राज्य खडा गर्ने अभियान आर्थिक सशक्तिकरणबिना सम्भव थिएन। राष्ट्रिय ढुकुटीको समृद्धिका निम्ति पृथ्वीनारायण शाहबाट आन्तरिक बन्दव्यवसाय, उद्योग, व्यापार आदिको समुचित व्यवस्था भएको कुरा हामी उहाँको दिव्य उपदेश र इतिहासबाट प्रशस्त थाहा पाउन सक्छौं। साथै आर्थिक शक्ति सञ्चय गरेपछि राष्ट्रको सूरक्षा तथा एकीकरणका निम्ति आवश्यक आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले पृथ्वीनारायण शाहबाट सर्वप्रथम गोर्खा राज्यदेखि पूर्वको राज्यहरू र तिनमा पनि पहिलेको काठमाडौं उपत्यका विजय गर्ने लक्ष्य राखी तदनुरूप अभियान चालेको थिए।

एकातिर तिब्बतसँग सम्झौता गरी व्यापारका व्यवस्था अर्कातिर मल्ल राज्यहरूलाई घेर्ने महत्त्वपूर्ण नाकाहरूको कब्जा र त्यसपछि उपत्यकाका तीन राज्यहरूमाथि विजय प्राप्त गर्ने अभियान पृथ्वीनारायण शाहका दूरदर्शी आर्थिक रणनीति थिए।

पृथ्वीनारायण शाहको आर्थिक रणनीति नै भावी सैनिक तथा राजनीतिक एकीकरणको मेरुदण्ड थियो। उनको एकीकरण विजयको रणनीतिमा पहिले पूर्वतिर विजय गरी पछि पश्चिममाथि विजय अभियान सञ्चालन गर्नुथियो। पूर्वतर्फ अघि बढ्दा पश्चिमका बलिया चौबिसे राज्यहरूलाई गोरखामाथि आक्रमणबाट रोक्ने दाउले उनीहरू कसैलाई सम्झौताद्वारा र कसैलाई आर्थिक सहयोग तथा प्रोत्साहनसमेत गरेको पाइन्छ। यहाँसम्म कि कान्तिपुर विजय गर्नुअघि एकचोटि कान्तिपुर राज्यसँग मिली संयुक्त सिक्का बनाउने र तिब्बतसँग व्यापार गर्ने सफल कार्यसमेत भएको थियो।

पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माण र एकीकरणको अभियान यात्रामा लाग्दा सर्वप्रथम एक कुशल, कुशाग्र र दूरदर्शी प्रशासनिक रणनीतिकारका रूपमा इतिहासले साबित गरेको पाइन्छ। राष्ट्रिय एकीकरणको अभियान चाल्नुभन्दा पहिले त्यसको पूर्व तयारीका रूपमा केही पूर्वाधारहरू तयार गर्नु आवश्यक थियो। त्यसैले पृथ्वीनारायण शाहबाट सर्वप्रथम प्रशासनिक एकीकरण तथा सवलीकरणको सूत्रपात भयो। साथै आफ्नो पुराना र अन्य भारदारहरूलाई पनि एकीकृत र संगठित गरी सबैलाई यथोचित दायित्व प्रेरणा र प्रोत्साहन दिई राष्ट्रिय अभियान र सशक्त शासन व्यवस्था कायम गर्नमा ऐतिहासिक भूमिका खेलियो।

पृथ्वीनारायण शाहबाट जनता, साहुमहाजन, कृषक, भलादमी सबैलाई एक सूत्रमा समेटी राष्ट्रको एकीकृत शक्ति र संगठन तयार पारियो। त्यसपछि मात्र राष्ट्रिय एकीकरणको विशाल अभियान थालिएको थियो। यो चानचुने कुरो थिएन। यो त एक कुशल शासकमा विशेष रूपले हुनुपर्ने कुशाग्र, दूरदर्शी परिणाम थियो। यसैको बलबुतामा वास्तविक राष्ट्रिय रणनीतिको उदय हुन सक्यो, जसको परिणामस्वरूप त्यसताका एक नवोदित तथा कमजोर गोरखा राज्य कालान्तरमा साम्राज्यशाली, शक्ति सम्पन्न, नेपाल अधिराज्यको रूपमा उदीयमान हुनसक्यो।

सैनिक आँखाबाट केलाउँदा पृथ्वीनारायण शाहको सबैभन्दा महत्त्वपूर्ण पक्ष सैनिक रणनीति नै हो। गोरखाजस्तो सानो भुरे राज्यबाट सुरु गरेर एक विशाल नेपाल राष्ट्र सैनिक बाहुबलको आडमा खडा गर्नु सानो कुरा थिएन। विश्वमा विरलै पाइने यस्ता उदाहरणहरू छन्। रणनीतिक आधारमा त पृथ्वीनारायण शाहलाई कौटिल्य चीनका महान् पौराणिक रणनीतिकार सुन जु, इटलीका मेकाइवल, जर्मनीका विस्मार्क आदिको संयुक्त रूपलाई हेर्न सकिन्छ। कहींकहीं त पृथ्वीनारायण शाहलाई अझै अग्रणी नायकका रूपमा पनि पाइन्छ। नेपोलियनले उन्नाइसौं शताब्दीको सुरुतिर भनेका थिए– ‘सेनाबिना न त राज्यको राजनीतिक स्वतन्त्रता न नागरिक स्वतन्त्रता नै रहन्छ।’

नेपालमा पृथ्वीनारायण शाहले त्यो अगावै अठारौं शताब्दीको पूर्वार्धमा नै त्यस सूत्रलाई कार्यान्वयनमा उतारेको पाइन्छ। पृथ्वीनारायण शाहबाट एकीकरणका लागि सैनिक रणनीतिको अठोट गर्दा रणनीतिलाई समय र परिस्थिति उपयोग गर्ने कलाका रूपमा प्रयोग भएको पाइन्छ।

सैनिक रूपले उपत्यका जित्नका निम्ति हतियार र अर्थ मात्र होइन, पृथ्वीनारायण शाहको त्यस्तो नीति कूटनीति पनि त्यतिकै सफल थियो। पृथ्वीनारायण शाहबाट पर्याप्त रूपमा अनुशरण र कार्यान्वयन भएको थियो। प्रथमतः चौबिसे राज्यहरूलाई सैनिक रूपले गोरखामाथि नखनिऊन् भनी तटस्थ राख्ने काम गरियो भने अर्कातिर तिब्बत (ब्रिटिस–भारत)लाई पनि त्यस्तै तटस्थ पारिएको थियो। उपत्यका जित्नका लागि चारैतिरका पहाडी गढहरूमाथि आधिपत्य प्राप्त गर्नुपर्थ्याे। त्यसका निम्ति पहिले नुवाकोट कब्जा गर्नुपर्थ्याे। ती सबै कार्यहरू कूशलता र बहादुरीसाथ समयमै पूरा गरी पृथ्वीनारायण शाहबाट उपत्यकाका तीन मल्ल राज्यहरूमाथि पर्याप्त नाकाबन्दी गरी उनीहरूमाथि सैनिक विजय प्राप्त गर्ने काम भएको थियो। त्यतिखेरको युद्धकलालाई हाल एक्काइसौं शताब्दीको युद्धकलासँग दाँज्दा पनि हाल भएका लडाइँका सिद्धान्त र युद्धकलाभन्दा कम छैनन्। जसका लागि राजा पृथ्वीनारायण शाहले पहिलो पटक विजय प्राप्त गरेका नुवाकोटको हमलामा प्रयोग भएका युद्धकलालाई सैनिक रणनीतिसँग विश्लेषण गर्नका लागि यहाँ प्रस्तुत गरिएको छ।

नेपालको एकीकरण र नेपाली सेनाको इतिहासमा नुवाकोटको तेस्रो हमलाको (नरभूपाल शाहको पालाको एक पटक र उनको पालाको दुई पटक गरी) ठुलो महत्त्व छ। यसका सफलताका लागि सैन्य संगठन, हतियारको व्यवस्था तथा सैनिक तालिमको समेत थालनी भई यहाँदेखि नै नेपाली सेनाको संगठनात्मक रूपले जन्म भएको मान्न सकिन्छ भने नेपाल एकीकरणको शिलान्यास पनि यहींबाट भएको थियो।

साँच्चै भन्ने हो भने राजा पृथ्वीनारायण शाह, नेपाली सेना र नुवाकोटको विजयलाई सैनिक तथा राष्ट्रिय इतिहासबाट समेत महत्त्वपूर्ण रहेको कुरा निर्विवाद छ। यस हमलाबाट नै नेपालमा सेना र हतियारको विकास भएको थियो। तेस्रो पटकको हमलामा जानुअघि पृथ्वीनारायण शाहले हमलाका लागि व्यवस्थापकीय तयारी गरी धेरै सावधानी अपनाएका थिए।  

खेतालारूपी सैन्यको सट्टा संगठनात्मक रूपरेखाबाट सेनाको व्यवस्था गर्नु, खुकुरी, तरबार, खुँडा, भालाजस्ता अस्त्रले मात्र नुवाकोटको विजय हुने नठानी विदेशबाट बन्दुक चलाउने र बनाउने व्यक्तिहरूसमेत झिकाई शस्त्रबाट गरिने युद्धकलाको थालनी गर्नु, दुई दुई पटकसमेत मार खाइसकेका सेनाहरूको मनोबलसमेत बुझेर सैनिक युद्धविद्या सिकाइ, पेसागत तालिम दिने कामको सुरुवात गर्नु, सेना र भारदारको मनसायअनुसार सबैले रुचाएको सेनानायकको नियुक्ति गर्नुु तथा हमलामा बढेको बेला छिमेकी शत्रुराज्य लमजुङले गोर्खामाथि हमला नगरोस् भन्नाखातिर लमजुङलाई यथास्थितिमा राख्न मूल काजी कालु पाँडेमार्फत गोर्खा र लमजुङबिच धर्मपत्र बनाई सही गर्नु अति दूरदर्शी पहल थियो। त्यसका साथै हमलामा सबैको साथ जुटाउनका लागि गोर्खा राज्यभरि सबै जात तथा परिवारसँग यथाशक्य सहयोग जुटाउने र गोर्खाली फौजबाट नै युद्धविद्या सिकी सेनाबाट निकालिएका जयन्त रानालाई गोरखाको सम्पूर्ण युद्धविद्या थाहा भएकाले अब हुने हमलामा युद्धविद्यामा नै परिवर्तन गरिएको थियो।

उक्त युद्धलाई विश्लेषण गर्दा सैनिक कारवाहीमा छक्याउनु र धोकामा पार्ने कामको ठुलो भूमिका रहेको पाइन्छ। यसर्थ उक्त उद्देश्य हासिल गर्न नुवाकोट विजय हमलामा गोर्खाली सेनाले निम्नलिखित तरिका अपनाएको थिए–

क. विभिन्न दिशाबाट हमला गर्नु:

विगतमा भएको हार र संयुक्त मल्ल फौजका सेनानायक जयन्त रानाको अनुभवलाई समेत मध्यनजर राखी तीन दिशाबाट एकै पटक हमला गर्ने निधो भयो। एउटै दिशाबाट हमला गर्दा दुई पटकसम्म हार भइसकेकाले यसप्रकारको नयाँ युद्धविद्याको प्रयोग गरिएको थियो– गेर्खु–महामण्डल दिशा,  धरमपानी–महामण्डल दिशा, तीनधारे–नुवाकोट दिशा।

ख. छक्याउने विधिहरूको प्रयोग:

बिस्तारै अघि बढी सबै फौजलाई खिन्चेत बेँसी तथा आसपासको इलाकामा जम्मा गरेर त्यसै इलाकालाई दरिलो स्थान (फर्म बेस) बनाई दिनभर खेत खन्ने, कुलो काट्ने काममा लगाउने र रातभर हमलाका लागि अभ्यास गर्ने र युद्ध विद्या पढाइने गर्दा मल्ल फौजलाई कुनै पत्तो नै भएन।

ग. मनोवैज्ञानिक युद्धको प्रयोग:

मल्ल सेनानायक जयन्त रानालाई चुपचाप गोरखाली सेनापट्टि मिलेमा हुने फाइदा र नमिली गोरखालीले लडाइँ जितेमा उसलाई पुग्ने क्षतिसमेत दर्साइ विभिन्न लेखापढी तथा समाचारको आदानप्रदानसमेत गर्न लगाइएको थियो। यसबाट जयन्त रानाले गोरखाली सेनापट्टि मिल्दै नमिल्ने जवाफ पठाए तापनि उनको मनमा खुल्दुली बढी आत्मभरोसामा ह्रास आएको थियो।

घ. प्रतिकूल मौसमी अवस्थाको छनौट:

त्रिशूली नदी तर्न गाह्रो भई पहिला पहिलाका हमला प्रायः हिउँदमा हुने भएकाले गोरखालीले वर्षाद याममा हमला गर्लान् भन्ने कुरा नुवाकोटे फौजमा हुने छैन भन्ने अठोट गरी पृथ्वीनारायण शाहले (असोज) वर्षा मासलाई हमला गर्ने समयको छनोट गरे, जुन कुरामा नुवाकोटे फौजलाई पनि सह्य लागेको थिएन।

ङ. लुकाउ र छिपाउको प्रयोग:

करिब १३ सयभन्दा बढी फौजलाई एकै पटक, एकै ताँती लगाएर हमलाका लागि अगाडि बढाउनु सफलता प्राप्तिका लागि सम्भव थिएन। यसर्थ उनले गोरखाबाट खिन्चेत उतार्न मात्र चार बास राखी बिस्तारै–बिस्तारै अँध्यारो र छिपाउको अधिकतम प्रयोग गरी गोरखाली सेनाको हर्कतलाई लुकाउन सफल भएका थिए।

च. अविच्छिन्न रूपबाट चियो गर्नु:

गोरखाली सेनाले खिन्चेतबाट नुवाकोटमाथि विशेष निगरानी राख्दै थियो। यही सिलसिलामा गोरखाली फौजसँग झगडा परी निस्केको, भागेको आदि वहाना र छद्मभेषमा समेत गोरखाली फौजबाट नुवाकोटे मल्ल सेनाभित्र घुसपैठ गरिसकेका थिए। जसबाट दैनिक खबर प्राप्त भइरहेको थियो। ज्योतिषीको साइत र जयन्त रानाको अनुपस्थिति पनि मिलाइएको थियो। जुन दिन गोरखालीले हमला गरे, त्यस बेला जयन्त राना नुवाकोटभन्दा केही माथि दक्षिणतिर पर्ने उचाइमा रहेको बेलकोट भन्ने ठाउँमा थिए। नुवाकोटमा रहेको फौजको तैनाथी उनका छोरा शङ्खमणि रानाले बुझेका थिए र गोरखाली फौजसँग लड्ने नुवाकोटे सेनानायक नै शङ्खमणि राना थिए।

छ. गुरिल्ला ट्याक्टिसको प्रयोग:

गोरखाली सेनालाई हालको गुरिल्ला युद्ध गर्ने फौजका जस्तो तेजिलो हमला गर्ने र सो हमलाले प्रतिकार गर्न प्रतिरक्षाको फौजले मौका नपाओस् भन्नाखातिर अप्रत्यासित हमला गर्न र दुस्मनको मुख्य नेतालाई घेरामा हाली पक्रने वा मार्ने युद्धकलाको प्रयोग गरिएको थियो।

ज. रातमा नदी तर्नु:

खिन्चेत इलाकाका माझीका नाइके जुलवा माझीलाई हात लिई रातमा मात्र थुप्रै पानीडुंगाहरू बनाउन लगाई माझीहरूकै मिलोमतोबाट रातभर हमलावार फौजलाई त्रिशूली नदी तार्ने काम गरिएको थियो। जुन कार्यबाट नुवाकोटे फौज छक्किएको थियो।

झ. मिर्मिरे उज्यालोमा हमला गर्नु:

दुस्मनलाई छक्काउन, त्रिशूली नदी पार गर्न र नदी पार गरेर पुनः तयारी हुनसमेत अँध्यारो समयकै प्रयोग गर्नुपर्ने बाध्यतालाई समेत मध्यनजरमा राखेर एच–आवर (हमला गर्ने ठेट समय) निकालिएको थियो। १८०१ असोज १५ गते मिर्मिरे उज्यालोमा हमला गर्दा सुतिरहेको नुवाकोट फौज अत्यासमा परी भागाभाग भएको थियो।

प्रकाशित: २६ पुस २०८२ ०७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App