घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ?
म भानुभक्त, धनी भइकन किन यस्तो
गरिब भएर पनि समाजका लागि कुवा बनाउँदै गरेका घाँसीको तारिफ गर्दै भानुभक्त आचार्यले लेखेको यो कविता आइतबार सामाजिक सञ्जालमा खुब छाएको छ।
भानु जयन्तीको उपलक्ष्यमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले शुभकामना दिएका छन्। तिनै शुभकामनाका हरफमुनि कतिपय सर्वसाधारणले भानुभक्तबाट किन सिक्न नसकेको भन्दै व्यङ्ग्यसमेत गरेका छन्।
भानुभक्तको जीवनमा घाँसीले गहिरो प्रभाव पारेका थिए। घाँसीले आफ्ना सन्तानको भविष्यका लागि कुवापोखरी बनाउँदै थिए। यही प्रसङ्गले भानुभक्तलाई समाजका लागि केही दिने/गर्ने चेतना जगायो।

‘भानुभक्तले त घाँसीबाट त्याग र परोपकार सिके,’ मुलुकको वर्तमान परिस्थितिसँग तुलना गर्दै सामाजिक सञ्जालमा प्रह्लाद विष्ट लेख्छन्, ‘तर यी नेता भइकन किन यस्तो ?’
नेताहरू सत्तामा आएपछि आफू मात्र सम्पन्न भएको तर मुलुक र जनताका लागि कल्याणकारी काम गर्न नसकेको सर्वसाधारणको आरोप छ। यो आरोप विष्टको मात्र होइन, सामाजिक सञ्जालमा धेरैले उनको जस्तै प्रतिक्रिया जनाएका छन्।
‘घाँसीको शिक्षाले सामाजिक योगदानको मूल्य अनि साहित्य र कर्मको प्रभाव बुझाउँछ,’ सामाजिक सञ्जालमा विनायक अधिकारी लेख्छन्, ‘घाँसी मात्र एक पात्र होइनन्, उनी आत्म बोध र सामाजिक दायित्वका प्रतीक हुन्।’
भानुभक्त आचार्यले संस्कृतजस्तो कठिन भाषामा सीमित रहेको धार्मिक र सांस्कृतिक ज्ञानलाई सरल, मिठो, भावनात्मक र सहज नेपाली भाषामा अनुवाद गरेर आम जनतामा पुर्याए।
विशेषतः वाल्मीकि रामायणको अनुवाद उनका युगान्तकारी कृतिमध्ये एक हो, जसले नेपाली भाषामा साहित्य लेखनको ऐतिहासिक सुरुवात गर्यो।
‘नेपालीहरू आफ्नो कठिन जीवनयात्रालाई सरल बनाउन चाहन्छन्,’ अधिकारीले थप लेखेका छन्, ‘भानु जयन्ती मनाउँदै गर्दा सबैले यो शिक्षा लिने कि ?’
धनञ्जय आचार्य र धर्मावती देवीका पुत्रका रूपमा तनहुँको चुम्दी रम्घामा १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो।
सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गते नेपाली भाषा, साहित्य र संस्कृति प्रेमीहरूद्वारा विविध कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ।
राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका नेपाली भाषीबिच भाषिक एकता कायम गर्न मद्दत गरेको ऐतिहासिक तथ्यलाई पनि सबैले मनन गर्नुपर्ने बताएका छन्।
उनले दिएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पुर्याउन र यसलाई अझ समुन्नत तुल्याई नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवर्द्धनका निम्ति अतुलनीय योगदान पुर्याएको पाइन्छ,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘नेपाली कविताका आदिकवि र भाषाका प्रवर्द्धक भानुभक्तलाई नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा पनि चिनिन्छ।’
भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढंगले नेपाली भाषामा अनुवाद गरेको संस्कृत भाषाको वाल्मीकि रामायण नेपाली साहित्यसँग सरोकार राख्ने सबैको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबिच जनचेतनाको विकास तथा भावनात्मक एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निभाएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ।
भानुभक्तीय रामायण नेपाली भाषा लिपिको प्रवर्द्धन गर्ने तथा धर्म, कर्तव्य, निष्ठा, सेवा भाव आदि विषयलाई मानवीय जीवनमा उपयोग गर्न सहयोग पुर्याउने रचना भएको राष्ट्रपति पौडेलले बताएका छन्।
भानुभक्तको जन्मस्थललाई साहित्यिक तथा आदिकविको ऐतिहासिक सांस्कृतिक स्थलका रूपमा विकास गर्न सके नै उनीप्रति हाम्रो सच्चा सम्मान हुने राष्ट्रपतिको सन्देशमा उल्लेख छ।
उनले भानुभक्त आचार्यलाई सम्मानका साथ स्मरण गर्दै सबै नेपालीबिच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै भाषा संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
त्यस्तै, प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत स्रष्टाहरूलाई भानु जयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती। आदिकवि जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो। नेपाली भाषामा आदि लेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन। स्रष्टाहरूलाई भानु जयन्तीको हार्दिक शुभकामना।’
त्यसैगरी गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाको श्रीवृद्धि र राष्ट्रिय एकता प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले गरेको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्।
नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती नेपाली भाषाभाषीका लागि सांस्कृतिक चेतना, भाषिक गौरव र साहित्यिक सम्झनाको पर्व भएकाले यो नेपालमै सीमित नभई संसारभर छरिएर रहेका नेपालीलाई एकै डोरीमा बाँध्ने शक्ति बोकेको दिन भएको चर्चा मुख्यमन्त्री पाण्डेले गरे।
आदिकवि भानुभक्तको २१२औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले भानुभक्तका विचार र आदर्शलाई आत्मसात् गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर लाग्नुपर्ने बताएका छन्।
‘घाँसीको प्रेरणाबाट महत्त्वपूर्ण कृति जन्माएको घटनाले उनको सरलता र महानता झल्कन्छ। रामायणजस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पुर्याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन, राष्ट्रिय एकता प्रवर्द्धनमा उनले गरेको योगदान सधैँ स्मरणीय छ,’ मुख्यमन्त्री पाण्डको सन्देशमा उल्लेख छ।
प्रकाशित: २९ असार २०८२ २०:२४ आइतबार





