३ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

धेरै दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै

प्रदर्शनअघि नै राम्रो हाइप बनाएको चलचित्र ‘गौँथली’ अपेक्षित रुपमा चलिरहेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ ले पहिलो दिनदेखि नै सकारात्मक वर्ड अफ माउथ पाएको छ।

पहिलो दिन पाएको राम्रो प्रतिक्रियाको प्रभाव शनिबार देखिएको छ। शनिबार यो चलचित्रका धेरै शोमा उच्च अकुपेन्सी देखिएको छ। शुक्रबार नै शनिबारका धेरै शोमा उच्च अकुपेन्सी देखिएपछि हलहरूले पनि शो थपेका छन्।

शुक्रबारको तुलनामा शनिबार यो चलचित्रले धेरै शो पाएको छ। शुक्रबारको अकुपेन्सी र शनिबारको अग्रिम बुकिङ देखेर हलहरूले शो थपेका हुन।

हलका दर्शकको संख्या उच्च भएपछि कलाकार अरुण क्षेत्री, सिम्रन खड्का लगायतका कलाकार दर्शक भेट्न र प्रतिक्रिया बुझ्न हलमा पुगेका छन्। दर्शकले गाउँका कथा जस्ताको तस्तै सिनेमामा हेर्न पाएको भन्दै निर्देशक तथा कलाकारहरूलाई धन्यवाद दिएका छन्।

“जति पनि दर्शकलाई हामीले भेट्यौँ, चलचित्र राम्रो भन्नुभएको छ, हेर्नुपर्ने मौलिक सिनेमा भन्नुभएको छ,” निर्देशक कपिल रिजालले भने, “यो प्रतिक्रिया र उत्साहले थप जिम्मेवार बन्न प्रेरित गरिरहेको छ।”

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।

घरपरिवार, सम्बन्ध र आत्मीयको भाव केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।

प्रकाशित: ३ श्रावण २०८३ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App