३ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने

क्यानडाको जङ्गलको ठूलो भागमा लागिरहेको डढेलोबाट निस्केको धुवाँको मुस्लोले क्यानडा र अमेरिकाको उत्तर–पूर्वी भागको हावाको गुणस्तर खराब बनाइरहेको छ। यस धुवाँले फिफा विश्वकप फाइनल आयोजना हुने क्षेत्रमा पुग्ने र युरोपतिर पनि फैलिन सक्ने सम्भावना रहेको युरोपेली सङ्घको वायुमण्डलीय अनुगमन सेवा (क्याम्स) ले शुक्रबार बताएको छ।

क्याम्सले जनाएअनुसार जङ्गली आगोको धुवाँले न्यूयोर्क, फिलाडेल्फिया र न्यू जर्सीका शहरहरूमा हावाको गुणस्तर अत्यन्त खराब बनाएको चेतावनी जारी गरिसकेको छ। न्यू जर्सीमा आगामी आइतबार विश्वकप फाइनलको आयोजना हुँदैछ।

क्याम्सले जुनको अन्त्यदेखि क्यानडामा तीव्र रूपमा बढ्दो डढेलोको मौसमलाई निगरानी गरिरहेको छ। जुलाई १३ मा उत्तर–पश्चिमी ओन्टारियोमा करिब ५०० किलोमिटर लामो क्षेत्रमा फैलिएको डढेलो यो वर्षको हालसम्मकै उच्च क्षेत्रमा फैलिएको डढेलो हो।

क्याम्सका अनुसार यी विभिन्न स्थानका डढेलोले मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक धुलो र धुवाँको कण (पिएम २.५) र अन्य विषाक्त पदार्थहरूको मात्रा बढाइरहेका छन्।

क्याम्सका वरिष्ठ वैज्ञानिक मार्क पारिङटनले भने, 'हाम्रो पूर्वानुमानले धुवाँ उत्तर अटलान्टिक पार गर्दै पूर्वतिर सर्दै गएको देखाउँछ र युरोपतिर पनि पुग्न सक्छ। यसले डढेलोले कसरी हजारौँ किलोमिटर टाढासम्म हावाको गुणस्तर प्रभावित पार्न सक्छ भन्ने देखाउँछ।'

धुवाँको मुस्लो आर्कटिक महासागर र क्यानडाका अन्य भागहरूमा पनि फैलिरहेको पारिङटनले बताए।सिन्ह्वा

प्रकाशित: ३ श्रावण २०८३ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App