सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर निवासी ६७ वर्षीय लालबहादुर सुनार निकासखोलाको जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
प्रहरीका अनुसार सुनार घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए। उनी सम्पर्कविहीन भएपछि आफन्त तथा प्रहरी चौकी बाङ्गेसिमलबाट प्रहरी सहायक निरीक्षक टिकाराम थापाको नेतृत्वमा खटिएको टोलीले खोजतलास गरिरहेको थियो।
खोजीका क्रममा आइतबार दिउँसो वीरेन्द्रनगर–२ स्थित निकासखोलाको जंगलमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दीपक मगराठीको कमाण्डमा एसओसीओ सहित पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का, आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: ३ श्रावण २०८३ १७:५५ आइतबार





