मिर्गौला रोगबाट पीडित लोकगायक कमल विके निर्मोहीको मंगलबार साँझ निधन भएको छ। लोकगायक तथा सञ्चारकर्मी उनले केही लोकपप र आधुनिक गीतमा समेत स्वर दिएका छन्।
उनी विगत केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ रहँदै आएका थिए। निधनको खबर भने गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनले आफू मर्माहत भएको उल्लेख गरेकी छन्। उनले कमलसँग गाएकामध्ये 'त्यो माडी खोलाले छेकेको हैन', 'मलाई छेक्यो मायालु तिम्रै मायाले' लोकप्रिय बनेको समेत स्मरण गरेकी छन्।
दाङमा जन्मिएका कमल विगत केही वर्षदेखि नेपालगञ्ज बस्दै आएका थिए। उनी रेडियो नेपालका पूर्व कर्मचारी समेत हुन्। रेडियो नेपालमा उनका दर्जनौं गीत रेकर्ड भएका छन्। उनका 'लाग्यो माया मोहनी नजरमा', 'पोखरामा क्या राम्रो रूपाताल', 'डुंगा चढी सलल मायाजाल' लगायतका थुप्रै गीत चर्चित छन्।
निर्मोहीको परिवारमा एक छोरा र दुई छोरी छन्। एक महिनाअघि उनकी पत्नीको पनि निधन भएको थियो।
प्रकाशित: १३ फाल्गुन २०८२ १४:२६ बुधबार





