तीब्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) को उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन गर्ने संस्था ‘ओकला’ (Ookla) ले सार्वजनिक गरेको सन् २०२६ को जनवरी महिनाको ‘स्पिडटेस्ट ग्लोबल र्याङ्क’ अनुसार ८४.३८ एमबीपीएस इन्टरनेट गतिको साथ नेपाल विश्वको ८९औं स्थानमा पर्न सफल भएको हो ।
विश्वव्यापी वरीयतामा ४१६.१० एमबीपीएस गतिको इन्टरनेटसहित सिङ्गापुर शीर्ष स्थानमा कायम छ भने ३८७.४१ एमबीपीएससहित संयुक्त अरब इमिरेट्स (यूएई) दोस्रो र ३४८.०२ एमबीपीएसका साथ फ्रान्स तेस्रो स्थानमा रहेका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रमा नेपालको इन्टरनेट गति सबैभन्दा तीब्र देखिएको छ । नेपालले भारत र बङ्गलादेशजस्ता मुलुकलाई समेत पछाडि पारेको छ । तथ्याङ्क अनुसार सार्कमा नेपालपछि बङ्गलादेश ६४.३७ एमबीपीएसका साथ विश्वको ९६औं स्थानमा र भारत ६१.६७ एमबीपीएसका साथ ९८औं स्थानमा छन् ।
यसैगरी ३५.७९ एमबीपीएस गतिको साथ श्रीलङ्का १२६औं, २०.३० एमबीपीएसका साथ माल्दिभ्स १३९औं, १८.०६ एमबीपीएसका साथ पाकिस्तान १४५औं र ४.७९ एमबीपीएस गतिको साथ अफगानिस्तान १५०औं स्थानमा रहेका छन् । (नोटः सार्कमा भुटान भए पनि ओकलाको र्याङ्कमा भने यस देशको नाम समावेश छैन ।)
ओकलाले कसरी गर्छ इन्टरनेट गतिको पहिचान ?
ओकलाले इन्टरनेटको गति र गुणस्तर मापन गर्न विशिष्ट र वैज्ञानिक विधि अपनाउने गर्दछ । सन् २००६ देखि सेवा दिँदै आएको ओकलाको मापन मुख्यतया ‘उपभोक्ताको वास्तविक अनुभव’ मा आधारित हुन्छ । हरेक दिन लाखौं प्रयोगकर्ताले ‘स्पिडटेस्ट’ मा गएर ‘Go’ बटन थिच्दा प्राप्त हुने नतिजालाई यसले प्रमुख आधार मान्छ । यसले प्रयोगशालाको नभई प्रयोगकर्ताले घर वा अफिसमा भोगिरहेको यथार्थ गति देखाउँछ ।
यसका साथै ओकलासँग विश्वका हरेक देश र मुख्य सहरमा आफ्नै परीक्षण सर्भरको सञ्जाल छ । यसले गर्दा प्रयोगकर्ताको डिभाइस र सर्भरबिच डेटा आदानप्रदान हुँदा लाग्ने अतिरिक्त समय वा दूरी घट्छ र इन्टरनेटको सबैभन्दा सटीक मापन प्राप्त हुन्छ ।
ओकलाले डाउनलोड र अपलोड स्पिडमात्र नभई आधुनिक डिजिटल जीवनशैलीका लागि महत्त्वपूर्ण मानिने भिडिओ स्ट्रिमिङको गुणस्तर, गेमिङका लागि ‘लेटेन्सी’ र भिडिओ कन्फरेन्सिङको क्षमताजस्ता पक्षको पनि सूक्ष्म विश्लेषण गरेर यो वरीयता निर्धारण गर्ने गर्छ ।
प्रकाशित: १३ फाल्गुन २०८२ १९:४९ बुधबार





