नयाँ फिल्म ‘ककाकिकी’ को छायांकन सुरु भएको छ। आज (बिहीबार) बिहान शुभमुर्हुत गर्दै ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो। अबको २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरू छायांकन हुनेछ। त्यसपछि काठमाडौंमा छायांकन गरिने फिल्मका निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन्।
अहिले छायांकनमा फिल्मका सबैजसो कलाकार पुगेका छन्। अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकार अहिले छायांकनस्थलमा छन्। साथै अभिनेत्री गौरी मल्ल केही दिनमा पुग्ने फिल्मकी अर्की निर्देशक श्रृद्धा प्रसाईंले बताइन्। प्रसाईंका अनुसार आजैबाट छायांकन सुरु भएको छ। अन्य केही कलाकार बिचमा जोडिंदै जानेछन्।
फिल्म ‘ककाकिकी’ चर्चित हास्य शो ‘कमेडी दरबार’ टिमले निर्माण गर्न लागेको हो। ‘कमेडी दरबार’ कै निर्देशकद्वय बिक्की र श्रृद्धाले नै फिल्मलाई निर्देशन गर्दै छन् भने फिल्मको लेखक पनि बिक्कीसँगै विकास अर्याल र सरोज भण्डारी हुन्।
यस्तै फिल्ममा स्क्रिन प्ले पनि बिक्कीकै रहेको छ भने विश्वास तिम्सिना स्क्रिप्ट डाक्टरको रूपमा छन्। फिल्मको सहायक निर्देशन अनिश बुढाथोकीले गर्नेछन्। फिल्मको डिओपीको जिम्मा सुदिप बरालले सम्हालेका छन्।
निर्माण टिमले यसअघि गएको साउनको दोस्रो हप्तामा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो। जुन पोस्टरमा अभिनेत्री रेखा थापा, गौरी मल्ल, तृप्ती नाडकर र अभिनेता महेश त्रिपाठीलाई अनौठो अवतारमा चित्रण गरिएको थियो। जुन पोस्टरका कारण पनि फिल्मको कथा रहस्यमय रहेको बुझिन्छ। फिल्मको डिजिटल सर्वाधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय सर्वाधिकार सेभेन सिज् इन्टरनेशनलसँग रहेको छ।
प्रकाशित: २३ आश्विन २०८२ १३:५३ बिहीबार





