बर्सात मध्यजस्तै थियो। ठूलै पानीको रिमीझिमी बेलाबेला रिस उठेका मान्छेको आवेगझैं बल्झिरहने क्रम यथावत चालु थियो। पत्तै नपाई फूलपाती झुल्कियो। कलेज छुट्टीको समय भयो। पानी पर्ने क्रम रोकिएको थिएन। मनमा यस वर्ष फूलको उत्सव शरद भएको छैन जस्तो थियो तर हामीले चाहेर नचाहेर समय बगिरहन्छ नदीजस्तै। यस वर्ष पनि बग्यो र शरदको समय झुल्कियो।
शरद भन्नेबित्तिकै आकाशमा टिमटिमाहट ताराहरू देखियून्, त्यसको माझमा शारदी जूनको ठूलो टाटो मुस्कुराउँदै चन्द्र ज्योत्सना फैलाओस्, नदीमा कञ्चन जलराशि कल्लोलको सङ्गीत बोकेर कुदिरहोस्, आलीकान्ला र करेसाबारीका छातीभर गोदावरी र मखमली मुस्कुराउँदै फक्रिन सकून्। हामीले स्मृतिमा सजाएका शारदी सौरभ यस्ता थिए।
यस वर्ष भने त्यस्तो कुनै लक्षण थिएन तर दशैं भित्रिएकै थियो। जमरा र अन्य उत्सवीय प्रक्रियाहरू प्रारम्भ भैसकोको थियो।
हाम्रा पर्वहरू प्रकृति, हाम्रा मनस्थिति र विज्ञानका त्रिवेणी उपज हुन्। हाम्रो संवत्सर यसै बनेको छैन यसभित्र अनेक अध्ययन, अनुसन्धान र अनुभवका निखार अन्तर्घुलित भएर सिर्जित छ। बिस्तारै आकाशले थकाइ मार्न थाल्यो, मन्दिरहरूमा नवरात्रको तुमुल निनादहरू गुञ्जन थाले। राखिएका जमराहरू हलक्कै बढ्न थाले। समय आफ्नै गतिमा थियो।
यस वर्ष नवरात्रमा आफ्नो घरमा नै थप दुई अनुष्ठान कार्यक्रम थिए। दुवै छोराको विवाह गर्नुपर्ने। जेष्ठ सुपुत्र शरद शर्मा र कनिष्ठ सुपुत्र डा. ऋषिकेशको वैवाहिक कार्यक्रम। हामीले आफ्नो अनुकूलतालाई नवदुर्गाको आशीर्वाद पाउने गरेर वैवाहिक कार्यक्रम राखेका थियौं त्यसैले पनि दशै तिहार चटारोमा बित्ने निश्चित थियो नै।
केही वर्षअघि हो भने शारदीय विवाह अनौठो हुनसक्थ्यो तर अहिले नेपालीको विश्व ग्राममा भएको पहुँचले यसलाई सामान्य बनाएको छ।
कल्पना गरे जस्तो बर्सात भएन। थामिएको थियो। हामीले नवदुर्गाको आशीर्वाद पाए जस्तो भो। गर्मी भने गृष्मको जस्तो थियो। घरमा असोज ८ र १० गते विवाह र ११ गते प्रीतिभोज भयो। हामीले प्रकृति र प्रतिष्ठालाई नववधूका रूपमा नवदुर्गाकै आशीर्वाद स्वरूप मानेर गृहसदस्य प्रवेश गराएका थियौं। त्यसैले दशैं हाम्रा लागि थप उत्सवीय थियो। दशैंका चार दिन कतैकतै मध्यम र सिमसिम बर्सात भैरहेको भए पनि यो वर्ष ठूलो क्षति हुने किसिमको प्राकृतिक घटनाहरू सुनिएनन्। सरकारी तयारी, पूर्वसूचना र सचेतताले नागरिक क्षति कम हुने तथ्य प्रमाणित भयो।
टीका र आशीर्वादका कर्महरू यस वर्ष हाम्रा लागि उल्लासमय नै हुने भए। हामीले उमङ्गका साथ नै दशैं मनायौं। इष्टमित्र, साथीभाइ र आफन्तहरूसँग शुभकामना र आशीर्वादका माङ्गलिक गुच्छाहरू मनको कुनामा सजायौं।
दशैंपछिको आकाश छ्याङ्ग खुल्न थालेको थियो। नेपालमा पनि आन्तरिक पर्यटनको प्रभाव बाक्लिएर जनजीवन चलायमान भएको देखिन्छ र पर्यटकीय गन्तव्य खचाखच भरिने थालेका छन्। हामी पनि सानो यात्रामा निस्कने मेसो मिलाएर पोखरासम्म पुग्ने जमर्को गर्याैं।
खुलेको हिमाल, एकै साथ पारिवारिक सदस्यहरूको सहयात्रा र मौसमको अनुकूलनले हामीलाई उत्साहित बनाएको थियो। पोखराको बाटोघाटो, मन्दिर, नदी किनारा, तालतलैयाका छातीभर स्वदेशी र विदेशीको रगरगी थियो। आकाशमा बेलुन तथा उड्ने थैलाका झिलिमिली थिए। हामीले पनि उड्ने रहर सँगाल्यौं परिवारका सबै सदस्य डोरी र कपडाको सहायताले स्वच्छन्द आकाशमा एकछिन चरा जस्तै उड्ने रहर पनि पूरा गरेर हिमालको सौन्दर्यपान गर्ने तिर्खा आकाशबाट पूरा भएको महसुस गर्याैं।
केही दिनको पोखरा बसाइपछि घर फर्कनु नै थियो, फर्कियौं। कसैलाई पनि बाहिर डुलेर जीवन बिताउने रहर पूरा हुँदैन। हामी मध्यमस्तरका नागरिकहरूको भ्रमण रहर पूरा गर्न निकै पटक सोच्नु पनि पर्छ। अनेक आवश्यकताको तानातानले हामीलाई बिथोलिरहन्छ पनि। सानो पारिवारिक यात्रापछि हामी फर्कियौं पनि।
यता घरमा फर्किद पन्चक प्रारम्भ भैसकेको थियो। बाल्यकालमा जताततै लङ्गुरबुर्जा खेलाउनेहरूको कोलाहल र तास कौडाको कोकोहोलो सुनिन्थ्यो। समय क्रममा त्यसबाट सिर्जित विकृति अन्त्य हुँदै आएको छ।

बिस्तारै आलिकान्लाका फूलहरू फक्रदै आएका, गरागराका धानबालीहरू पहेलिंदै आएका मात्र देखिएनन् सेती, मर्स्याङ्दी र त्रिशुलीका लहरहरू निर्मलीकरण बन्दै आएका पनि देख्यौं। बाटोमा कताकति फूल बेच्ने डाली र माला हातमा लिएका किसानहरू पनि थिए। तरकारीका थुप्राहरूमा मिसिएका अलिकति पुष्प ब्यापारले नव सङ्केत गरेकै थिए - तिहार प्रारम्भ भैहाल्यो।
यसै बिचमा कान्छी पुत्रवधूको अमेरिका यात्राको समय थियो। हतारमा काठमाडौं पुगेर बिदाइ गर्नुपर्ने।
हाम्रो मनमा उनको सफलताको खुसी र विदाइ गर्नुपर्ने बाध्यात्मक परिस्थितिको नियाँस्रो दुवै बाँकी थियो नै। प्रतिष्ठालाई आफ्नो प्रतिष्ठा सगरमाथा जस्तै उँचो बनाउने आशीर्वाद दिएर अलिकति खुसी र अलिकति नियाँस्रो मानेर बिदा गरेपछि डेरामा फर्कियौं।
त्यति नै बेला श्रीमतीजीको घाँटीमा पलाएको मासुको डल्लाले दु:ख दिइरहेको थियो। दुवै छोराले तत्काल शल्यक्रिया गर्नुपर्छ भनेर सल्लाह दिइरहेका थिए। दुवै छोराको वैदेशिक यात्राको समय पनि भैसकेकाले उनीहरूको सल्लाहमा नै अन्नपूर्ण न्यूरो अस्पतालमा त्यसको प्रबन्ध पनि मिलायौं।
डा. दीपक रेग्मीको नेतृत्वमा सरस्वतीको शल्यक्रिया सफल पनि भयो। हामीलाई सन्तोषको सुख मिल्यो। उनले हामीलाई बधाई दिए, हामीले उनीप्रति कृतज्ञ भएर आभार प्रकट गर्दै बिरामीको हेरचाहमा लाग्यौं तर तिहारले छोपिसकेको थियो।
डा. दीपकको सल्लाहअनुसार केही दिन अस्पतालमा राखेर छोरा स्वयम् चिकित्सक भएकाले काठमाडौं भित्र डेरामा काम सक्नुहुनेछ तर उपत्यकाका बाहिर होइन भन्ने सल्लाह प्राप्त भएकाले कोठासम्म ल्याउने प्रबन्ध भयो। घर फर्कन ढिलो पनि भएको जस्तो भैरहेको थियो पनि। काग तिहार पनि आइसकेको थियो। त्यसैले छोरी आरती र छोरा ऋषिकेशलाई आमाको जिम्मा छोडेर ठूलो छोरा शरद, बुहारी प्रकृति र म घर फर्कियौं।
हामीले केही दिन घर छोडेका थियौं, सिंगार्ने, सानो घर भए पनि तिहारका लागि सजाउने, सिंगार्ने र लिपपोतका आफ्ना परम्परा र छँदै थिए। केही दिन त्यसैको मेलोमेसोमा रमायौ, पर्व आगमनको हतारमा हरायौं।
स्वभावैले फूलहरू कम फुलेका र पर्व अगाडि नै परेकाले लक्ष्मीपूजाको साँझ द्वार, पूजाकोठा र आसपास फूलले सजाउन सकिएन, न आफ्नो बारीमा न बजारमा भएपछि फूलहरूको खुसी पनि खुम्चिनुपर्ने अवस्था रह्यो।
श्रीमतीलाई घर ल्याउन मिलेको छैन, उनको शल्यक्रिया र तिहारको आगमन एकैपटक भएको छ। के खुशी र के बेखुसीको जस्तो। पालिरहनुपरेको रोग फालिएको थियो तर तिहारमा सँगै रहेर मान्न नपाएपछि के नपुगे जस्तो के अभाव जस्ताे लागिरहेको रहेछ।

यसपाला उनको तिहार एक्लै डेरामा र हामीले घरमा बितायौं, फूल फुल्न ढिला भए जस्तै, नदीहरू सङ्लिन बाँकी भए जस्तै कतै फुकेको र कतै बाँकी रहेको सौन्दयमा हाम्रो तिहारको स्मृतिको सङ्गम रह्यो।
सुखदुःख त जीवनका साथीहरू न हुन्, आइरहन्छन् गइरहन्छन्। पर्वहरू यसका अभिन्न पर्याय हुन् हामीले खुलेर मान्नुपर्छ। त्यसो त यस वर्ष हाम्रा नववधूहरू प्रकृति र प्रतिष्ठाले दिएको खुशीसँगै पर्वहरूको शुभकामना साटासाट गरिरह्यौं, उनीहरू जीवनको लय फूल जस्तो फक्रिरहोस् भनेर।
प्रकाशित: ७ कार्तिक २०८२ ०६:४७ शुक्रबार


-600x400.jpg)


