१) त्रिशक्ति
विज्ञान, प्रकृति र धर्मलाई पृथ्वी र चराचर जगतको निकै चिन्ता लागेछ। उनीहरू एउटा रूखमुनि बसेर चिन्तन गरिरहेका थिए। अचानक धर्मले विज्ञानलाई आक्षेप लगायो, ‘तेरो कारणले हो नि, मान्छेले आज योग र आध्यात्म बिर्सिदै गएको छ। प्राणीमध्ये श्रेष्ठ मानवबाट पृथ्वी सुन्दर बन्नेछ भन्ने आशा थियो। ऊ नै अशान्त, भय र विवशतामा बाँचिरहेको छ।’
प्रकृतिले सही थाप्दै भनिन्, ‘हो नि, मानव जीवन मात्र हो र? यिनीहरूले त हामी प्रकृतिमाथि पनि समस्या थोपरेका छन्। हावा, पानी, माटो एकैसाथ प्रदूषित भएका छौँ।’
दुवैका कुराले विज्ञान रुष्ट भयो र भन्यो, ‘यसमा मेरो के दोष? मलाई प्रयोग गर्ने मानव चेतनालाई भन न! म त ज्ञान र विवेकले सही प्रयोग गरे वरदान हुन्छु, गलत प्रयोग गरे श्राप!’
प्रकृतिले असन्तोष जाहेर गर्याे, ‘मैले जीवनलाई चाहिने सम्पूर्ण कुरा त दिएकै थिए। यी मानिहरूलाई ठूलो हुने र भौतिक सुविधा भोग्ने प्रतिस्पर्धा बढ्यो। उनीहरूको आफ्नै कारणले त हो, सृष्टिका अन्य प्राणीको तुलनामा सुख शान्ति गुमाउनुपरेको छ।’
विज्ञानले प्रकृतिलाई लोपार्दै भन्यो, ‘ईस्! मेरा वरदानबाट पृथ्वीमा कति सभ्यता र विकास भएको छ, ध्यान दिएको छस्?’
धर्मले घमण्ड गर्याे, ‘तिमीहरूले जति फुर्ति गरे पनि आपत विपत पर्दा मान्छेले हे भगवान! भनेको सुनेका छैनौ?’
अलि पर बसेर उनीहरूका कुरा सुनिरहेको मानिसले सोच्यो, ‘त्रिशक्ति मिलेर राम्रो विषयको उठान गरे भनेर कान थापेको त! थुइक्क, यिनीहरू पनि अन्त्यमा हाम्रा नेता जस्तै झगडा पो गर्न थाले।’
२) आतङ्क
‘लु जा! बल्ल भाउ भेटे, बज्याहरूले!’ ठूलै युद्ध जितेको हाउभाउमा उनी बोलिन्।
श्रीमान् उनलाई हेरेर हाँस्न थाले। उनी झन थप्न थालिन्, ‘कम्ता उपद्रो गरेका थिए त? छोराछोरीको नयाँ लुगा, नयाँ किताब बिगारेर उधुम मचाउनेहरूलाई उपचार गरेरै छाडियो।’
श्रीमानले खित्का छाड्दै भने, ‘हाम्रा घरमा मात्र हो र? जहाजमा पसेर उडान स्थगित गर्ने, उडिरहेका जहाजलाई आकस्मिक अवतरण गर्न बाध्य पार्ने यी उपद्रियाहरू पो हुन् त!’
उनी अलि गम्भीर भइन् र भनिन्, उता पाकिस्तानको संसद भवनमा छिरेर पोहोर निकै आतङ्क मच्चाएका थिए रे!’
उनी एक्कासी कराए, ‘एउटा जेमराज यहाँ नै आएर ढल्यो। ऊ अर्को पनि!’
उनले चिन्ता व्यक्त गरिन्, ‘बिष परेर भटाभट मर्न थालेका यी सिनोलाई अब कता पो थन्क्याउनु?´
उनी जुरुक्क उठे र भने, ‘कोदालो झिक त! बारीको एक ठाउँमा पुर्नुपर्छ नत्र रोग फैलाउन यी झन् माहिर छन् नि!’
शत्रु नाश गरेकोले उनी दङ्ग परिन्। श्रीमान भने एकोहोरो भए। विषले असर गरेको हो कि? भनेर उनी आत्तिदै घच्घच्याउन थालिन्।
बौरिएझैँ गरेर उनले भने, ‘घरका चारखुट्टे, अज्ञानी मुसालाई त तह लाइयो तर राज्यका दुईखुट्टे मुसाहरूलाई के गर्ने? भनेर चिन्तन पो गरिराको त!’
.jpg)
३) भय
‘जन्म र मृत्यु भनेका शाश्वत कुरा हुन्। जन्मेपछि मर्नै पर्छ भन्ने बुझेर पनि किन कतिपय मानिसलाई मृत्यभय भएको होला?’ एक वृद्धले प्रश्न राखेँ।
सत्सग चलिरहेको थियो। प्रकाण्ड विद्वान जीवन दर्शनबारे लगातार ज्ञान प्रवाह गरिरहेका थिए। प्रश्न आउनासाथ उत्तर दिन उनको ध्यान केन्द्रित भयो।
उनले भने, ‘कर्मको आधारमा मान्छे सज्जन र दुर्जन हुन्छ। पापकर्म गर्ने दुर्जनहरू दु:ख पाएर मर्छु कि भनेर ससंकित हुन्छन् र मनमा मृत्यभय पाल्छन्। सज्जनहरू कहिले पनि मृत्यलाई भय ठान्दैनन्।’
एकाएक सभाहलमा खुसुरफुसुर चल्यो। छेउमा बसेकाहरू एकापसमा टिप्पणी र चर्चा गर्न थाले।
वृद्धले छेउमा बसेको आफ्नै दौँतेरीलाई उनले भने, ‘मैले जागिरे जीवन हुँदा कति दुश्कर्म गरेँ। म भगवान मान्दिनँ। म नास्तिक हुँ, दुर्जन हुँ तर पनि म मृत्युसग डराउँदिनँ।’
साथीले भन्यो, ‘मर्ने बेलामा रोगले सताएर, दुर्घटनामा परेर अशक्त भएर दुख पाइन्छ कि? भन्ने त्रास सबैलाई हुनु स्वभाविक हो।’
दुई जनाको बीचमा मृत्युभय `हुन्छ र हुँदैन´ भनेर तर्कवितर्क चल्यो। लामै समयसम्म चर्काचर्की परेपछि प्रवचन दिने विद्वानले दुवै जनालाई आफु नजिक बोलाए र सोधे, ‘तिमीहरू दुवै डाँडापारिका जून भैसक्यौ। भन त, तिमीहरूको अन्तिम इच्छा के छ?’
साथी बोल्न नपाउँदै वृद्धले प्रभुलाई सम्झेर भने, ‘हे प्रभु! म सहज मृत्यु वरण गर्न पाऊँ।’
(लघुकथाकार केसीकाे ‘पाहुर ’लघुकथासंग्रहमा सङ्गृहीत)
प्रकाशित: २२ कार्तिक २०८२ १२:४८ शनिबार





