२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

शुक्रबार फत्तेमानको जन्मजयन्ती, पलेँटीमा सम्झना गरिने

हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक गायक फत्तेमानको सम्झना गरिने भएको छ। संजोगले शुक्रबार, नोभेम्बर २८ तारिख गायक फत्तेमानको जन्ममिति पनि हो।  

पलेँटीमा गायक फत्तेमानसँग लामो संगत गरेका संगीतकार आभासले फतेमानका सम्बन्धमा निबन्ध-वाचन गर्नेछन् ।  

फत्तेमान नै किन? भन्ने प्रश्न गर्दा पलेँटी संयोजन गर्दै आएका संगीतकार आभास भन्छन्,'फत्तेमान दाइसँग हामीले लामो संगत गर्यौ । त्यसैले उहाँसँग जोडिएका धेरै सम्झनाहरू छन् । तिनलाई बेलाबखत कोट्टाइ राख्नुपर्छस जोगाइ राख्नुपर्छ । झन् यसपालि त उहाँको जन्म मितिकै दिन पलेँटी पर्न गयो । त्यसैले गीतहरू मार्फत नै उहाँको सम्झना गरौँ भन्ने भयो ।'

पलेँटीसँग आफ्नो संगतबारे फत्तेमानले व्यक्त गरेको अभिलेख भेटिन्छ । उनले भनेका थिए, 'नेपालयले वीरेन्द्र अन्तर्राष्ट्रिय भवनमा मलाई पहिलोपाली स्टेजमा उतार्‍यो, त्यसबाट मलाई माया गर्ने धेरै श्रोता पाएँ मैले । फेरि पनि मौका पाउँ, माया पाउँ । स्वास्थ्यले साथ दिउन्जेल गाउनेछु ।'

फत्तेमानको पुरानो सोही भनाइलाई उल्लेख गर्दै कार्यक्रम संयोजक आभास भन्छन्, 'यो कार्यक्रम फत्तेमान दाइप्रतिको माया पनि हो । उहाँ भौतिक रुपमा हामी माझ नरहे पनि सृजनामार्फत जीवित हुनुहुन्छ ।'

पलेँटी आयोजना गर्दै आएको संस्था नेपालयले गायक फत्तेमानसँग सन् २००२ देखि संगत सुरु गरेको हो । सन् २००२ को अगस्ट १० मा नेपालयले 'गायक फत्तेमान साँझ'को आयोजना गरेको थियो । हालको संसद भवनमा सम्पन्न भएको सो कार्यक्रम फत्तेमानको जीवनकै पहिलो एकल साँझ थियो । संगीतकार आभासले नै सो कार्यक्रमको संगीत संयोजन गरेका थिए ।  

पलेँटी सन् २००५ देखि सञ्चालन हुँदै आएको लघु-साङ्गीतिक कार्यक्रम हो । पलेँटी अन्तर्गत पनि गायक फत्तेमानले फरकफरक समयमा तीनपल्टसम्म एकल गायन प्रस्तुत गरेका थिए ।  

कार्यक्रममा फत्तेमानले गाएका एक दर्जनभन्दा बढी गीतहरू प्रस्तुत हुनेछन् । जसलाई पलेँटी टिमले हप्ता दिनदेखि अभ्यास गरेर तयार पारेका छन् ।  

पलेँटी कार्यक्रम यही नोभेम्बर महिनाको अन्तिम शुक्रबारस २८ तारिख र २९ तारिखस शनिवारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको 'आर'सालामा हुने यस कार्यक्रमको टिकेट अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।

प्रकाशित: ११ मंसिर २०८२ १८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App