म मरे पनि,
मेरा प्यारा साथीहरू सधैं बाँचिरहनु
आफ्नो र घरपरिवारका लागि,
समाज र मातृभूमिको खातिर,
सपना पूरा गर्न पसीनाको पूजा गरिरहनु।
बिहानीको पहेंलो किरणभन्दा अघि उठ्नु,
शरीर स्वस्थ र मन उत्साही राख्नु,
सधैं सकारात्मक विचार बोकी
स्वच्छ भावनाको नदी बगाउनु।
रातकाे शीतल जूनभन्दा पनि उज्यालो बन्नु,
कसैले गरेको गुन अमूल्य मान्नु,
प्रगतिको बाटो कहिल्यै नछोड्नु -
म मरे पनि, तिमीहरू बाँचिरहनु।
आफूभित्रको ऊर्जा, ज्ञान, बुद्धि र विवेक
सबैलाई एकैसाथ जागृत पार्दै
प्रविधिको शिखर छोइदिनु,
जहाँ रविको प्रकाश पुगेको छैन,
जहाँ ज्ञानको ज्योति अझै बल्न बाँकी छ,
त्यहाँ पुगेर आकाशमा दीप प्रज्वलन गर्नु।
अचेतन मनमा चेतनाको उज्यालो भरिदिनु,
मेरा प्यारा साथीहरू,
म मरे पनि, तिमीहरू बाँचिरहनु।
सत्कर्मको बाटो कहिल्यै नत्याग्नु,
श्रमलाई सधैं श्रद्धासाथ अपनाउनु,
अन्याय र अत्याचार कहिल्यै नसहनु।
मेरो बलिदान र रगत सम्झनु,
त्यो रगतले अमर अक्षरमा लेखिदिनु -
‘मेरो देश विश्वकै सुन्दर र समुन्नत छ ’ भनेर।
शिरमा उज्यालो चन्द्रमा बोकेर,
अग्निजस्तो आँखा र तेजोमय मुहार लिएर,
मेरा प्यारा साथीहरू,
अगाडि बढ्नुस् है-
सपना, होस र जोशका पखेटा फिँजाएर।
दिक्तेल रुपाकोट मझुवागढ-६, नेर्पा, खोटाङ।
प्रकाशित: १५ कार्तिक २०८२ १३:१० शनिबार





-600x400.jpg)