प्रतिनिधिसभा सदस्य चन्द्रमोहन यादवले सभामुखमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सम्बन्धबाट अलग हुन नसकेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै यादवले पछिल्ला केही दिनदेखि प्रतिपक्षी दलहरूले उठाउँदै आएका विषयमा सभामुखको भूमिकाप्रति प्रश्न उठाए। उनले संसद केवल इँटा र सिमेन्टले बनेको भवन नभई तीन करोड नेपालीको भावना, आशा र आवाज अभिव्यक्त हुने थलो भएको बताए।
‘केही सेकेन्डका लागि आँखा बन्द गरेर सोच्ने हो भने यो भवनले जीवन्त इतिहास बोकेको अनुभूति हुन्छ। यहाँ तीन करोड नेपालीको भाषा र भावना बोल्छ,’ यादवले भने।
प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यादवले त्यसबारे सभामुखले रुलिङ गर्नुपर्ने माग गरे। उनले जनताको आशा र भरोसाको केन्द्र मानिएको संसदप्रति विश्वास कमजोर बनाउने काम भइरहेको दाबी गरे।
सभामुखलाई लक्षित गर्दै उनले भने, ‘सभामुख महोदय हाम्रो गरिमामय कुर्सीमा बस्नुभन्दा पहिले एउटा राजनीतिक दलसँग सम्बन्धित हुनुहुन्थ्यो। अहिलेसम्म तपाईंले पहिले आबद्ध रहेको रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो?’
यादवले संसदको ‘गार्जियन’ का रूपमा सभामुखले सदनको गरिमा र सम्मान बढाउनुपर्ने दायित्व भए पनि त्यसअनुसार भूमिका निर्वाह गर्न नसकेको बताए।
यादवको अभिव्यक्तिपछि सांसद गणेश कार्कीले नियमावलीको दफा २१ (ख) अनुसार नियमापत्ति जनाएका थिए। उनले सभामुखमाथि गरिएको टिप्पणी संसदीय मर्यादा विपरीत रहेको भन्दै आपत्ति जनाए।
प्रकाशित: ३ असार २०८३ १२:०१ बुधबार





