विनयराज पौडेलको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘अक्षरा’ को छायांकन सकिएको छ। कलाकार तथा प्राविधिकहरूको कडा मिहिनेतका कारण पूर्व निर्धारित कार्यतालिकाअनुसार नै ३७ दिनमा चलचित्रको सम्पूर्ण छायांकन पूरा भएको हो।
चलचित्रका निर्देशक पौडेलले सबैको बलियो सहकार्य र अथाह मिहिनेतले सहज रूपमा तोकिएकै समयभित्र सुटिङ पूरा भएको बताउँदै सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन्।
चलचित्रको सुटिङ समापन गर्नुअघि गत सोमबार मात्र निर्माण टोलीले तीज पर्वलाई लक्षित गर्दै तयार पारिएको “नाँचौं न बरिलै’ बोलको गीतको छायांकन गरेको थियो।
उक्त गीतमा सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीत र समीक्षा अधिकारीको स्वर रहेकाे छ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सिर्जना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य अभिनय रहनेछ।
यसैगरी चलचित्रमा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानालाई पनि देख्न सकिनेछ।
चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्। चलचित्रको कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको छ।
दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रमा मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको वेशभूषा र सुमन काफ्लेको निर्माण व्यवस्थापन छ।
यस्तै मुख्य सहायक निर्देशकमा दिवसविक्रम बोहोरा र सहायक निर्देशकहरूमा मनोज बोहोरा र सौरभ शाह छन्।
यसअघि दर्जनौँ नेपाली चलचित्रहरूमा सहायक निर्देशकका रूपमा लामो अनुभव बटुलिसकेका विनयराज पौडेलले यसै चलचित्रमार्फत स्वतन्त्र निर्देशकका रूपमा डेब्यु गर्न लागेका हुन्।
राकेश दाहालले पोस्टर डिजाइन गरेको यो चलचित्र आउँदाे भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रलाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्ने जिम्मा लिएका छन्।
प्रकाशित: ३ असार २०८३ ११:४७ बुधबार





