नेपाल स्रष्टा समाजले वरिष्ठ समालोचक तथा निबन्धकार प्राडा लक्ष्मणप्रसाद गौतमको ‘समवेत’ निबन्धसंग्रहको लोकार्पण गरेको छ।
वरिष्ठ साहित्यकार पवन आलोक, समालोचक प्राडा ज्ञानु पाण्डे, वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र निबन्धकार गौतम लगायतले सामुहिक रूपमा कृतिकाे लोकार्पण गरेका हुन्।
वरिष्ठ समालोचक प्रमोद प्रधान कृतिबारे समीक्षात्मक टिप्पणाी गरेका थिए। प्रधानले २१ निबन्धमा निबन्धकारले आफ्नाे कवि व्यक्तित्वकाे प्रभाव छाेड्दै सम्बोधन शैलीमा सुन्दर ढंगले निबन्ध लेखेकाे बताए। गौतमका निबन्धहरूमा निबन्धकार र पाठकलाई नजिक्याउने अदभूत खुबी भएकाे पनि उनले बताए।
त्यस्तै प्राडा ज्ञानु पाण्डेले समवेतका निबन्धसंग्रहकाे समीक्षात्मक टिप्पणी गरेकी थिइन्। यथार्थता, सकारात्मक सन्देश, सरलता, गहनता, काव्यात्मक प्रभाव, संस्कारप्रति चासाे, विषय विविधता जस्ता विशेषताले निबन्धहरू ओजिलाे बनेकाे बताइन्।
निबन्धकार गौतमले निबन्धमा आफैंलाई प्रस्तुत गरेको बताए। उनले समालोचनाभन्दा निबन्ध लेखनमा धेरै साधना गर्नुपर्ने बताए।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले नेपाली साहित्यकाे आत्मपरक निबन्धमा क्षेत्रमा गौतमकाे उपस्थिति उत्सवमय भएको बताए।
उक्त लोकार्पण कार्यक्रममा समाजका संरक्षक पवन आलोकले शुभकामना मन्तव्य व्यक्त गरे।

संस्थाका सदस्य मधु पाठकले सञ्चालन र सचिव प्रकाश घायलले स्वागत मन्तव्य प्रस्तुत गरेकाे लाेकार्पण कार्यक्रममा जयदेव भट्टराई, तुलसीहरि काेइराला, प्रदीप सापकाेटा, बाेधराज पाैडेल, मुकुन्दराज शर्मा, राधेश्याम लेकाली, राजेश खनाल, सिन्धु गाैतम, सुमन साैरभ, शंकर भारती, ज्ञानु अधिकारी जस्ता स्रष्टाकाे उपस्थिति रहेकाे थियाे।
प्रकाशित: २५ आश्विन २०८२ १३:०८ शनिबार





