नेपाली लेखक संघ कोशी प्रदेश समितिले लघुकथाकार महेन्द्र नेउपानेकाे ‘चुनावी सेरोफेरो’ दाेस्राे लघुकथासंग्रहको विमर्श गरेको छ।
विराटनगरमा नेपाली लेखक संघ कोशी प्रदेश समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा राष्ट्रियगान र विधागत लघुकथागान बजाएर कार्यक्रम सुरू गरिएको थियो। संघका प्रदेश सचिव वासुदेव पोखरेलले उपस्थित सबैलाई स्वागत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा पत्रकार गिरिराज आचार्यले नेपाली समाजमा चुनाव केन्द्रित प्रवृत्ति, राजनीतिक स्वार्थ र नागरिक चेतनाको अवस्था लघुकथामार्फत सशक्त रूपमा उठाएको बताए।
संघका प्रदेश अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार कृष्ण अधिकारीले कृतिको लेखन समय, लघुकथाको प्रभाव, स्वरूप र सन्देशबारे समीक्षात्मक टिप्पणी गरेका थिए।
कार्यक्रममा कविराज न्यौपाने, विराटनगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, साहित्यकार विश्वराज अधिकारी, कृष्ण पोखरेल तथा बलराम पोखरेल लगायतले मन्तव्यको क्रममा संग्रहको संरचना, भाषाशैली, व्यङ्ग्य चेतना र समसामयिक सान्दर्भिकताबारे बाेलेका थिए।
वक्ताहरूले वर्तमान चुनावी संस्कृतिको यथार्थ चित्रण गर्ने प्रभावशाली कृतिको रूपमा आएको चुनावी सेरोफेरो प्रतिनिधि कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा कृतिकार नेउपानेले चुनावको दौरानमा आफूले देखेका चुनावी संस्कार र घटनालाई लघुकथामार्फत व्यक्त गरेको बताए।
कार्यक्रममा साहित्यकार शुक्रराज कुवर, श्रीप्रसाद पोखरेल, रमेन्द्र कोइराला, सीता रेग्मी, सरिता भट्टराई, रोशन पराजुली, राजन कार्की, शारदा दहाल भण्डारी, कृष्णप्रसाद भण्डारी, डा. हरिहर भण्डारी, रमेश काफ्ले, भवानीप्रसाद पोखरेल, निर्मला कोइराला, दिङलाली कान्छो, पुष्पा सायरा, मुनाल पोखरेल, स्वयम्भूनाथ कार्की, सीमा आभास, चूडामणि नेपाल अकिञ्चन लगायतले पाठक प्रतिक्रिया प्रस्तुत गरेका थिए।
संघका प्रदेश महासचिव मीनकुमार नवोदित र कोषाध्यक्ष लक्ष्मी रायमाझीले चलाएकाे उक्त कार्यक्रममा मोरङ र सुनसरीका प्रबुद्ध लेखकहरूले उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा आयोजकले कृतिकार नेउपाने दम्पत्तीलाई माला र सम्मानपत्रले सम्मान गरेको थियो। साथसहयोग पुर्याउने उपस्थित शुभचिन्तकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
प्रकाशित: १० जेष्ठ २०८३ ०८:५७ आइतबार





-600x400.jpg)