९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘दृष्टिगोचर’ लघुकथासंग्रहको परिचर्चा

साँझ स्रष्टा साँझ अमेरिकाले जुम प्रविधि मार्फत लघुकथाकार इन्दिरा चापागाईकाे 'दृष्टिगोचर' लघुकथासङ्ग्रहको परिचर्चा गरेकाे छ।

निर्मला बरालको सभाध्यक्ष र विश्वराज अधिकारीकाे सञ्चालनमा भएकाे उक्त कार्यक्रममा लघुकथा समाज नेपालका पूर्व अध्यक्ष गोपाल अश्क र हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसीले लघुकथाकारलाई शुभकामना प्रस्तुत गरेका थिए।

लघुकथा गान बजाएर शुरू गरिएको कार्यक्रममा साहित्यकार रञ्जु खनालले कृतिकाे परिचर्चा गर्दै सबै उमेर समूह पाठकका लागि कृतिमा पठनीय लघुकथा रहेको बताइन्।

लघुकथाविद् खेमराज पोखरेलले कृतिकार परिवर्तनशील एवं समयसापेक्ष सर्जक हुन् भन्दै यौन विषयमा सशक्त लघुकथाकथाहरू लेख्नु हाम्रो समाजमा निकै साहस चाहिने बताए।

त्यस्तै परिचर्चाकार डा. शेखरकुमार श्रेष्ठले विषयवस्तुको विविधता र उत्तर आधुनिकता समेत छुनु कृतिको सबल पक्ष भएको बताए। उनले सुधारको मार्ग औंल्याउँदै धर्म, संस्कृति र देशप्रेममा आँच नआउने गरी लेख्न, कल्पनाशीलता, निर्वयक्तिकता, कलात्मकताको ख्याल गर्न र अझ अनुभूतिप्रधान बनाउन सुझाए।

सिर्जना अभियानका सचिव ध्रुव मधिकर्मीले पहिलो कृतिभन्दा दोस्रो कृति परिष्कृत र पठनीय भएकाे बताउँदै लघुकथाकारलाई बधाई दिए। उनले लेखनमा संवादमा कम ध्यान दिन, विषयको गम्भीरता ख्याल गर्न र अझ प्रभावकारी प्रस्तुति गर्न पनि सुझाए।

आख्यानकार मन्दिरा मधुश्रीले केही लघुकथामा समयसापेक्ष र पात्रअनुकूलको भाषा प्रयोग नभएको र व्याकररणीय त्रुटि भएको सुधार गर्नुपर्ने पक्ष औंल्याउँदै कृतिमा यौनको स्थान र स्वरूप समाजसापेक्ष एवं समयसापेक्ष रहेको निकै महत्त्वपूर्ण र साहसी कदम भएकाे बताइन्।

लघुकथाकार मनीषकुमार शर्मा ‘समित’ ले लघुकथाहरू भावनात्मक रूपमा पाठकलाई छुन सक्षम, सशक्त, सन्देशमूलक, व्यङ्ग्यात्मक प्रस्तुति, कल्पनाशीलता र नवीनताले विषयवस्तुको कसीमा लघुकथासङ्ग्रह अब्बल रहेको बताए।

लघुकथाकार शान्ता तिम्सिनाले संग्रहकाे 'पीडा' लघुकथाको वाचन र टिप्पणी गरिएकाे थियाे।

कृतिकार चापागाईंले पाएकाे सुझाव अँगाल्दै आयोजक, परिचर्चाकार लगायत सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेकी थिइन्।

प्रकाशित: १६ भाद्र २०८२ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App