२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

निर्देशक चन्द्र पन्तको तेस्रो फिल्ममा पनि अभिनेता पल शाह अनुबन्धित

निर्देशक चन्द्र पन्तको तेस्रो फिल्ममा पनि अभिनेता पल शाह अनुबन्धित भएका छन्। शुक्रबार फिल्म ‘आ बाट आमा २’ को छायांकनको पहिलो चरण (सुटिङ) सकिएलगत्तै निर्देशक पन्तले शाहलाई नाम तय नगरिएको (अनटाइटल्ड) नयाँ फिल्मका लागि अनुबन्ध गरेका हुन्। यस फिल्मको नाम, अन्य कलाकार तथा प्राविधिकहरूको विवरण भने अझै सार्वजनिक गरिएको छैन।

निर्देशक पन्तले भने, "अहिले तेस्रो फिल्मका लागि पल शाहलाई मात्र अनुबन्ध गरेका छौँ। यो हाम्रो तेस्रो सहकार्य हो। अन्य कलाकार तथा प्राविधिकहरूको नाम भने बिस्तारै सार्वजनिक गर्दै जानेछौँ।"

उनले ‘आ बाट आमा २’ को सुटिङ लगभग सकिएकाले अब डबिङतर्फ लाग्ने जानकारी दिए। उनका अनुसार नयाँ फिल्मको हकमा सबै कलाकार तथा प्राविधिक फाइनल भएपछि मात्र छायांकनको औपचारिक घोषणा गरिने छ।

निर्देशक पन्त र अभिनेता शाहको यो तेस्रो सहकार्य हो। गत वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘आ बाट आमा’ बाट सुरु भएको उनीहरूको सहकार्य तेस्रो फिल्मसम्म पुगेको हो।

पहिलो सहकार्यबाटै यो जोडीलाई राम्रो सफलता मिलेको छ, किनभने उक्त फिल्मले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै निर्मातालाई सुरक्षित (सेभ) बनाएको थियो।

उनीहरूको दोस्रो सहकार्य रहेको र भर्खरै छायांकन सकिएको फिल्म ‘आ बाट आमा २’ आउँदाे असोज ३० गतेबाट प्रदर्शनमा आउँदैछ। नेपालीहरूको महान् चाड बडादसैँको अवसर पारेर प्रदर्शन गर्न लागिएको यस फिल्मलाई लिएर निर्माण पक्ष निकै उत्साहित छ।

यो फिल्म प्रदर्शनमा आउनु अगावै यसको जापान प्रदर्शन अधिकार (डिस्ट्रिब्युसन राइट्स) बिक्री भइसकेको छ। जापानका लागि प्रदर्शन अधिकार ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ ले खरिद गरेको हो।

 यसअघि यो फिल्मको अमेरिका र क्यानडाको राइट्स ‘डोको फिल्म्स’ ले महँगो रकममा खरिद गरिसकेको छ। अमेरिका, क्यानडा र जापान जस्ता देशमा प्रदर्शन अधिकार बेलैमा सुरक्षित हुनुले वैदेशिक बजारमा यस फिल्मप्रति वितरक र दर्शकको उत्साह उच्च देखिन्छ।

आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का,दिलिप अखेडाको मुख्य भूमिका रहने छ।

निर्देशक पन्तकै लेखन र पटकथा रहेको यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्। ‘दसैँको जमरा र आमाको पर्खाइको कथा’ स्लोगन राखिएको यस फिल्म पारिवारिक एवं भावनात्मक कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ। नेपालमा यस फिल्मको वितरण ‘आरआर फिल्म्स’ ले गर्दैछ भने डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ ले लिएको छ।

प्रकाशित: ७ असार २०८३ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App