१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

स्याङ्जामा देवकोटा साहित्य उत्सव

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको सन्दर्भमा स्याङ्जामा देवकोटा साहित्य उत्सव - २०८२ भएकाे छ।

स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका पुस्तकालय, भीरकोट नगरपालिका - ७, बलमाटा, स्याङ्जाले संयुक्त रूपमा आयोजना गरेकाे कार्यक्रममा विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, विक्रम संवत, मुनाल गोदार र शोभाकान्त रेग्मीले मुक्तक वाचेका थिए।

देवकोटा साहित्य उत्सव - २०८२ का संयोजक तथा स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव मिलन समीरले सहजीकरण गरेको कार्यक्रममा सचिव डोलराज पौडेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

त्यस्तै कार्यक्रममा लक्ष्मी काफ्ले, दिलीप तिवारी, खगेन्द्रजंग थापा, कृष्ण खड्का, नारायण न्यौपाने र झवनाथ बस्यालले गजल वाचेका थिए।

भीरकोट नगरपालिका-७ को विशेष सहयोगमा भएकाे देवकोटा साहित्य उत्सवमा चिन्तु गिरी, अग्निकुमार रेग्मी पल्लव, अनन्त अर्याल, दुर्गाबहादुर रोकाहा, शालिकराम लम्साल, चण्डिकाप्रसाद भट्टराई, लोकहरि पाण्डेय क्षितिज, ध्रुवप्रसाद शर्मा पङ्गेनी, यमप्रकाश खनाल, हरिप्रसाद पङ्गेनी, ढालबहादुर केसी, राजेन्द्रकुमार श्रेष्ठ, इन्द्रप्रसाद पाठक, कमला अधिकारी सिग्देल, प्रेमबन्धु सुवेदी, प्रकाश न्यौपाने चौरासपति, राजु गैह्रे, शम्भु अर्याल, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, सुबोध रेग्मी, हिमाङ्शु अर्याल र हिमालयजंग बानियाँले कविता वाचेका थिए।

कार्यक्रमकाे समारोहको समुदघाटन गर्दै भीरकोट नगरपालिका- ७ का वडाध्यक्ष ताराप्रसाद अर्यालले नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सन्दर्भमा आयोजना गरिएको यस काव्य उत्सवको विशेष महत्त्वपूर्ण अर्थ रहेको बताए।

यसरी गरिने साहित्यिक कार्यक्रमको माध्यमबाट समग्र स्याङ्जाको साहित्यलाई उचाइमा पुर्‍याउन सहज हुने बताउँदै वडाको तर्फबाट आउँदाे दिनमा पनि यस्ताे महत्त्वपूर्ण कार्यक्रममा सहयोग गर्ने उनले प्रतिबद्वता व्यक्त गरे।

स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाले स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जा जिल्लाभर यसरी नै सहकार्य गर्दै समग्र स्याङ्जा जिल्लाको साहित्यिक उन्नयनका लागि अभियानकै रूपमा अगाडि बढ्ने योजनामा रहेको र आउँदाे दिनमा पनि यस्तै सिर्जनशील कार्यक्रमको माध्यमबाट स्याङ्जा साहित्य प्रतिष्ठानको गौरव र गरिमालाई थप उचाइमा पुर्‍याउने प्रतिबद्वता व्यक्त गरे।

कालिका पुस्तकालयका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष श्यामप्रसाद अर्यालले स्याङ्जा साहित्य प्रतिष्ठानसँग यसरी जोडिएर स्थानीयस्तरमा गरिने साहित्यिक कार्यक्रमको माध्यमबाट पक्कै पनि स्याङ्जाको साहित्यिक माहोल अझ विस्तारित हुने विश्वास व्यक्त गर्दै आउँदाे दिनमा पनि यस्ता सिर्जनशील गतिविधिलाई निरन्तरता दिइने जानकारी गराए।

कार्यक्रममा सहभागी कवि, गजलकार र मुक्तककारहरूलाई मायाको चिनो अर्पिएकाे थियाे। त्यस्तै मिलन समीरले कालिका पुस्तकालयलाई २० हजार रुपियाँ बराबरको साहित्यिक कृतिहरू उपहारस्वरूप प्रदान गरेका थिए।

स्याङ्जा साहित्य प्रतिष्ठानको स्थापना वि.सं. २०५२ सालमा भएको थियो। स्याङ्जा साहित्य प्रतिष्ठानको मुखपत्रको रूपमा प्रकाशित हुँदै आएको रजस्थल साहित्यिक त्रैमासिक पत्रिकाको १०३ अंक प्रकाशित भइसकेको छ।

कालिका पुस्तकालयको स्थापना २०२६ साल जेठ २६ गते प्रेमनारायण अर्यालको अध्यक्षतामा भएको थियो भने आधिकारिक रूपमा दर्ता २०७६ सालमा श्यामप्रसाद अर्यालको अध्यक्षतामा भएको थियो। कालिका पुस्तकालय भीरकोट नगरपालिका- ७, बलमाटास्थित कालिका क्याम्पससँगै रहेको छ।

प्रकाशित: २३ कार्तिक २०८२ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App