१८ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘वरिष्ठ बलराम’मा दयाहाङ

अभिनेता दयाहाङ राईले चलचित्र ‘वरिष्ठ बलराम’ मा आवरणमा पनि केही फरकपन देखाउने प्रयास गरेको बताएका छन्। अधिकांश चरित्रमा गाउँले दुःख पाएको गरिब क्यारेक्टरमा देखिने दयाहाङ ‘वरिष्ठ बलराम’ मा शहरिया धनी क्यारेक्टरमा देखिने भएका छन्।

कार चढेर ५/७ जना क्यारेक्टर अगाडिपछाडि लगाएर रवाफ देखाउने क्यारेक्टरमा ‘वरिष्ठ बलराम’मा दयाहाङ देखिने छन्। त्यही भएर उनले आवरणमा पनि केही फरकपन देखिने उनले बताएका हुन्। यो आवरण ट्रेलरमा पनि देखिएको छ। उनका यसअघिका सिनेमाको आवरणका तुलनामा यसमा निकै भिन्न देखिएको छ।

कोट, पाइन्ट र टाईमा ठाँटिएर हिंड्ने कमै क्यारेक्टर मात्र उनले गरेका छन्। “खासमा क्यारेक्टरको आवरणभन्दा पनि त्यसको भित्री पक्ष के हो त्यसमा पसेर काम गर्न मलाई मजा लाग्छ, मैले गर्ने पनि त्यही हो,” दयाहाङ भन्छन्, “पहिलोपटक यो चलचित्रको स्क्रिप्ट पढ्दा पनि मलाई अहिले मेरो क्यारेक्टरले लगाए जस्तो गेटअप सोचेको थिइनँ।”

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्। निर्देशक पौडेलले दयाहाङलाई सुट र टाइमा ठाँटिएर हिंड्ने क्यारेक्टर हो मैले सोचेको भने। भित्री पक्ष अर्कै भए पनि बाहिर अर्कै अथवा म वरिष्ठ हुँ भन्ने देखाउने क्यारेक्टर भएकाले दयाहाङलाई यो आवरण पनि हुन्छ भन्ने लाग्यो।

त्यसपछि दयाहाङले लगाए चितवनको प्रचण्ड गर्मीमा टाई, सुट र कोट, जुन उनका लागि सिनेमामा केही नौलो त देखियो नै। झलक्क हेर्दा बिलकुल नौलो हो कि भन्ने पनि देखियो।

“आवरणमा केही फरक थियो तर असजिलो थिएन। अभिनय हो, जस्तो पर्‍यो त्यही गर्ने हो,” दयाहाङ भन्छन्, “बरु कोट लगाउँदाचाहिं साँच्चै कठिन भएको थियो। चितवनको गर्मीमा कोट लगाउँदा कम्ता होइन गर्मी। कोटचाहिं मेरा लागि चुनौती जस्तै बनेको थियो।”

वरिष्ठ देखाउन चाहिरहने र त्यसमा अरूले दक्खल दिन खोज्दा त्यसको प्रतिकार गर्दै खोलामा रहेको आफ्नो हैकम कायम राख्ने चरित्रमा ‘वरिष्ठ बलराम’ मा दयाहाङ छन्।

दयाहाङको एकाधिकार खोसेर त्यसको लाभ आफू पनि उठाउने दाउमा रहेका विजय बरालसँगको टकराव नै ‘वरिष्ठ बलराम’ को कथा हो। यी दुई कलाकार ‘वरिष्ठ बलराम’ का मुख्य पात्र हुन्।

सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकाको दिन रिलिज हुँदै छ।

‘वरिष्ठ बलराम’ मा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको मुख्य भूमिका छ।

सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, प्रमोद अग्रहरि, लबिस गडताैला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई र कुन्दन थारुको पनि अभिनय रहेकाे छ। त्यस्तै चलचित्रको बालकलाकारमा सुजेन थापा र साइसा गौचन छन्।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन्।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन्। कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन्। लाइन प्रोडुसरमा राम विष्ट छन्।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ।

उक्त चलचित्र काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्दै छ।

प्रकाशित: ३१ आश्विन २०८२ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App