विविधता बीचको एकताको प्रतिक हो। दसैंमा अनेकताको बीचमा एकता हुन्छ। दसैं संस्कार र संस्कृतिको धरोहर हो। यो पर्व बीचमा सिर्जना भएको होइन। यो त आदिम समयदेखि निरन्तर रूपमा आइरहेको छ। मेरो अनुभवमा म जन्मिदादेखि अहिलेसम्म अनवरत रूपमा आइरहेको छ। यो हरेक वर्ष असोज वा कार्तिकको समयमा दैविक शक्ति लिएर हरेक नेपालीको घरघरमा, देवालयमा र मठमन्दिरमा आउँछ। प्रकृतिको मनोरम दृश्यावलोकन गर्न पाइने समय शरद ऋतुमा दसैंको छुट्टै रौनक छ। म आज दसैंको महत्त्व र बाल्यकालको दसैं सम्झिँदै छु। मेरो बाल्यकालमा मलाई बारम्बार दसैंले घच्घच्याउने र तलका चिजले खबरदारी गर्ने कुरा नै अविस्मरणीय बनेका छन्। हुन सक्छ, यो अरूलाई मेल खान्छ।
१. घाँस राख्ने चलनः
खेतबारीमा राम्रो घाँस पलाएको छ भने दसैंलाई साँच्ने चलन थियो। त्यो चलन अहिले पनि छ। किनकि छिटो भारी पुर्याएर अन्य काम गर्न भ्याउने कारणले पनि घाँस साँचेर राख्ने चलन थियो। घाँस छिटो भारी पुग्यो भने छरछिमेकीकोमा जान पाइन्थ्यो। पाहुना आउँदा र आफू पनि माइत, मावल र ससुराल जाँदा वस्तुभाउ भोकै रहँदैनन्। कृषकको मुख्य पेसा वस्तुभाउपालन हो र म पनि कृषकको छोरो भएकाले घाँसको जोहो गर्नु मेरो कर्तव्य र जिम्मेवारी थियो।
२. माटो ल्याउने र छ्याप्ने चलनः
टाढादेखि सेतो माटो र रातो माटो ल्याएर घर छ्यापिन्थ्यो। जुन चलन अझै छ। हामी केटाकेटी छँदा माटो बोक्न र घर छ्याप्न पाउँदा धेरै खुशी हुन्थ्याैं। धारापानीदेखि बोकेको सेतो माटो (कमेरो) र ढाड पिल्सेर छाला गएको अवस्था अनि डाँडापरिदेखि ल्याएको रातोमाटो, हौसेर लिप्न बसेको क्षण र क्रमशः छोड्दै गएको अवस्था सम्झनलायक छ।
कालिमाटी भन्ने ठाउँमा कालोमाटो लिन जाँदा रावाखोलाभित्र पसेपछि रिँगटा लागेर लडेको र साथीहरूले समाएर तारेको र पुल घुमेर धार्नापाँचेक कालोमाटो ल्याएको सम्झना दिलदिमागमा अझै ताजा छ। रातो माटोले लिप्दा लाइन काट्न सक्नु बौद्विकताको पहिचान थियो। जसरी भए पनि आफू बस्ने घर राम्रो हुनुपर्याे।
३.नुनढिकीः
दसैंमा नुनढिकीको पात टिप्न जानु अर्को रमाइलो पक्ष हो। नुनढिकीको पात टिपेर घरमा ल्याएर ढिकीमा कुटेर रस निकालेर पकाएर झ्यालढोका रङ्ग्याउने चलन थियो। त्यो हाल आएर इनामेलले विस्थापित गरेको छ। बुकिनीडाँडाको नुनढिकी र मास्तिरको तारेभिरको अत्यासलाग्दो प्रकृति ती सबै सम्झनाका पात्र बने। खत्रीको काइँलो, साइँलो र म कैयौं पटक नुनढिकीको पात टिप्न जंगल गयौं र पात ल्याएर कालो लगायौं। एक साल त ब्याट्री लगाको भान्दाइ लगायतका पाहुना ढोका र खाँबोमा टाँसिंदा सबै कालो लुगाभरि लागेको सम्झना ताजै छ। नयाँ लुगा मावलमा देखाउनुपर्ने तर कालो लागेपछि के भयो होला त हविगत?
४. चिउरा कुटनुः
म बच्चा हुँदा चिउरा कुट्ने चलन थियो। अहिलेको जस्तो बजारमा चिउरा पाइँदैन थियो। पाए पनि मान्छे किन्दैनन् थिए। १० पाथी चिउरा कुट्न २४ घण्टाभन्दा धेर समय लाग्थ्यो, ३ जना मान्छे चाहिन्थ्यो। पारि दियाले गाउँका ढिकी र वारि भोर्लेनी गाउँका ढिकी ट्याङल्याङटयाङल्याङ गरेर बज्थे। चिउरा कुटेको थाहा हुन्थ्यो। अहिले यो हटेको छ। न भोर्लेनीका ढिकी बजेको सुनिन्छ न दियालेको ढिकी बजेको सुनिन्छ।
५.रक्सी बनाउनुः
म मगर गाउँ, राई गाउँ र तामाङ गाउँमा हुर्केकाे हुँ। ती जातिहरूले रक्सी पार्थे। बिहानदेखि पानी बोक्थे। जुन चलन अझै छ। छोरीचेलीहरू दिक्क मान्थे पानी बोक्नुपर्दा र रक्सी पार्नुपर्दा तर चलन हो जसरी भए पनि गर्नै पर्थ्याे। चाडबाडमा रक्सी नपारे पाहुनालाई के दिनु भन्ने चलन थियो। जुन आज पनि छ। त्यसैले पाहुना सत्कार गर्न पनि रक्सी पार्थे। यहाँ बुद्धिष्ट र किरात धर्मावलम्बीहरूले दसैं मानी एकताको प्रतिक र सदभाव देखाउने चलन हिजो पनि थियो र आज पनि छ।
६.दाउराः
दसैंमा दाउरा थुपार्ने चलन थियो। कम्तीमा पाँचछ दिन दाउरा बोकिन्थ्यो। गाउँभरिका युवायुवतीहरू जिस्किँदै तल्लो दमार, माथ्लो दमार, रावाखोलाको दोभान, तामाधाउ, गोलखाडी र पाताल जाने चलन थियो। सुकेका वा कटमेरा धँगेरा वा सखुवाको दाउरा काटिन्थ्यो। किनकि गुन्द्रुकलाई फाँडो र मासुलाई भात भन्ने उखानअनुसार मासु व्यवस्थित तरिकाले खानुपर्छ र जिउमा लाग्छ भन्ने मान्यता थियो र आज पनि गाउँघरमा छ। म सानाे छँदा मासु खानु त्यत्ति पाइँदैन थियाे।
७. पिङः
पिङ खेल्नु भनेको रमाइलो गर्नु हो। पिङ खेल्दा साथी हुन्थे। मायापिरती बस्न सक्थ्यो। चेलीबेटी पुज्ने चलन थियो। फूलपातीका दिन देउरालीमा पिङ लगाएर कुखुरा, बोको पूजा गरी पिङ पुज्ने चलन अझै छ। चारपिरे रोटेपिङ सम्बन्धको प्रतिक हो। रातभर पिङमा गएर बस्नु, गीत गाउनु र पिङ हल्लाउनु। यो नै मजाको जिन्दगी थियो।
८. केरा काट्नुः
दसैंमा केरा काट्नु र केरा काट्न आफूभन्दा ठूलासँग जानु। दही, चिउरा, केरा र मासु मिलाएर खान दसैं नै पर्खिनुपर्थ्याे। मेरो समयका जेन एक्स बालबालिकालाई चिउरा, केरा भनेपछि हुरूक्क हुने र चामलको भात पनि लोभलाग्दो थियो।
९. दुर्गा पूजाः
मार हान्ने, पूजा गर्ने र देवीदेउता भाक्ने चलन आज पनि छ र हिजो पनि थियो। हतियारमा सान लगाउने र भएभरका फलामका सामग्रीहरू दुर्गापूजामा लगेर राख्नु। मान्द्रोले बेरेर पूजा गर्नु, कसैका देवीघरमा गएर पूजा गर्थे भने कोही कोटगढीमा गएर पूजा गर्थे। यो नै दसैंको रौनक थियो भने धर्म संस्कृतिको जगेर्ना थियो।
गाउँघरमा गएर प्रसाद लिनु वा ग्रहण गर्नु महत्त्वपूर्ण काम थियो। मगर, तामाङ, राई, विक र दर्जीका बालबच्चाहरू क्षेत्रीबाहुनको घरमा चिउराकेरा खान आउँथे र क्षेत्रीबाहुनका बालबच्चाहरू राई, मगर, तामाङ, गुरूङ र भुजेलको घरमा लुकेर जाँड, सुँगुर र राँगाको मासु खान्थे।
माथ्लाघरे बडबाले गाउने मालश्री गीत र बजाउने बाजा बडबाको मृत्युसँगै हरायो तर अहिले पनि झलझली सम्झना छ। अहिले प्रसाद खान पनि युवाहरू गाउँ डुल्न छोडे, चिउरा, केरा सामान्य भयो वा सबैले खान्छन्। दाउरा काट्न पनि तिनै हिजोका बुढाबुढी जान्छन्।
जिस्किंदै हिंडने युवायुवतीहरू विदेशको खाडीमा छन्। दियालेको कोटगढीमा बज्ने बाजा र पड्किने बन्दुक निष्क्रिय बनेको छ गणतन्त्र सँगसँगै। चिउरा नकुटेसम्म दसैं नआउने, परदेशी नआएसम्म दसैं नआउने, रक्सी नपारेसम्म दसैं नआउने, घर लिपपोत नगरेसम्म दसैं नआउने र मासु नकाटेसम्म दसैं नआउने। यसमा जरा गाडेको संस्कार र संस्कृति छ। रीतिरिवाज र चालचलन छ। अहिलेभन्दा म बच्चा हुँदा झन् बढी महत्त्व थियो।
दसैंको अर्को महत्त्वपूर्ण पक्ष भनेको टिका लगाउनु हो। त्यसमा पनि मावलमा गएर लगाको र मावलमा दिएको पैसाको भ्यालु छ। त्यो पैसाको योजना बन्थ्यो। धेरै दाजुभाइ भए कसको धेर र कसको थोर भन्ने होडबाजी चल्थ्यो।
कुमाल्टार मावलबाट आउँदा सिलौरीको पुल तरेर करमको फेदमा ठूलो ढुङ्गामा बसेर मावलकी हजुरआमाले पठाको माल्भाेक केरा खाँदै पैसा गन्दा र नयाँ नोटले कति खुशी प्रदान गर्थ्याे भने भनेर साद्धे छैन।
गडतिरको बाटो घर आइपुगेर आमालाई मेरो यति पैसा भयो भन्दा छुट्टै आनन्द आउँथ्यो। यति घरि केरा काटियो। यति भारी दाउरा ल्याइयो। यति भारी घाँस काटियो। यति धानीको खसी काटियो भन्नु भनेको सान छुट्टै हुन्थ्यो र बढाएर भन्ने चलन पनि थियो र छ।
दसैं आएपछि घरमुनिको बाटो लाम लागेर हिंड्ने मान्छेहरू हेर्न बाटामा जान्थ्यौं भने उनीहरूले बोकेको क्यासेट र लगाएको गित सुन्न आतुर हुन्थ्यौं किनकि हाम्रो घरमा र थोरै मान्छेको घरमा मात्र रेडियो हुन्थ्यो। तिनीहरूले लगाएको अत्तरले बाटो नै मगमग हुन्थ्यो तर अहिले मान्छेहरू गाडी चढेर सजिलै घर पुग्छन्। यात्रा सहज बनेको छ तर सहज भए पनि दसैंमा नै गाउँघर जाने चलन कायमै छ।
दसैं शक्तिको प्रतिक हो र सदाबहार छ। यो आस्थाको धरोहर हो र सबै नेपालीले मानेका छन्। यो भेटघातको अवसर हो र यसको महत्त्व छ। यहाँ सुख, शान्ति र समृद्धिको कामना गरिन्छ र सबैलाई सुख चाहिएको छ भन्ने देखाउँछ। यो विश्वास हो र सबैले पूजापाठ गर्छन्।
यो संस्कार हो र निरन्तर छ। यो संस्कृति हो र त बहुरूपी छ। नयाँ लुगा किनाउँछ र आफन्तहरूलाई चिनाउँछ। भेटघाट गराउँछ। घरआँगन सरसफाइ गराउँछ। बाटोघाटो फँडाउँछ; सरसफाइ गराउँछ। यो सफासुग्घरको चाड हो। आत्मीय चाड हो। खेलकुदको चाड हो। भेटघाटको चाडपर्व हो। आज पनि मौलो, थुम, कोटगढी, मठमन्दिर र देवीघरहरूमा गएर पूजा गरिन्छ। यसले बालबालिकाहरूलाई प्रयोगात्मक शिक्षा दिन्छ र जीवनोपयोगी सिप पनि हासिल गराउँछ।
प्रकाशित: १६ आश्विन २०८२ ०७:४९ बिहीबार





