१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

अब घरमै बसी मोबाइल एपबाटै प्रहरीमा उजुरी दिन सकिने

नेपाल प्रहरीले सर्वसाधारणको सहजताका लागि घर, कार्यालय वा जहाँसुकैबाट पनि मोबाइल एपमार्फत उजुरी तथा निवेदन दिन सकिने व्यवस्था सञ्चालनमा ल्याएको छ।

कुनै घटना हुँदा प्रहरी कार्यालय टाढा भएको, समय नमिलेको वा तत्काल जानकारी गराउनुपर्ने अवस्थामा नागरिकले अब अनलाइन माध्यमबाटै ‘नेपाल पुलिस मोबाइल एप’ मार्फत सहजै उजुरी दिन सक्नेछन्।

यो सुविधा प्रयोग गर्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले ‘प्ले स्टोर’ र आइओएस प्रयोगकर्ताले ‘एप स्टोर’ बाट ‘नेपाल पुलिस एप’ डाउनलोड गर्नुपर्नेछ।

एप डाउनलोड भएपछि साइन अप गरी आफ्नो नाम, मोबाइल नम्बर, इमेल र ठेगाना भरेर पासवर्ड सेट गर्नुपर्छ । त्यसपछि इमेलमा प्राप्त हुने ओटिपी कोड भेरिफाई गरेपछि एप सञ्चालनमा आउनेछ।

प्रहरी कर्मचारीहरूले भने आफ्नो कम्प्युटर कोडमार्फत सिधै लगइन गर्न सक्नेछन्।

एपमा लगइन गरेपछि ‘उजुरी तथा निवेदन’ खण्डमा गई कस्तो किसिमको घटना भएको हो, त्यसको प्रकार छनोट गर्नुपर्छ। त्यसपछि घटनाको सम्पूर्ण विवरण लेखेर म्यापमा घटना भएको स्थान तोक्नुपर्नेछ।

प्रमाणका लागि उजुरीकर्ताले फोटो, भिडिओ वा अडियोसमेत राखेर उजुरी सबमिट गर्न सक्ने व्यवस्था मिलाइएको छ।

यसरी पठाइएको उजुरी सीधै सम्बन्धित जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमको ड्यासबोर्डमा पुग्नेछ। ड्यासबोर्ड मनिटर गर्ने प्रहरी अधिकारीले घटनाको प्रकृति हेरेर तत्काल आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउनेछन्।

उजुरी दिइसकेपछि आफ्नो उजुरीमाथि के कारबाही भइरहेको छ र त्यसको अवस्था के छ भन्ने जानकारी पनि सेवाग्राहीले एपबाटै हेर्न सक्नेछन्। यसका साथै, थप जानकारी आवश्यक परेमा प्रहरी र उजुरीकर्ताबीच च्याटमार्फत सूचना आदानप्रदान गर्न सकिने सुविधा समेत एपमा समावेश छ।

प्रकाशित: ५ जेष्ठ २०८३ २१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App