अहिले देशको सारथि भिड हो भने पनि हुन्छ । भिडले नै बाटो बनाउँछ, देशलाई भिडले नै गुडाउँछ अनि भिडले नै रोक्छ। सडकमा भिड, सामाजिक सञ्जालमा भिड, आन्दोलनमा भिड अर्थात् राजनीतिको बजारभरि जताततै भिडैभिड। जतिबेला पनि अनि जहाँ पनि भिडको न्याय, भिडको मूल्याङ्कन, भिडको विद्रोह, भिडको सत्ता, भिडको चुनाव, भिडको विकास।
जहाँ गयो, टाउकाहरूको हिसाब चलिरहेको देखिन्छ। महाशिवरात्रीमा पशुपतिमा यति टाउकाले पूजा गरे, रमजानमा यति टाउकाले उपवास बसे, महाधिवेशनमा यति टाउकाको उपस्थिति रह्यो, नेताको सामाजिक पोस्टमा यति हजार लाइक–कमेन्ट आए, आमसभामा यति मान्छेको उपस्थिति रह्यो, उम्मेदवारी दर्ता गर्न जाँदा कसको भिड कति थियो, बहुमत पुर्याएर सत्ता खान कुन कुन दलका कति टाउका जोड्नुपर्ने हो आदि । यतिमै केन्द्रित होइन त आजको समाज र राजनीति?
भिडले सत्य होइन, शक्ति दिन्छ । सत्यले कहिल्यै भिड निम्त्याउँदैन । सत्य एक्लो पनि हुन सक्छ । कार्ल युङले भनेका छन्– ‘भिडमा मानिस बुद्धिमान हुँदैन, ऊ केवल शक्तिशाली महसुस गर्छ।’
भिडको सङ्ख्या नै नैतिकताको मापदण्ड होइन। महात्मा गान्धीले भनेका छन्– ‘बहुसङ्ख्यक पनि गलत हुन सक्छन्।’
सधैं उठ्ने प्रश्न हो– भिड दीर्घकालीन हुन्छ त? यो त केही समयका लागि गरिने शक्ति प्रदर्शन मात्र होइन र? अब्राहम लिंकनको भनाइ यहाँ सान्दर्भिक छ– ‘तपाईं केही समयका लागि सबैलाई मूर्ख बनाउन सक्नुहुन्छ, तर सधैंका लागि होइन।’
जब चुनाव आउँछ, नेपाली राजनीतिक बजारमा भिड लाग्न थाल्छ। नेपालको यो भिडले प्रस्ट देखाउँछ – भिडले नेता होइन, विचार पनि होइन, केवल अनुहार देखिरहेको हुन्छ।
राजनीतिमा सधैं हेरिन्छ मात्र बहुमत अर्थात् मान्छेको भिड। भिडले बोलेको कुरा स्वतः सत्य हुन्छ र? भिडमा सधैं आफ्ना नारा गुन्जिएको मात्र सुनिन्छ । भिडको आवाज कहिल्यै शान्त हुँदैन। भिडमा सधैं आवेग बोलिन्छ । फेरि त्यही भिडको मत नै निर्णायक बन्दा कसरी विचारको जित हुन्छ? भिड त एउटा भ्रष्टाचारमा वर्षौं जेल परेको नेता जेलमुक्त हुँदा पनि देखिएकै हो, सर्वोच्च अदालत जल्दै गर्दा सेल्फी खिच्नेको भिड पनि उत्तिकै थियो। भिडमा विचार मौन हुन्छ, उत्तेजना हाबी हुन्छ । विचारणीय विचार भिडले सुन्दैन, आवेग, उत्तेजना तथा उत्ताउला कुरा मन पराउँछ भिड। वास्वतमा भिडको गन्तव्य पनि हुँदैन, विचार पनि हुँदैन, दर्शन पनि हुँदैन, नेतृत्व पनि हुँदैन। त्यसैले सङ्ख्या शक्ति होइन, शक्तिको भ्रम हो। आज भिडको उत्तेजनामा रमाएको नेतृत्वलाई त्यही उत्तेजक भिडको भ्रमले नै समाप्त पार्ने हो।
भिड सधैं एउटै पक्षको हुन्छ भन्ने हुँदैन। सामाजिक समूहहरूमध्येमा सबैभन्दा अनित्य र अस्थिरमा भिड पर्छ । भिड तत्कालीन परिस्थितिको उपज हुन्छ । त्यो परिस्थिति तथा कारण समाप्त हुनासाथ भिडको अन्त्य हुन्छ । त्यस्तै भिड असंगठित हुन्छ। कसैको काबुमा हुँदैन। नेतृत्वविहीन भएकाले नियन्त्रण बाहिर हुन्छ। संवेग, आवेग, क्रोध, घृणा, उल्लास, उत्साह हुन्छ। आवेगको बाहुल्य हुनाले विवेक, तर्क, प्रश्नको महत्त्व रहँदैन। तत्कालीन परिस्थितिको उपज हुनाले भिड सत्य र सही कुराको खोजमा लाग्दैन। भिड प्रतिक्रियात्मक हुन्छ। यसले विवेक गुमाउन पनि सक्छ।
फेसबुक, टिकटकको भिड हेरौं। ‘आज मेरो फेसबुकमा एक सय फलोअर थपिए, मेरो फेसबुक रिलमा चार हजार भ्युज गयो, चार हजार भ्युज जाँदा पनि टिकटकले बल्ल १० सेन्ट दियो,’ यस्तो बहस सुरु भएको छ आजकल । सामाजिक सञ्जालमा विचार पढिँदैन, ट्रेन्ड पढिन्छ, भिडको बहाव पढिन्छ। पछिल्लो समय डिजिटल भिड निकै अजिबलाग्दो छ । यहाँ प्रधानमन्त्रीको चुनाव भर्चुवल जनमतले गर्न थालेको छ, आन्दोलनको आह्वान इन्टरनेटका पानामार्फत हुन थालेको छ। यस मानेमा हेर्दा त हामीले अमेरिका, भारतजस्ता देशलाई पनि उछिनिसक्यौं कि जस्तो लाग्छ। ती देशमा चुनावले भिड जम्मा गर्दो रहेनछ। चुनावकै दिन पनि अफिस जाँदै गर्दा बाटोमा भोट हाल्यो, अनि आफ्नो कर्ममा लागिहाल्यो । यसो गरे हुँदैन र ? भिड जम्मा गरेर हामी यति फुर्सदिला छौं भन्ने नै देखाउनुपर्छ र?
हाम्रो लोकतन्त्र भने अजिबको छ, हामी मतदातालाई चुनावमा एक हप्ताजति त चियापसलमा बसेर चुनावी झगडा गर्नकै लागि भए पनि सार्वजनिक बिदा चाहिन्छ। राजधानी वा देशको कुनै एक ठाउँबाट धेरै दिन लगाएर अनि हजारौं खर्च गरेर भए पनि आफ्नो चुनावी क्षेत्रमा पुग्नै पर्छ। हामी जुन ठाउँमा बसेका छौं, त्यही ठाउँबाट भोट हाल्ने सुविधा नदिएको कारण पनि त्यही होला – आफ्नै चुनावी क्षेत्रमा भिड बढाउन, आफ्नै क्षेत्रमा टाउकाको गणना गर्न।
मलाई भिड सुकेका पातजस्तै लाग्छ । भिडको कुनै दिशा, गन्तव्य वा दृष्टिकोण हुँदैन । हुरी जता बहन्छ, भिड पनि त्यतै बहने हो। हाहाहुहु गर्दै हुरीका पछि पछि दौडन्छ भिड । आवाज रहेसम्म हाहाहुहु संगीतजस्तो लाग्छ, विप्लवको उद्घोषजस्तो लाग्छ। एकाध महिनामा मौसम परिवर्तन हुन्छ । हुरी पनि बन्द हुन्छ, पातको दौड पनि बन्द हुन्छ, आवाज पनि बन्द हुन्छ।
चुनावी हावा बहने दिशा फरक हुँदो रहेछ क्यारे, यो भिड एउटै दिशामा कहिल्यै बगेन। पोहोरको चुनावमा देब्रेतर्फ हुर्रिएको भिड अहिले घरी उत्तरतिर हुर्रिएको छ, घरी दक्षिणतिर हुर्रिएको छ। हुन त भिडरूपी सुकेका पातको दोष होइन यहाँ। हुरी दक्षिणबाट उत्तरतिर हुर्रिंदा पात पनि उत्तरतिरै बहनै पर्यो, हुरी उत्तरबाट दक्षिणतिर बहँदा पात दक्षिणतिरै लाग्नैपर्यो । आघौं चुनावमा यिनै पात देब्रे, उत्तर, दक्षिण होइन, दाहिनेतिर बहनेछन्। किनभने हुरीले अनिवार्य दिशा बदल्छ । अस्थिर हुरीले नै हो, समाजलाई अस्थिर बनाउने। यही चल्दै छ यहाँ।
बुद्धको जीवनमा घटित घटना कतै पढेको थिएँ । बुद्धका विरोधीहरूले एकजना युवतीलाई प्रभावमा पार्छन्। युवतीलाई बुद्धले आफूलाई गर्भवती बनाएको छ भन्न लगाउँछन्। युवती पनि त्यसै भन्दै हिँड्छिन्। त्यसपछि युवतीसहित सर्वसाधारण बुद्धलाई घेर्न जान्छन्। अपशब्द बोल्न थाल्छन् । ढुंगामुँढा गर्न थाल्छन्। बुद्धत्व प्राप्त गरेका बुद्धलाई त्यसले के फरक पर्थ्याे र ? शान्त स्वरमा युवतीलाई प्रश्न गर्छन्– ‘भन छोरी, तिमीलाई के भयो?’
युवती लज्जित बन्छिन्। युवतीले असत्य बोल्न सक्दिनन् । त्यसपछि युवतीको साथमा गएको भिड बुद्धबाट युवतीतर्फ फर्कन्छ । युवतीलाई ढुंगा हान्न थाल्छ । अन्ततः बुद्धले नै ती युवतीको संरक्षण गर्छन्। बचाउँछन् । यस्तो अस्थिर र उत्तेजक मनोविज्ञान हुन्छ भिडको।
भर्खरै भएको जेनजी विद्रोहमा पनि यही मनोविज्ञान देखिन्छ । भिडसँग विवेक, तर्क, संयम थिएन, आवेग, क्रोध, घृणा, उत्साह थियो । त्यही उत्तेजनाकै भेलमा परेर धेरै युवाले ज्यान गुमाउनुपर्यो भने आवेगको ज्वालामा धेरै निर्दोष सर्वसाधारणसमेत जल्नुपर्यो। नेतृत्वको स्वरूप देखिँदैनथ्यो, अर्थात् नेतृत्व अमूर्त थियो।
अहिले म सम्झन्छु, काठमाडौं ऋतिक रोशन प्रकरणले नराम्रोसँग प्रभावित भयो । भिडको आक्रोशका कारण काठमाडौं क्षतविक्षत बनेको थियो । त्यस्तै भिडको अर्को सन्दर्भ सम्झन्छु। काठमाडौंकै कुरा हो, गणेशले दुध खाएको कुरा आयो । गणेशलाई दुध खुवाउनका लागि ठुलो भिड त्यता आकर्षित भयो। त्यो भिडको प्रकृति छुट्टै र रोचक थियो।
लोकप्रिय बन्नुभन्दा लोकप्रियता टिकाउन गाह्रो हुन्छ। कुनै बेला जनपक्षीय उम्मेदवार पद्यरत्न तुलाधरको जनसभामा काठमाडौं नै उर्लिन्थ्यो । कुनै समय अत्यधिक मतले विजयी भएका तुलाधरको पछिल्ला निर्वाचनमा भने जमानत पनि जोगिएन । त्यस्तै कुनै बेला निर्वाचनकी रानीजस्तै थिइन् नानीमैया दाहाल। घरघरमा उनी र उनको चुनाव चिह्नको चर्चा हुन्थ्यो । बिबिसी, भ्वाइस अफ अमेरिकाजस्ता मिडियाले उनको समाचार प्रसारण गरेका थिए। समय बदलियो। पछिल्लो समय यी नेता चर्चाशून्य भए । बिपी कोइराला सर्वाधिक पढिने, लेखिने र भनिने नेता मानिन्छन्। उनको लोकप्रियता तुलनात्मक रूपमा स्थिर देखिएको पाइयो। त्यसको एउटै कारण थियो– उनी भिडभन्दा आफ्नो दृष्टिकोणमा स्पष्ट थिए । भिडले त महात्मा गान्धीको पनि आलोचना गरिरह्यो।
समयसँगै सुकेका पातझैं बहने हो भिड । भिड जम्मा पार्दाको मजा छुट्टै हुने भएर होला, हामी पनि भिड जम्मा पार्नतिरै केन्द्रित छौं। हामी पनि टाउकाहरूको कारखाना खोल्न चाहन्छौं। प्रशंसा गर्ने टाउकाहरू बनाउन चाहन्छौं।
प्रकाशित: १० माघ २०८२ ०६:४१ शनिबार





