१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

छायाङ्कनको मुखैमा ‘झिँगे दाउ २’ मा दरार: मुकुन्द बाहिरिए, महेश भित्रिए

सफल चलचित्र ‘झिँगे दाउ’ को सिक्वेल ‘झिँगे दाउ २’ को छायाङ्कन सुरु हुनुभन्दा ठीक अगाडि निर्माण टिम र मुख्य अभिनेताबीच गम्भीर मतभेद उत्पन्न भएको छ।

निर्देशक ज्ञानेन्द्र देउजाले चलचित्रका लागि ‘फिक्स’ गरिसकेका अभिनेता मुकुन्द भुसालसँग ‘मनमुटाव’ बढेपछि उनलाई हटाएर उनको ठाउँमा अभिनेता महेश त्रिपाठीलाई अनुबन्धित गरेका छन्।

केही महिनाअघिसम्म सिक्वेलमा पुरानै कलाकारहरू दोहोरिने चर्चा थियो। तर, हाल उनीहरूबीच सहकार्य टुङ्गिएको हो।

नागरिक न्युजसँग कुराकानी गर्दै निर्देशक देउजाले मुकुन्दसँग आफ्नो ‘विचार’ नमिलेको बताए। यही विवादका कारण देउजाले तत्काल मुकुन्दको विकल्प खोजेका हुन्।

यो हेरफेरसँगै अब ‘झिँगे दाउ २’ मा महेश त्रिपाठीले मुख्य भूमिका निर्वाह गर्नेछन्। चलचित्रमा उनीसँगै केकी अधिकारी लगायत ‘झिँगे दाउ’ कै अन्य प्रमुख कलाकारहरू रहने बताइएको छ।

निर्देशक देउजाले करिब ३ करोड ५० लाखको बजेटमा निर्माण हुने चलचित्रको शुभ मुहूर्त मंसिर १५ गते गरी ६० दिनभित्र छायाङ्कन सक्ने योजना रहेको सुनाए।

चलचित्रको छायाङ्कन काठमाडौं, काभ्रे, तनहुँ, पोखरा, र पनौती जस्ता स्थानमा गरिनेछ।

शुलभ प्रतिक देउजा र समीक्षा देउजाको निर्माणमा बन्न लागेको यस चलचित्रको प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।

चलचित्रमा बिष्णु कल्पितको छायाङ्कन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहनेछ।

दर्शकमाझ उच्च अपेक्षा रहेको यो चलचित्रलाई २०८३ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ र यसलाई एप्पल इन्टरटेनमेन्टले देशव्यापी वितरण गर्नेछ।

प्रकाशित: २७ कार्तिक २०८२ १८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App