सागर लम्सालको निर्माण रहेको चलचित्र ‘रमिताको पिरती’ ले पुरुषप्रति घृणा फैलाएको आरोप लागेको छ। चलचित्रको प्रदर्शनमा रोकको माग गर्दै शुक्रबार उच्च अदालत पाटनमा रिट दायर भएको छ।
अदालतका अनुसार अधिवक्ता सृष्टि भट्ट र तारकेश्वर निवासी लक्ष्मी तामाङले निषेधाज्ञासहित अन्तरिम आदेश जारी गरिपाऊँ भन्दै अदालतमा मुद्दा हालेका हुन्।
चलचित्रमा अपमानजनक शब्दहरू पटकपटक प्रयोग गरिएको र पुरुष पात्रहरूलाई केवल नकारात्मक रूपमा चित्रण गरिएको निवेदकको दाबी छ। सामाजिक वितृष्णा फैलाएको भन्दै उनीहरूले चलचित्र रोक्न माग गरेका छन्। चलचित्रको १३ औँ, २२ औँ, ५४ औँ मिनेट लगायत विभिन्न समयमा पुरुषप्रति घृणा फैलाउने संवादहरू रहेको निवेदनमा उल्लेख छ।
चलचित्र विकास बोर्ड, निर्माता कम्पनी शिरो फिल्म्स प्रालि, कार्यकारी निर्मात्री आना शर्मा, लेखक सुदिप्ता अधिकारी र निर्माता सागर लम्साललाई विपक्षी बनाइएको छ।
आना शर्माको मुख्य भूमिका रहेको ‘रमिताको पिरती’ भने हाल सिनेमाघरमा प्रदर्शन भइरहेको छ।
प्रकाशित: ९ फाल्गुन २०८२ ११:५९ शनिबार





