१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

विवादित शो ‘इन्डियाज गट लेटेण्ट’ नेटफ्लिक्समा आउँदै

ओटीटी प्लेटफर्म नेटफ्लिक्सले भारतीय स्ट्यान्ड–अप कमेडियन समय रैनासँग नयाँ सहकार्यको घोषणा गरेको छ। यसअन्तर्गत उनको चर्चित तथा विवादास्पद शो ‘इन्डियाज गट लेटेण्ट’ को दोस्रो सिजन २० जुनदेखि स्ट्रिमिङ हुने भएको छ।

यसअघि शोको पहिलो सिजन विभिन्न विवादका कारण चर्चामा आएको थियो। कार्यक्रममा गरिएका केही टिप्पणीहरूलाई लिएर सामाजिक सञ्जालदेखि विभिन्न समूहसम्म आलोचना भएको थियो। अब नेटफ्लिक्सजस्तो विश्वव्यापी प्लेटफर्ममा शो प्रसारण हुन थालेपछि यसले फेरि बहस र विवाद निम्त्याउन सक्ने अनुमान गरिएको छ।

भारतीय ओटीटी बजारमा  प्रतिस्पर्धा बढेको छ। यसै बीच नेटफ्लिक्सले दर्शक आकर्षित गर्न फरक खालका कथावस्तुमा जोड दिन थालेको विश्लेषण गरिएको छ। अमेजन प्राइम भिडियो र जियोहटस्टारजस्ता प्लेटफर्महरूले स्थानीय कथा र लोकप्रिय फ्रेन्चाइजमार्फत बलियो उपस्थिति बनाइरहेका बेला नेटफ्लिक्सले ‘अनफिल्टर्ड’ तथा चर्चित शोहरूमा लगानी बढाएको देखिन्छ।

पछिल्लो समय नेटफ्लिक्सले सैफ अली खान, माधुरी दीक्षित, करीना कपूर र बबी देओलजस्ता चर्चित कलाकारलाई लिएर विभिन्न परियोजना सार्वजनिक गरेको थियो। तर तीमध्ये धेरैले दर्शकमाझ अपेक्षित प्रभाव छोड्न नसकेको विश्लेषकहरूको भनाइ छ।

ट्रेड विश्लेषकहरूका अनुसार नेटफ्लिक्सले सुरुदेखि आफूलाई प्रिमियम प्लेटफर्मका रूपमा प्रस्तुत गरेको थियो। तर भारतजस्तो मूल्यप्रति संवेदनशील बजारमा सस्तो सदस्यता र स्थानीय कथावस्तु प्रस्तुत गर्ने प्रतिस्पर्धी प्लेटफर्महरूले राम्रो सफलता पाए। यसले नेटफ्लिक्सलाई नयाँ रणनीति अपनाउन बाध्य बनाएको बताइन्छ।

अब ‘इन्डियाज गट लेटेण्ट’ सिजन २ को सफलताले नेटफ्लिक्सको नयाँ रणनीति कति प्रभावकारी छ भन्ने निर्धारण गर्नेछ। शोले ठूलो दर्शक संख्या तान्न सके नेटफ्लिक्सका लागि यो महत्वपूर्ण उपलब्धि हुन सक्छ। तर अपेक्षित प्रतिक्रिया नआएमा भारतीय बजारमा यसको चुनौती अझ बढ्न सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित: ६ असार २०८३ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App