‘मेरो भिजेको मनजस्तै कस्तो एकनासले झमझम पानी परिरहेको रहेछ?’ रुपाले झ्यालबाट चियाउँदै एक्लै वैराग्य स्वरमा गुनगुनाइन्।
साउनको महिना थियो। हरियो वातावरणमा हरियो पहिरनमा महिलाहरू बिहानै मन्दिर जाँदै गरेको दृश्य उनले झ्यालबाटै हेरिरहिन्। उनी एकोहोरो भएर सोच्न थालिन्।
उनका श्रीमानले झक्झकाएका थिए, ‘ए रुपा, ५ बजिसक्यो। मन्दिर जान ढिलो भएन?’
उनी नुहाएर तयार भएकी थिइन्। कार्यालय पुग्न ढिला होला भनेर दुई जोईपोइ हतार गरेर शिवालय पुगेका थिए। मन्दिरमा पूजाआजा सकेर छेउमा लागेको हरियाली बजारमा गए।
‘साउन महिनामा महिलाका लागि हरियो पहिरन सगुन हो नि!’ भन्दै चुरापोते र लुगा उनका श्रीमानले किनिदिएका थिए। अनायास उनका आँखा चिसिन थाले। मुटु भक्कानियो। तीन वर्षपछि आज उनी पूजा कोठामा गइन्।
प्रभुसँग गुनासो गरिन्, ‘आखिर किन मेरो रमणलाई खोस्यौ? म एक्लीलाई मात्र किन बचायौ प्रभु? जब कि बाइक दुर्घटना हुँदा म पनि सँगै थिए।’
शिवको मूर्तिमा उनले रमणको आकृति देखिन्। उनले हाँसेर भने, ‘मृत्यु विधिको विधान हो, प्यारी! एउटा कुरा भन्छु मान ल!’
उनले लाडिएर भनिन्, ‘भन न!’
उनले भने, ‘मैले त्यो दिन किनिदिएको हरियो पहिरनमा मन्दिर जाऊ र मेरो चिरशान्तिको लागि मन्दिर गएर प्रार्थना गर ल!’
उनले प्रतिवाद गरिन्, ‘समाजले मलाई कसरी स्वीकार्छ र?’
उनले भने, ‘धत् लाटी! रातो रङ पो समाजलाई आपत्ति हुन्छ फेरि मेरो लागि समाजको सबै बन्धन तोड्न सक्दिनौ?’
प्रकाशित: ८ श्रावण २०८३ १३:३५ शुक्रबार





