२९ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

आमिरसँग भाइ फैसलले पारिवारिक सम्बन्ध तोडे

बलिउड अभिनेता आमिर खानका भाइ फैसल खानले परिवारसँग सम्बन्ध तोड्दै आफ्नो स्वतन्त्र जीवन सुरु गर्ने घोषणा गरेका छन्। 

उनले इन्स्टाग्राममा लेखेका छन्, ‘भारी मन तर नयाँ साहसका साथ, मैले सबै पारिवारिक सम्बन्ध तोडेको छु। यो कदम मेरो उपचार र विकासका लागि आवश्यक छ। जीवन अब स्वतन्त्रता, मर्यादा र आत्म-खोजको नयाँ अध्यायमा प्रवेश गर्नेछ।’

परिवारले आफूलाई मुम्बईको घरमा नजरबन्द राखेको, अनावश्यक औषधि खुवाएको आरोप फैसलले लगाएका छन्। उनले परिवारमाथि आफ्नो बदनाम गरेको आरोप पनि लगाए। 

बलिउड बबलका अनुसार फैसलले भनेका छन्, ‘मैले परिवारसँग पारिवारिक र सम्पत्ति दुवै सम्बन्ध तोडेको छु। म अब मेरो बुबा ताहिर हुसेन, आमा जीनत ताहिर हुसेन वा अन्य परिवारका सदस्यको रूपमा चिनिने छैन, न त उनीहरूको सम्पत्तिमा मेरो कुनै अधिकार रहनेछ।’

आमिरसँगै परिवारले फैसलको दाबीलाई ‘भ्रामक’ र ‘दुखद’ भन्दै जवाफ दिएका छन्। उनीहरूले भनेका छन्, ‘फैसलले हाम्रो गलत चित्रण गरेको यो पहिलो पटक होइन। हामीले उनको स्वास्थ्यलाई ध्यानमा राखेर चिकित्सा सल्लाहमा आधारित निर्णय गरेका छौँ।’ परिवारले गोपनीयता कायम राख्न र मिडियालाई संवेदनशील हुन अनुरोध गरेको छ।

फैसल र आमिरबिचको तनाव नयाँ होइन। यसअघि फैसलले परिवारविरुद्ध अदालतमा मुद्दा समेत हालेका थिए। उनले जेजे अस्पतालमा २० दिनको मानसिक स्वास्थ्य मूल्याङ्कन समेत गराएका थिए, जहाँ उनलाई फिट घोषित गरिएको थियो। रोचक कुरा के भने सन् २००० मा यी दाजुभाइले फिल्म ‘मेला’ मा सँगै काम गरेका थिए। एजेन्सी

प्रकाशित: ३ भाद्र २०८२ १७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App