२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘सुखदुःख’मा बलिउडका दिपराज पनि खेल्ने

सन् २००२ मा भारतीय चलचित्र साथियामा सहायक अभिनेताका रूपमा आफूलाई स्थापित गरेका बलिउड अभिनेता दिपराज राणाले नेपाली चलचित्र सुखदुःखमा अभिनय गर्ने भएका छन्। उनलाई चलचित्रका लागि यस चलचित्रकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेकी हुन्।

सिंघम रिटर्न्स, प्रेम रतन धन पायो, दबंङ ३ लगायत पछिल्लो समय मेट्रो इन डिनो, बिल्ली उस्ताद, सितारे जमीं पर जस्ता चलचित्रमा अभिनय गरेका दिपराजले नेपाली चलचित्र कोहिनूरमा पनि अभिनय गरेका थिए। श्रीकृष्ण श्रेष्ठको उक्त चलचित्रमा अभिनय गरेको लामो समयपछि उनी पुनः नेपाली चलचित्रमा देखिन लागेका हुन्।

नीताको निर्देशनमा बन्ने चलचित्र सुखदुःखको कथा मन परेको कारण आफू यस चलचित्रमा काम गर्न इच्छुक भएको उनको भनाइ छ। निर्माण पक्षकाे अनुसार चलचित्रको कथा सुनेपछि दिपराज भावुक बनेका थिए तर उनको भूमिकाबारे निर्माण पक्षले खुलासा गरिसकेको छैन।

आउँदाे फागुनदेखि छायांकन सुरु गर्ने तयारीमा रहेको यस चलचित्रका लागि निर्माण टिमले हालै विपना थापालाई पनि अनुबन्ध गरेको छ। यसअघि नीता र विपनाले चलचित्र ह्रस्वदीर्घमा सहकार्य गरेका थिए। यो उनीहरूको दोस्रो सहकार्य हो।

चलचित्रमा दिपराज, विपनाबाहेक मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ अनुबन्ध भइसकेका छन्। अन्य कलाकारबारे भने निर्माण टिमले खुलासा गरेको छैन।

चलचित्रको छायांकनका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाललाई अनुबन्ध गरिएको छ। नीता फिल्म्सको ब्यानरमा बन्ने यो चलचित्र आउँदाे वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा छ।

चलचित्रकाे वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ।

प्रकाशित: २३ श्रावण २०८२ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App