उड्दै गरेको बेलुनको
हावा खुस्केझैं
बुन्दै गरेको सुइटरक
घर खुस्केझैं
सिलाएको लुगाको
सिउनी खुस्केझैं
धेरै बोलिरहने मान्छेको
कति बेला खुस्किन्छ,
खुस्किन्छ
बोलीको परामिटर
बोल्नेलाई राम्रै बोलेझैं लाग्छ
सोह्रै आना
सुन्नेलाई भने
कहाँ घोच्छ
च्वास निलकाँडा
तिलभन्दा सानो
नौनीभन्दा सुकोमल मनले
कामना गर्छ
समय सधैं आफ्नो
प्रतिकूल भैदियोस्
जहिले छाइदियोस्
वसन्ती याम
अचेल गर्छु
भनेको कुरै सकिन्छ
कुरा नगरी सकिएको राम्रो
जति गर्यो त्यति
बोटबिरूवाझैं बढ्ने
दुबोझैं फैलने
कुरा
नगरी सकिएको अति राम्रो,
अति उतम!
प्रकाशित: २३ चैत्र २०८२ ११:३९ सोमबार





