२१ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

जन्म-मृत्यु नाङ्गै हुन्छ व्यर्थै लोभी बन्छौ किन?

मुक्तक

१) मुक्तक

आफ्नो भलो गर्नेलाई नपुजेर कसलाई पुज्ने

साखै नाता पर्नेलाई नबुझेर कसलाई बुझ्ने

बिनात्याग र सङ्घर्षले मानिस कहाँ पुजित हुन्छ

देशका निम्ति मर्नेलाई नपुजेर कसलाई पुज्ने?

२) मुक्तक

दर्शन विचार एकातिर गर्ने कुरा अर्को हुन्छ

बोल्न जति सजिलो छ गर्न त्यति झर्को हुन्छ

जन्म मृत्यु नाङ्गै हुन्छ व्यर्थै लोभी बन्छौ किन

भन्ने ठूला दार्शनिक नि नाङ्गै हिंड्न चर्को हुन्छ।

३) मुक्तक

प्रकृतिको नियम सबै किसानले बुझ्नुपर्छ

न्यासध्यान मूर्ति पूजा छोडी माटो बाली पुज्नुपर्छ

आफू बाँची सारा प्राणी बचाउने किसानले

सुन्दर मङ्सिर देख्नलाई असारमा त रुझ्नुपर्छ।

४) मुक्तक

कहिले लाग्छ जिन्दगी यो मक्किएको चोया जस्तो

मकै सबै छोडाएको रित्तिएको खोया जस्तो

ऊर्जा न त उपलब्धि उत्तरार्द्ध जीवन घाँडो

गुदी सबै सिध्याएको फलको बोक्रा कोया जस्तो।

५) मुक्तक

सुनको शक्ति सामान्य यौटा अँगारले गाल्दछ

हातमुख मिली थन्क्याउँछन् भोजन आन्द्राले फाल्दछ

व्यवहारमा त सानैको जित ठूलाको धाक मात्रै

महलका मालिक झुपडीभित्र बस्नेले पाल्दछ।

प्रकाशित: २१ चैत्र २०८२ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App