१) मुक्तक
केही छैन है भन्दा पनि धेरै थोक भइदिने।
स्वतन्त्र भन्ने मान्छेको नि सयौ रोक भइदिने।
आँसु झार्छ र पुछेर मुस्कुराउँछ यो मन पनि,
अपत्यारिलो यो मनको आफ्नै शोक भइदिने।
२) मुक्तक
जहाँ मन रमाएर हाँस्छ त्यहाँ जिन्दगी बाँच्छ।
हृदयको तालमा मग्न भई झुम्छ जिन्दगी नाच्छ।
केही चाहिँदैन मान्छेलाई सन्तुष्टिसिवाय यहाँ,
त्यसकाे खातिर हजारौं नियम पनि जिन्दगी भाँच्छ।
३) मुक्तक
एक समान माया नौ मुरी होस् चैतको हावाहुरी नहोस्।
बाध्यताले तन टाढा भए पनि मनको त्यो दुरी नहोस्।
आत्माको चहकिलो दियो बलोस् निरन्तर जीवनमा,
समर्पण होस,सन्तुष्टि होस् तर कतै चुरीफुरी नहोस्।
४) मुक्तक
आउँदैनन् कोही साथ दिन मुश्किल परेको बेला।
हुँदैनन् साँच्चै मलहम कोही पीडा झरेको बेला।
आफ्नै शक्तिले नै आफूलाई सिक्नुपर्छ उठाउन नत्र ,
बिउँझिंदैन कहिल्यै यो मन फेरि एक्कासि मरेको बेला।
५) मुक्तक
गर्न सक्ने गर ए! नियति अब कुनै परवाह छैन।
जतिसुकै दुखोस् यो जिन्दगी थोरै नि आह छैन।
पछारेको, लछारेको, घिसारेर टाढा पुर्याएको छस्,
मेरो आत्मबलले उभिएको छु अरू केही चाह छैन।
प्रकाशित: १३ फाल्गुन २०८२ ०८:५१ बुधबार





