कोहलपुर चौराहा। चौराहाको उत्तर पूर्वमा अलिकति वन छ। उत्तर पश्चिम र पूर्वदणिक्ष बस्ती छ। बस्ती अर्थात् सुकुम्बासी बस्ती। म दक्षिणतिरकै बस्तीको कुरा गर्छु आज। किनकि यसैको तलतिर छ मैले पढाउने क्याम्पस। क्याम्पसको उत्तर र पूर्व छ बस्ती र अलि पूर्व क्रिकेट मैदान। बजारको अलिपर लमतन्न सुतेको छ क्रिकेट खेल्ने चौर। चौरलाई पहरा दिएझैँ लस्करै उभिएका छन् बुढा सिमलका रुख। हिउँदमा रातै फुलेर यिनले बैँसको सम्झना गराउँछन्।
सिमलका अजङ्गका रूखको छेवैबाट बग्छ डुडुवा खोलो। डुडुवाले ठसठसी कन्दै सकेसम्म बोकेर लैजान्छ बजारको फोहर। मानौँ यसको जागिर हो सफाइको। सहरियाहरूको सुकिलो सौचालयको मलदेखि ठाउँठाउँबाट जोडिएका ढलसम्म यसैमा मिसिन्छन्। यी सबैले यसको आकार बढाएका हुन् कि घटाएका, म सधैँ अलमल पर्छु। कहिले त अस्पतालबाट निस्कने रसायन, रगत र औषधिका अनेक रङले रङ्गिन्छ यो। डुडुवाको रङ कालो, रातो र पहेलो मात्र देखिन्छ। यो गहिराइमा पनि निलो कहिल्यै हुन सकेन। बर्खामा पहेँलो हिले बन्ने यो खोला गर्जिन्छ ढिकढाक खसाल्दै। चौरको। अलि तल गएर यसैमा मिसिन्छ रोहिणी खोलो। अनि त छेउछाउको चटार र सिमरी बस्ती डुबाउँदै कुर्लन्छ यो। यसका सबै हर्कत बस्ती र यी रुखले वर्षौंदेखि हेर्दै र भोग्दै आएका छन्।
अब बस्तीकै कुरा गरौँ। बस्तीको पश्चिमतिर केही ठुला घर छन्। त्यसपछि ठुलो र चाक्लो सडक आउँछ, रत्न राजमार्ग। रत्न राजमार्गको कोहलपुरतिरको चौडाइ पनि कहिले एक्काइस मिटर त कहिले एकतीस मिटर भनेर भाका सारिरहन्छ। बजारका साना घर सडकको चक्लाइ हेर्दै अग्लिइरहन्छन्। हुन त ठुला घर पनि बस्ती नै हुन् तर तिनलाई बस्ती भनिँदैन। बजार भनिन्छ। सहर भनिन्छ। कोहलपुर व्यवस्थित सहरीकरणको नक्सा बनाएर उठ्दै छ। पूर्वपश्चिम राजमार्गको दक्षिण पश्चिम दश बिघासम्म एनटिभी सडकको उत्तरतिर नगरविकासको मापदण्ड र नक्सा अनुसारको बसाइ छ।
रत्न राजमार्गको पूर्वतिर पनि उत्तर दक्षिण दगुरेका एक दुई चाक्ला पक्की बाटा छन्। त्यसपछि यिनै बाटा कच्ची बाटामा बाँडिएर बस्तीतिर छिर्छन्। बस्तीको दक्षिण मुखैमा छ एउटा बुढो मर्नु न बाँच्नु अवस्थाको अजङ्गको करमको रुख। धेरै हाँगा सुकेर कङ्कालको करङझैँ देखिन्छन्। यो रुखका केही हाँगामा टाँसिएर हल्लिने पातले जीवनको सङ्केत दिन्छन्। यसको मेरुदण्ड बनेको काण्ड चरा र कालीभमराले खोलेर टोड्कै टोड्कामा परिणत भएको छ। सयौँ काले भमराले बिहानैदेखि नृत्य र सङ्गीत गर्छन्।
यसको गहिराइमा डुब्दै जाँदा रुखको मृत्युगीत गाइरहेझैँ लाग्छ। अथवा भनौँ यिनै भमराले करमको हत्याको उद्योग गरिरहेका छन् जस्तो। करमको यो रुख झट्ट हेर्दा बाँचेको भन्दा मरेकै बढी देखिन्छ। यो रुख बस्तीका लागि पनि हई बनेको छ। कति बेला हाँगा भाँचिएर वा रुखै ढलेर वित्यास पार्ने हो भन्ने चिन्ताले यसको छेउछाउका पाँचछ घर राम्ररी ननिदाएको धेरै भयो।
बस्तीको निद हराइदिने यो रुख मात्रै छैन। बर्खाको डुडुवाले पनि यसलाई झाँगलझुँगल पारिहाल्छ। चैतको हुरीले पनि यसको इज्जत हुर्मत लिइहाल्छ।चोकमा कुर्लने नेताका भाषणले पनि यो बस्तीलाई बेलाबखत झस्काउँछ। भुक्ने कुकुरले होस् वा रुक्ने मोटरले यसलाई सताइरहन्छन्। कतै चोरी भयो, बजारले चोरीऔँला बस्तीतिरै तेर्साउँछ। अनि कसरी चयनको निद सुतोस् त यो बस्ती। बस्तीलाई सबैभन्दा डर निर्दयी डोजरको लाग्छ। किनभने यसले आफूजस्तै देशका ठाउँ ठाउँका बस्तीमा ताण्डव / भैरवी नाच चलेको समाचार सुनेको छ। टिभीमा हेरेको छ। त्यस्तो नहोस् भनेर दिनरात कुलदेउता अनि नाम सुनेका सबै भगुमानको पुकारा गरेको छ।
बस्तीतिर सात सय बढी घर होलान्। यी घर ककसका हुन् धेरैलाई थाहा छैन। यी मान्छे देशका फरकफरक ठाउँबाट आएका हुन् भन्नेसम्म सबैलाई थाहा छ। बस्तीका घर, भन्नु मात्रका घर छन्। धेरै संरचना कच्ची इँट वा गिल्लाको गाह्रोले बनेका छन्। केहीमा ब्लक वा पक्की इटाका टुक्रा प्रयोग गरिएको छ। दुईतीन कोठे यी घरले केही पहिले खर वा गहुँका नलगाई छाना बनाएका थिए। पछिपछि जस्ताका छाना टल्काएर खुसी भए। जस्ता हालेपछि यी घरले अलि सुविस्ता पाएजस्तो भो। अलिक हैसियत बढेजस्तो नि भयो। घरसँगै बस्तीका मानिस पनि ढुक्क भए हिउँद र बर्खाको चिन्ता अब घट्यो भनेर।
थरीथरीका सरकारले बस्तीलाई दिने आश्वासन र आदेश पनि फरकफरक छन्। दलपिच्छे कुरा फरक, नेतापिच्छे कुरा फरक, चुनाव पहिलेको र चुनावपछि हुने कुरा पनि फरक हुन्छन्। सरकारमा जानुभन्दा पहिले लालपुर्जाको कुरा गर्नेहरूले नै सरकारमा पुगेपछि बस्ती उठाउने सूचना निकाल्छन्। यसलाई भजाएर धेरै मान्छे नेता बने। भूमि व्यवस्थामा धेरैले जागिर खाए। यही बस्तीको नाममा कतिले कति कमाए, कति रमाए तर यो बस्ती बस्ती जस्तो कहिल्यै बनेन। यो बस्ती कहिल्यै रमाएको देखिएन। ‘बस्तीमा सबै सुकुमबासी छैनन्। धेरै त हुकुमबासी छन्।’
नेताहरूले कहिलेकाँही भाषणमा भनेको सुनिन्छ। नगर विकासले बेचेका घडेरी किनेका धेरै मान्छे पहिल्यै बसेको बस्तीभित्र आफ्नो घडेरी नभेटेरै निराश भई फर्केका छन्।
पहिले केही घरमा सीमित यो बस्तीको बिस्तारले ठुलो चहुर साँघुरिदै गएको छ। बस्तीबासीलाई यही माटो प्यारो भइसक्यो। अब यो ठाउँ छाडेर हिँड्न मन छैन। ठाउँठाउँमा बस्ती उठाएका समाचार बस्तीभित्र पनि पसेको छ। सरकारले यसलाई उठाएर कहाँ लैजाने हो खै!
आजभोलि बस्तीको आङमा घाम लागेको छैन तर पनि राजनीतिको उखर्माउलो गर्मीले तातेको छ यो। करमको रुखजस्तै कमजोर बनेको छ अचेल। आफ्नो भाग्य र कर्मको निधो नगरी कति रात अनिदो हुने होला यो बस्ती! बस्तीबासीको कामना छ आफूहरूलाई यहाँबाट हटाएर कहाँ राख्ने हो भनिदेऊ है सरकार!
प्रकाशित: १८ वैशाख २०८३ १०:१५ शुक्रबार





