२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

‘चिरञ्जीवी भवः’ चलचित्रमा आशीर्वाद क्षेत्री

हास्य विधामा स्थापित जोडी कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन्।

निर्माण पक्षले बुधबार आशीर्वादलाई चलचित्रको मुख्य भूमिकाका लागि भित्र्याएको जानकारी दिएको छ।

यसअघि नै मोडल तथा चर्चित इन्फ्लुएन्सर प्रशंसा रायमाझी यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्ने घोषणा भइसकेको छ। गत आइतबार निर्माण टिमले एक पोस्टरमार्फत प्रशंसालाई फिल्ममा स्वागत गरेको जानकारी  दिएको थियो।

आशीर्वाद यस चलचित्रमा प्रशंसाको जोडीका रुपमा देखिने हुन् या हैनन् टिमले कुनै जानकारी खुलाएको छैन।

चलचित्रको औपचारिक घोषणा गत मंगलबार नयाँ वर्ष २०८३ को अवसर पारेर गरिएको थियो। दीपकप्रसाद आचार्यको निर्देशन रहने यस चलचित्रको कथा कुमार कट्टेलले तयार पारेका हुन्। चलचित्रको लेखनमा सविन अधिकारी र बसन्त न्यौपाने रहेका छन्।

सामाजिक ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भवः’ ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ।

लेखक कुमार कट्टेलका अनुसार फिल्मको कथा अहिलेकै समयको परिवेशमा आधारित छ।

उमेशकुमार बराल निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताका रूपमा कुमार कट्टेल र शैलेश खत्री छन्।

‘चिरञ्जीवी भवः’ दीपकप्रसाद आचार्यको दोस्रो निर्देशकीय सिनेमा हुनेछ। यसअघि उनले निर्देशन गरेको चलचित्र ‘परान’ वि.सं. २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो। कुमार कट्टेलको निर्देशन र अभिनय रहेको ‘लाज शरणम्’ ले पनि व्यावसायिक रूपमा राम्रो सफलता हासिल गरेको थियो।

आशीर्वाद क्षेत्रीको प्रवेशसँगै चलचित्रको कास्टिङ बलियो बनेको छ। चलचित्रको छायांकनका लागि बाँकी कलाकार र प्राविधिक टोलीको छनोट कार्य भइरहेको निर्माण पक्षले जनाएको छ।

प्रकाशित: १० वैशाख २०८३ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App