चलचित्र उद्योगमा एउटा गम्भीर बहस सुरु भएको छ। निर्देशक दीपक आचार्य (काकु) माथि चलचित्र 'चिरञ्जीवी भव:' को छायाङ्कन सेटमा निर्देशक तथा चलचित्र टिममाथि अभिनेत्री काजल कर्णले जातीय तथा क्षेत्रीय विभेद र दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।
गत शुक्रबार काजलले 'चिरञ्जीवी भव:' को छायाङ्कन सेटमा आफूमाथि क्षेत्रीय वा जातीय विभेद भएको र रङका आधारमा उपहास गरिएको आरोप लगाएकी थिइन्। त्यसको दोस्रो दिन निर्देशक आचार्यले ६ बुँदामा सामाजिक सञ्जालमार्फत सबै आरोपको खण्डन गरेका थिए। काजलमाथि कुनै क्षेत्रीय वा जातीय विभेद आफू र अन्य चलचित्र टिमले नगरेको उनले उल्लेख गरेका थिए।
यी सबै घटना नसेलाउँदै अर्का कलाकार उत्तमराज पाण्डे, जसले चलचित्रमा समेत काम गरेका छन्। उनले एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफूमाथि पनि उक्त व्यवहार भएको बताएका छन्।
उनले भिडियोमा भनेका छन्, ‘म विगत १४ वर्षदेखि कलाकारिता क्षेत्रमा आबद्ध छु। नाटक गर्दै जाँदा मैले पनि चलचित्रतिर पाइला टेकेँ। चलचित्रतिर पाइला टेकिसकेपछि काजलजीसँग भएको घटना मसँग पनि भएको छ।’
उनले काजलसँग भएको घटना आफूमाथि पनि भएको खुलाउँदै थप लेखे, ‘तर म त्यो सबसँग लड्दै अगाडि बढेँ। यो अब आगामी दिनमा यस्ता घटना नहोस्। हाम्रो फिल्म उद्योगमा धेरै निर्माताहरू, प्रोडक्सन म्यानेजरहरू, निर्देशकहरूले पनि मधेसी समुदायको कलाकारहरूलाई यस्तो व्यवहार गर्नु हुन्छ, जस्तै पहिलाको जमानामा जसरी सानो जात भनेर व्यवहार गर्नुहुन्छ।’
उनले काजल तथा आफू जस्ता कलाकारलाई जातीय तथा भौगोलिक विभेद आगामी दिनमा नहोस् भनेर भिडियोमा आग्रह गरेका छन्। साथै उनले काजलका लागि न्यायको माग पनि गरेका छन्।
प्रकाशित: २९ असार २०८३ १३:३५ सोमबार



-600x400.jpg)

