१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

सर्वोच्चको हस्तक्षेपपछि पछि हटे एआर रहमान, ‘क्रेडिट’ दिन तयार

प्रसिद्ध भारतीय संगीतकार ए आर रहमानले चलचित्र ‘पोन्नियिन सेलवन २’ को गीत ‘वीरा राजा वीरा’ मा डागर परम्पराका प्रतिष्ठित जुनियर डागर ब्रदर्सको नाम आधिकारिक क्रेडिटमा समावेश गरिने बताएका छन्। अब उक्त गीतको आधिकारिक श्रेय सूचीमा उनीहरूको नाम र योगदान उल्लेख गरिनेछ।

रहमानले शुक्रबार सर्वोच्च अदालतको महत्वपूर्ण निर्णयपछि सहमति जनाएका हुन्।

हिन्दुस्तान टाइम्सका अनुसार इजलासको नेतृत्व मुख्य न्यायाधीश सुर्यकांतले गरेका थिए। अदालतले रहमान र चलचित्र निर्माताहरूलाई पाँच हप्ताभित्र सबै सामाजिक सञ्जाल तथा ओटीटी प्लेटफर्महरूमा नयाँ क्रेडिट अद्यावधिक गर्न निर्देशन दिएको छ। साथै, यो सहमतिले मुख्य प्रतिलिपि अधिकार मुद्दाका अन्य पक्षहरूमा कुनै असर नपार्ने स्पष्ट गरिएको छ। मुद्दा आफ्नो कानुनी प्रक्रियाअनुसार अगाडि बढिरहनेछ।

रहमानका वरिष्ठ अधिवक्ताले यो सहमति पूर्वाग्रहविहीन रूपमा गरिएको र यसले मूल मुद्दामा रहमानको पक्षलाई असर नगर्ने बताएका छन्। अदालतले भारतीय शास्त्रीय संगीतको धरोहरलाई सम्मान र मान्यता दिनु आवश्यक रहेको उल्लेख गरेको छ।

अदालतले डागर परम्परा (डागरवाणी ध्रुपद) भारतीय शास्त्रीय संगीतको अमूल्य र अद्वितीय धारा भएको पनि जनाएको छ।

यो विवाद सन् २०२३ देखि सुरु भएको हो, जब उस्ताद फैयाज वसीफुद्दीन डागरले ‘वीरा राजा वीरा’ गीतमा आफ्नो परिवारको पुरानो ध्रुपद रचना ‘शिव स्तुति’ अनुमति बिना प्रयोग गरिएको दाबी गरेका थिए। उनका अनुसार गीतको ताल, लय र भाव मूल धुनसँग मिल्दोजुल्दो छ, जुन उनका पिता र काकाले पहिले रेकर्ड गरेका थिए।

यद्यपि रहमान र चलचित्र निर्माताहरूले आफ्नो रचना मौलिक र स्वतन्त्र रहेको दाबी गरेका छन्। सर्वोच्च अदालतको यो निर्णय पारम्परिक संगीतलाई उचित सम्मान दिनतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यो फैसला संगीत क्षेत्रमा प्रतिलिपि अधिकार र सांस्कृतिक परम्पराको पहिचानसम्बन्धी एक महत्वपूर्ण उदाहरण मानिएको छ।

प्रकाशित: ९ फाल्गुन २०८२ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App