गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘जारी २ सङ अफ च्याब्रुङ’ले प्रचारलाई तीव्र पारेको छ । बक्स अफिसमा पनि राम्रो व्यापार गरिरहेको यो फिल्म देशभरका हलमा राम्रो चलिरहेको छ।
लिम्बू समुदायको कथामा आधारित सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गरिहँदा यो सिनेमा निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरुना मगर दर्शक साक्षात्कार गर्न पूर्वी नेपाल पुगेका छन् । हिजो सोमबार झापाको दमक र विर्तामोडमा दर्शक साक्षात्कार गरेको टिमले आज मंगलबार सुनसरीको धरान र इटहरीका विभिन्न हलमा पुगेर दर्शक साक्षात्कार गर्नेछन् ।
सिनेमाको आज मंगलबारदेखि १४ मिनेट लामो दृश्य थपेर ‘डिरेक्टर्स कट’ भर्सन प्रदर्शनमा ल्याइएको छ । पूर्वी नेपालका दर्शकको न्यानो स्वागत र मायाले आगामी दिनमा अझै राम्रो सिनेमा पस्किनु पर्ने चुनौती महसुस भएको निर्देशक सुब्बाले बताए ।

अभिनेत्री मिरुना मगरले पनि दर्शकमा आजदेखि प्रदर्शमा आएको नयाँ भर्सनले दर्शकमा थप उत्साह पैदा गरेको बताइन् । ‘हिजो हामीले दमक र विर्तामोडमा दर्शकसँग साक्षात्कार गर्यौं । आज सुनसरीको धरान र इटहरीमा दर्शक भेट्दै छौं । धरान मेरो होम टाउन भएकाले पनि दर्शकसँग साक्षात्कार गर्न अझै उत्साहित छु’, उनले भनिन् ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।
प्रकाशित: २५ कार्तिक २०८२ १७:१४ मंगलबार





